२४ घण्टाभित्र ९१० सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ९१० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा ती चालकहरू कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेमध्ये मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०० जना र तीव्र गतिमा सवारी हाँक्ने ८२ जना चालक रहेका छन्।
त्यसैगरी, सिसिटिभी निगरानीमार्फत ४४ जना, सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ४४ जना, रातो बत्ती उल्लंघन गर्ने ३७ जना र हर्न निषेध क्षेत्रमा हर्न बजाउने २० जना चालकलाई कारबाही गरिएको छ। ट्राफिक नियमका अन्य विविध कसुरमा ५४४ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
