गुगलविरुद्ध १४ करोड ६० लाख डलरको मुद्दा दायर

२०८३ मंसिर ९ गते, बुधबार


काठमाडौँ । मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलर बराबरको मुद्दा दायर गरेको छ । मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले देशको कानुनी व्यवस्था र इजाजतपत्रका सर्त उल्लङ्घन गरेको आरोपमा दुईवटा छुट्टाछुट्टै मुद्दा अघि बढाएको जानकारी दिएको हो ।
आयोगका अनुसार मुद्दामध्ये एउटा युट्युबमा प्रसारित जुवा, अनलाइन ठगी तथा अन्य गैरकानुनी सामाग्री हटाउन प्रभावकारी कदम नचालेको विषयसँग सम्बन्धित छ । यस वर्ष जनवरी १ देखि अक्टोबर २८ सम्म आयोगले युट्युबमा रहेका आपत्तिजनक सामाग्रीबारे ७३ हजार ७०३ वटा उजुरी गरेको थियो । तीमध्ये अधिकांश उजुरी अनलाइन जुवासँग सम्बन्धित थिए । तर, उजुरीमाथि युट्युबको प्रतिक्रिया प्रभावकारी नभएको आयोगको दाबी छ । जुवासम्बन्धी उजुरीमध्ये चार हजार ९५० वटामा कुनै प्रतिक्रिया नै प्राप्त नभएको र ३५ वटा उजुरीमा सामाग्री हटाउन वा जवाफ दिन ९० दिनभन्दा बढी समय लागेको आयोगले जनाएको छ ।
त्यस्तै, एक हजार ४६८ उजुरीमा आवश्यक कारबाही गर्न ३० दिनभन्दा बढी समय लागेको थियो । यी तथ्याङ्कले युट्युबमा गैरकानुनी तथा हानिकारक सामाग्री नियन्त्रण गर्ने प्रक्रियामा गम्भीर कमजोरी रहेको आयोगको निष्कर्ष छ ।
यसैगरी, गुगलविरुद्धको अर्को मुद्दा एक मलेसियाली ब्लगरले युट्युबमा प्रकाशन गरेको कथित झुटो तथा मानहानिकारक सामाग्रीसँग सम्बन्धित छ । उक्त सामाग्रीबारे उजुरी परेपछि पनि युट्युबले नहटाएको आयोगको आरोप छ ।

प्रतिक्रियाहरु

[anycomment]