आईपीएल २०२७ : खेलाडी किन्न २० अर्ब बजेट !

२०८३ मंसिर १० गते, बिहीबार


काठमाडौँ । विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२७ सिजनका लागि खेलाडी खरिद गर्न १० टोलीले झन्डै १३ अर्ब भारतीय रुपैयाँ खर्च गर्ने भएका छन् । आगामी सिजनका लागि खेलाडी अक्सनमा नेपालका १० सहित १८ देशका १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् ।
टाटा आईपीएल २०२७ को अक्सन रजिस्टरमा ९३९ भारतीय र २८१ विदेशी खेलाडी समेटिएका छन् । अक्सनका लागि दर्ता भएका खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय खेल खेलिसकेका (क्याप्ड), ९९४ जना अनक्याप्ड र ४२ जना एसोसिएट राष्ट्रका खेलाडी छन् ।
आईपीएलका १० फ्रेन्चाइज टोलीले अक्सनअघि नै खेलाडी खरिद तथा रिटेन गर्न १ हजार ४ करोड ४० लाख भारतीय रुपैयाँ खर्च गरिसकेका छन् । उनीहरूसँग खेलाडी खरिदका लागि अझै २९५ करोड ६० लाख भारतीय रुपैयाँ बाँकी छ । यसरी अक्सनअघि खर्च भएको र बाँकी रहेको रकम जोड्दा टोलीहरूको कुल खेलाडी खरिद बजेट १ हजार ३०० करोड भारतीय रुपैयाँ अर्थात् करिब २० अर्ब नेपाली रुपैयाँ पुग्छ ।
अक्सनमा १० टोलीले अधिकतम ६६ खेलाडी खरिद गर्न पाउनेछन् । तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ । हालसम्म टोलीहरूले १८४ खेलाडी आफ्नो टिममा राखिसकेका छन् ।
नेपालबाट पनि १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् । एसोसिएट राष्ट्रमध्ये अमेरिकाबाट सबैभन्दा धेरै १३ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बाट समान १० खेलाडी अक्सन रजिस्टरमा परेका छन् ।
विदेशी खेलाडीको दर्तामा अस्ट्रेलिया सबैभन्दा अगाडि छ । अस्ट्रेलियाका ५३ खेलाडीले नाम दर्ता गराएका छन् । त्यसपछि दक्षिण अफ्रिकाका ४०, वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ खेलाडी छन् । श्रीलंकाका २१, इंग्ल्यान्डका १६ र बंगलादेशका १२ खेलाडीले पनि नाम दर्ता गराएका छन् ।
त्यस्तै आयरल्यान्डका ७, जिम्बाब्वेका ६, नेदरल्यान्ड्सका ३ तथा क्यानडा, जापान र स्कटल्यान्डका समान २ खेलाडी अक्सन रजिस्टरमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]