भोटेकोशी बाढी पीडितलाई अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

२०८३ आश्विन २१ गते, बुधबार


काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।
प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डबमोजिम अस्थायी आवास निर्माणका लागि इच्छुक संस्थाहरूलाई पेस गर्न अनुरोध गरेको हो।
अस्थायी आवास निर्माण गर्न चाहने संघसंस्थाले आफ्नो प्रस्तावमा बनाउन खोजेको आवासको कुल सङ्ख्या, प्रस्तावित निर्माण स्थल, सम्बन्धित स्थानीय तहको नाम तथा काम सुरु र सम्पन्न हुने स्पष्ट अनुमानित समयसीमासहितको कार्ययोजना अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। यसका साथै, यसअघि कुनै पनि विपद् प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणसम्बन्धी सम्झौता वा काम गरेको भए त्यसको विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार इच्छुक साझेदार संघसंस्थाहरूले सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित स्थानीय तहहरूसँग आवश्यक समन्वय गरी निर्माण कार्यलाई अघि बढाउनुपर्नेछ। तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरी इच्छुक संस्थाहरूले यो सूचना प्रकाशित भएको सात दिनभित्र सम्पूर्ण विवरणसहित प्राधिकरणमा आफ्नो प्रस्ताव दर्ता गराइसक्नुपर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]