अमेरिकामा आँधीहुरी र भारी वर्षा : लाखौँ मानिस अँध्यारोमा, सयौँ उडान रद्द

२०८३ मंसिर ११ गते, शुक्रबार


काठमाडौँ । अमेरिकाको मिडवेस्ट र उत्तर-पूर्वी क्षेत्रहरूमा भारी वर्षा तथा तीव्र गतिको हावासहित थ्याङ्क्सगिभिङका बेला आएको भीषण आँधीहुरीले लाखौँ मानिसका सामु समस्या खडा गरिदिएको छ।
त्यसैगरी पश्चिमी क्षेत्रहरूमा समुद्रमा उठिरहेका अग्ला छालहरूका कारण पनि देशभर ठुलो मात्रामा जनजीवन प्रभावित भइरहेको छ।
यस साता अमेरिकामा ८ करोडभन्दा बढी मानिसले यात्रा गर्ने अनुमान गरिएको छ। उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइटअवेयर’ का अनुसार स्थानीय समयअनुसार बिहीबार अमेरिकामा ४०० भन्दा बढी उडानहरू रद्द गरिएका छन्। उता, अमेरिका भित्रिने, बाहिरिने तथा देशभित्रै सञ्चालन हुने २,२०० भन्दा बढी उडानहरूमा ढिलाइ भएको छ।
थ्याङ्क्सगिभिङ अमेरिकाको एक परम्परागत उत्सव हो। यसमा मानिसहरूले राम्रो बाली, पारिवारिक तथा अन्य खुसीहरूका निम्ति एक-अर्काप्रति धन्यवाद व्यक्त गर्दछन्।
फेडरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए) ले वर्षा र तीव्र हावाको पूर्वानुमानका कारण साताभरि नै उडानहरूमा ढिलाइ हुन सक्ने चेतावनी पहिल्यै दिएको थियो।
यसैबिच, बिहीबार रातिसम्म करिब १० लाख घरको विद्युत् सेवा अवरुद्ध भएको छ। पेन्सिल्भेनिया, मेरील्यान्ड र भर्जिनिया सबैभन्दा बढी प्रभावित राज्यहरूमध्ये परेका छन्।
अमेरिकाका सबैभन्दा महत्त्वपूर्ण सार्वजनिक बिदाहरूमध्ये एक, थ्याङ्क्सगिभिङ डे का दिन पश्चिमी तटको क्यालिफोर्नियादेखि पूर्वी तटको वासिङ्टन डिसीसम्मका क्षेत्रहरूमा प्रतिकूल मौसमको अवस्था कायमै रह्यो। बाढीका कारण कैयौँ मानिसहरू थ्याङ्क्सगिभिङको भोजको टेबुलमा बसेर खाना खानुको साटो पानीले भरिएका सडक र घरहरूमा कठिन परिस्थितिको सामना गरिरहेका छन्। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]