कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै देशभरका तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ।
वर्षाको सम्भावनाबारे जानकारी दिँदै महाशाखाले दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्ने जनाएको छ।
साथै मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा हुनसक्नेछ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
