रुसद्वारा युक्रेनको पूर्वी सहरमा आक्रमण : ३० जनाको मृत्यु,१८ जना घाइते
काठमाडौँ । रुसले युक्रेनको पूर्वी सहरमा आक्रमण गर्दा ३० जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। रुसले युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा ग्लाइड बम आक्रमण गर्दा ३० जनाको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार क्रामतोस्र्क समुदायकै बिलेन्के गाउँमा थप तीनजनाको मृत्यु भएको छ।
आक्रमणमा १८ जना घाइते भएको डोनेट्स्क क्षेत्रीय प्रमुख वादिम फिलास्किनले बताए। उनले रुसी सेनाले धेरैभन्दा धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसलाई निशाना बनाएको आरोप लगाएका छन्। क्रामतोस्र्क र छिमेकी स्लोभ्यान्स्क युक्रेनको ‘किल्ला क्षेत्र’का हिस्सा हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको सम्पूर्ण औद्योगिक क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको आरोप छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको कडा जवाफ दिनुपर्ने बताएका छन्। उनले रुसले डोनबासमा जनजीवन नष्ट गर्न खोजेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई प्रतिक्रिया जनाउन आग्रह गरेका छन्। स्थानीय अभियोजकहरूले सार्वजनिक गरेका तस्बिरमा जलेका बसका अवशेष, भग्नावशेष र सडकमा शवहरू देखिएका छन्। आक्रमणबारे मस्कोले हालसम्म टिप्पणी गरेको छैन।
युक्रेनमा रुसी आक्रमण तीव्र बन्दै जाँदा सर्वसाधारणको मृत्यु पनि बढिरहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ भरि मारिएका नागरिकको संख्याभन्दा यस वर्ष अगस्टसम्ममा बढी सर्वसाधारण मारिइसकेका छन्। यसअघि, बुधबार बिहान राजधानी किभको पूर्वमा रहेको प्रिलुकीमा पाँचतले आवासीय भवन ध्वस्त हुने गरी भएको आक्रमणमा पाँच बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो। मृतक बालबालिकामध्ये तीनजना एक वर्षका थिए।
