राष्ट्र बैंकद्वारा सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसम्बन्धी कामका लागि बोलपत्र माग गरेको हो।
राष्ट्र बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार यसअघि छनोट भइसकेका योग्य सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरूले बोलपत्रमा सहभागी हुन सक्नेछन्।
यसअघि फागुन २०८१ मा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ हुन्।
सिक्का छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत एक चरणमा दुई छुट्टाछुट्टै खाममा प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव पेस गर्नुपर्नेछ।
बोलपत्रसम्बन्धी कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र टक्सार महाशाखा, बबरमहलबाट प्राप्त गर्न सकिनेछ। त्यसका लागि नेपाली रुपैयाँ २० हजार दस्तुर तोकिएको छ। बोलपत्र पेस गर्नुअघि अक्टोबर १५ गते दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठकसमेत आयोजना हुनेछ।
इच्छुक कम्पनीले आफ्नो बोलपत्र नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने राष्ट्र बैंकले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ। बोलपत्रको मान्य अवधि १२० दिन र धरौटीको मान्य अवधि त्यसपछि थप ३० दिन रहनेछ। राष्ट्र बैंकले कुनै पनि वा सबै बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकार अथवा अस्वीकार गर्न सक्ने जनाएको छ।
