काठमाडौँ आवतजावत गर्ने मुख्य राजमार्ग अवरुद्ध
काठमाडाैँ । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौँ आवतजावत गर्ने प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा पहिरोका कारण यातायात प्रभावित भएको हो। धादिङको कृष्णभिरसहित जिल्लाका सातभन्दा बढी स्थानमा ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले जानकारी दिए।
बिहीबार साँझदेखि रातभर पृथ्वी राजमार्गमा आवतजावत रोकिएको थियो। शुक्रबार बिहान ५ बजेदेखि यातायात सञ्चालन गर्ने तयारी भए पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिन भएपछि राजमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको हो।
‘पहिरो पन्छाउने प्रयास भइरहेको छ। तर, निरन्तरको वर्षाका कारण समस्या भएको छ,’ एसपी खड्काले बताए।
यसअघि भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभिर क्षेत्रमा सडक भासिएको थियो। करिब दुई साताको प्रयासपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। अहिले सोही डाइभर्सनसहित विभिन्न स्थानमा पुनः पहिरो खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ।
मौसम विज्ञान विभागले आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि सम्भावित जोखिम न्यूनीकरण र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिइन्।
प्रशासनले यात्रु तथा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।
