७८८ जनालाई हिमाल आरोहण अनुमति

२०८३ आश्विन २२ गते, बिहीबार


काठमाडौँ । पर्यटन विभागले यस बर्षको शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएको जनाएको छ । विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका हुन् ।
विभागका सूचना अधिकारी सुरज घिमिरेले ३१ हिमाल आरोहणका लागि ५८२ पुरुष र २०६ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २४ करोड ७२ लाख सात हजार ६०१ रोयल्टी सङ्कलन गरेको छ ।
आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।
विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले ८२ लाख ४२ हजार ५० रोयल्टी सङ्कलन गरेको छ । यस्तै, हिम्लुङ हिमालका लागि तीन टोलीका ३४ आरोहीले अनुमति लिएका छन् । उनीहरुबाट विभागले २० लाख ८७ हजार ८०० रोयल्टी सङ्कलन गरेको हो । यस्तै, आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले २९ लाख १२ हजार राजश्व सङ्कलन गरेको छ ।
यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
उक्त हिमाल आरोहण गर्नका लागि ७० देशका ७८८ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना रहेका छन् । यसबाहेक रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, स्वीजरल्याण्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३, जापानका २५ जनाले आरोहण अनुमति लिएका छन् ।
विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ नेपाली रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कैलाश मानसरोवर यात्रा प्रभावित

२०८३ आश्विन १६ गते, शुक्रबार

पर्यटक आगमन १२.१ प्रतिशतले वृद्धि

२०८३ आश्विन १५ गते, बिहीबार