चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत प्रस्थान
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’का अनुसार राष्ट्रपति सीको टोलीमा चिनियाँ विदेशमन्त्री वाङ यि तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन्।
यसैबीच भारतका लागि चिनियाँ राजदूत शु फेहोङले शुक्रबार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने द्विपक्षीय भेटवार्ताको अन्तिम तयारी भइरहेको पुष्टि गरेका छन्।
राजदूत फेहोङले चीनले भारतसँग संवाद प्रवर्द्धन गर्ने, सहकार्यलाई थप सुदृढ बनाउने र दुई देशबीचका मतभेदलाई उचित ढङ्गले समाधान गर्ने रणनीति लिएको बताएका छन्। उनले चीन र भारत एक-अर्काको सफलतामा हातेमालो गर्ने असल छिमेकी र भरपर्दो साझेदारका रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। यसअघि चिनियाँ राष्ट्रपति सी सन् २०१९ मा भारत भ्रमणमा आएका थिए। त्यसबेला चेन्नईनजिकै रहेको मामल्लापुरममा दुई देशका शीर्ष नेताहरूबीच अनौपचारिक शिखर वार्ता भएको थियो।
