पाकिस्तानद्वारा ‘फतह–४’ मिसाइलको सफल परीक्षण

२०८३ आश्विन २२ गते, बिहीबार


काठमाडौँ । पाकिस्तानले जमिनबाट प्रक्षेपण गर्न सकिने लामो दूरीको क्रुज मिसाइल ‘फतह–४’ को नयाँ संस्करण सफल परीक्षण गरेको छ ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार ‘फतह–४ ईआर’ नाम दिइएको यो नयाँ मिसाइलमा उडान तथा लक्ष्य निर्धारणका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ ।
पाकिस्तानले नयाँ संस्करणको वास्तविक मारक दूरी भने सार्वजनिक गरेको छैन । तर रक्षा मामिलाका अनुसन्धानकर्ता बिलाल हुसेन खानका अनुसार यसको मारक क्षमता १ हजार किलोमिटरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । उनका अनुसार फतह–४ ईआरको मारक दूरी १ हजार २०० देखि १ हजार ५०० किलोमिटरसम्म पुर्‍याउने लक्ष्य पाकिस्तानले राखेको हुन सक्छ ।
यसअघि फतह–४ को मारक दूरी करिब ७५० किलोमिटर रहेको बताइँदै आएको थियो ।
फतह–४ को महत्वपूर्ण विशेषता भनेको कम उचाइमा उड्न सक्ने क्षमता हो । यो जमिनबाट करिब ५० मिटर माथिबाट उड्न सक्ने पाकिस्तानी वायु सेनाका अवकाशप्राप्त एयर कमोडोर ओवैस खान बताउँछन् । यसले दुश्मनको रडार प्रणालीको निगरानीबाट बच्दै लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्न सक्ने बताइएको छ ।
क्रुज मिसाइलहरू सामान्यतया भूभागको सतह नजिकबाट उड्ने भएकाले उच्च उचाइमा जाने ब्यालिस्टिक मिसाइलको तुलनामा राडारबाट पत्ता लगाउन कठिन हुन सक्छन् ।
फतह–४ मा प्रयोग गरिएको नेभिगेसन प्रणाली इलेक्ट्रोनिक ‘ज्यामिङ’ का बाबजुद पनि काम गर्न सक्ने दाबी गरिएको छ । ज्यामिङमार्फत मिसाइलको दिशा निर्धारण प्रणालीलाई प्रभावित पार्ने प्रयास गरिन्छ ।
फतह–४ सबसोनिक क्रुज मिसाइल हो । अर्थात् यसको गति ध्वनिको गतिभन्दा कम हुन्छ । पाकिस्तानी वायु सेनाका अवकाशप्राप्त एयर कमोडोर ओवैस खानका अनुसार यसको गति करिब म्याक ०.७ अर्थात् ८६४ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । उनका अनुसार मिसाइलमा करिब ३३० किलोसम्मको परम्परागत पेलोड बोक्न सक्ने क्षमता रहेको दाबी गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु