हुम्लामा स्याउ बिक्रीबाट ८ करोड २६ लाख भित्रियो

२०८३ मंसिर १२ गते, शनिबार


काठमाडौँ । कृषि विकास कार्यालय हुम्लाका अनुसार हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले आठ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन्। यो वर्ष हुम्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए।
गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ। त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ बिक्री गर्न जिल्ला बाहिर पठाइएको छ।
काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो। तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझै बढी हुन सक्ने प्रमुख पन्तको भनाइ छ। व्यक्तिगत रूपमा खरिद गरी पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने यसमा समावेश नगरिएको उनले बताए।
सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो। गत वर्ष करिब रु चार करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ। स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको स्याउ खरिद बिक्री कारोबार गरिरहेका अदानचुली–३ का अर्जुन फडेराले बताए।
यो वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकिलो ६०, बी ग्रेडको ५० र सी ग्रेडको ४० मा बिक्री भएको थियो। हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ।
हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको र अबको पाँच वर्षमा कम्तीमा वार्षिक ५५ ट्रक स्याउ निकासी गर्ने गरी स्याउ जोन कार्यक्रम बनाइएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु