एमालेका मनोनीत केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण
काठमाडौँ । नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूले आज पार्टी अध्यक्षबाट शपथ लिएका छन् । एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पार्टी अध्यक्षले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत भएका थिए ।
एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनेकी छन्
शुक्रबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूलाई रिसाउने बानी भए घरको खोपामा राखेर जनताको सेवामा लाग्न निर्देशन दिएका छन् । उनले केन्द्रीय सदस्य भएकाहरूलाई बधाई दिँदै भने, ‘पार्टीले तोकेको जिम्मेवारीमा जानुहुनेछ र जिम्मेवारी पुरा गर्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
उनले कहिलेकहिले पार्टीले धक्का खाने भन्दै फेरि उठ्न सकिने बताए । ‘हामी आदर्श व्यक्तिका रूपमा स्थापित हुनुपर्छ । गलत आनीबानी, आचरण लिँदै नलिनुस्’, अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको आचरण पवित्र र शुद्ध हुनुपर्छ । बानी राम्रो हुनुपर्छ, र नमुनायोग्य हुनुपर्छ । मेरो त रिसाउने बानी छ भनेर नेता भएपछि पाइँदैन, रिसाउने बानी घरको खोपामा राख्नुस् ।’
