रुसद्वारा युक्रेनको किएभ भीषण हवाई हमला
काठमाडौँ ।रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार रातिदेखि बुधबारसम्म गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा राजधानी किएभमा दुई जनाको मृत्यु भएको छ।
किएभका मेयर विताली क्लित्श्कोका अनुसार आक्रमणका कारण राजधानीका गैरआवासीय संरचना तथा उत्पादन र भण्डारणस्थलमा क्षति पुगेको छ। युक्रेनी वायुसेनाले आक्रमणअघि ब्यालिस्टिक मिसाइलको सम्भावित प्रहारबारे चेतावनी दिएको थियो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै रुसले ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना प्राप्त भएको बताएका थिए। अक्टोबर ६ मा उनले युक्रेनी गुप्तचर निकायबाट प्राप्त पछिल्लो सूचनाले रुसले ‘ठूलो आक्रमण’को तयारी गरिरहेको देखाएको बताएका थिए।
बुधबारको आक्रमणमा रुसले ड्रोनसँगै दर्जनौँ क्रुज र ब्यालिस्टिक मिसाइल प्रयोग गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। देशका विभिन्न क्षेत्रमा भएको आक्रमणमा किएभबाहेक अन्य स्थानमा पनि जनधनको क्षति भएको छ।
यसैबीच, जाडो मौसम सुरु हुनुअघि युक्रेनको ऊर्जा तथा महत्वपूर्ण पूर्वाधारमाथि रुसले आक्रमण तीव्र बनाएको युक्रेनी पक्षको भनाइ छ। पछिल्ला दिनहरूमा किएभका पुल तथा अन्य महत्वपूर्ण पूर्वाधारसमेत आक्रमणको निशानामा परेका छन्।
रुसले भने आफ्ना आक्रमणहरू युक्रेनका सैन्य तथा सैन्य–औद्योगिक संरचनालाई लक्षित गरिएको दाबी गर्दै आएको छ। रुसी रक्षा मन्त्रालयले पछिल्लो आक्रमणमा सैन्य प्रयोजनसँग सम्बन्धित उत्पादन तथा भण्डारणस्थललाई निशाना बनाइएको जनाएको छ। युक्रेनी पक्षले भने यस्ता आक्रमणबाट नागरिक तथा गैरसैनिक संरचनामा समेत क्षति पुगेको बताएको छ।
रुसले युक्रेनले पनि रुसी भूमिमा नागरिक तथा पूर्वाधारमाथि हमला गरेको आरोप लगाउँदै आएको छ। पछिल्लो समय दुवै पक्षबीच एकअर्काका पूर्वाधार र रणनीतिक स्थानलाई लक्षित गरी हवाई आक्रमण बढिरहेका छन्।
