ट्रम्पले धोका दिए – जेलेन्स्की

२०८३ आश्विन २९ गते, बिहीबार


काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोका दिएको बताएका छन्। उनले ट्रम्पले रुससँग इन्धन खरिदसम्बन्धी सम्झौता गरेपछि आफूले धोका पाएको महसुस गरेको बताएका हुन् । बुधबार बेलायती सञ्चार व्यक्तित्व पियर्स मोर्गनको युट्युब कार्यक्रम ‘पियर्स मोर्गन अनसेन्सर्ड’मा बोल्दै जेलेन्स्कीले ट्रम्प प्रशासनबाट आफूले धोका पाएको हो भन्ने प्रश्नमा ‘हो’ भने । उनले रुससँगको इन्धन सम्झौतालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनको ‘सहज विजय’को संज्ञा दिए । उनले भने -‘हामीले एउटा बलियो साझेदार गुमाउँदै गएकोमा दुःख लागेको छ। ’
गत साता ट्रम्पले रुसले आफ्नो डिजेल इन्धन विश्व बजारमा आपूर्ति गर्न सहमति जनाएको बताएका थिए । अमेरिकामा ऊर्जा लागत घटाउने र मध्यावधि निर्वाचनअघि मतदाताको असन्तुष्टि कम गर्ने प्रयासस्वरूप यस्तो निर्णय गरिएको हो । तर, यसले अमेरिकी राजनीतिमा आलोचना र युरोपेली सहयोगीहरूमा असन्तुष्टि बढाएको छ । जेलेन्स्कीले भने – ‘यो हाम्रो देश हो, हाम्रो घर हो, हाम्रा छोराछोरी हुन् । त्यसैले ट्रम्पले एउटा पक्ष रोज्दा पीडा हुन्छ ।’
जेलेन्स्कीले मध्यस्थकर्ताले दुवै पक्षप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख गर्दै ट्रम्प गलत पक्षमा उभिएको आरोप लगाए ।

प्रतिक्रियाहरु

[anycomment]