मुद्रास्फीति २.४२ प्रतिशत
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांकले वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ। तर, चालु आर्थिक वर्षको ५ महिना (मंसिरसम्म) को मूल्यवृद्धि १.६३ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२० प्रतिशत, घ्यू तथा तेल ४.९६ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको मूल्य ३.०४ प्रतिशतले बढ्दा समग्रमा मुद्रास्फीति बढेको हो।
अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो। पछिल्लो ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले घटेकोे छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८२÷८३ को छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो। दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.७५ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ। समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.९९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.५७ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, मधेस प्रदेशको ३.३७ प्रतिशत, बागमती प्रदेशको २.१० प्रतिशत, गण्डकी प्रदेशको १.७६ प्रतिशत, लुम्बिनी प्रदेशको २.६२ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.२७ प्रतिशत रहेको छ। समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८ प्रतिशत, तराईको २.६५ प्रतिशत, पहाडको १.९४ प्रतिशत र हिमालको २.६६ प्रतिशत रहेको छ।
यसैगरी, राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चितिमा ३६.२ प्रतिशतको उच्च वृद्धि देखिएको छ ।
२०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको यस्तो सञ्चिति चालु आव पुस मसान्तसम्म आइपुग्दा ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ । २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । हालको सञ्चिति नेपालको आर्थिक इतिहासमै निकै बलियो स्थितिमा देखिएको छ । २०८२/८३ पहिलो ६ महिनाको आयात आधार मान्दा अहिलेको सञ्चितिले २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ५३.१ प्रतिशत, १५०.७ र ४०.५ प्रतिशत छ ।
यसैगरी, राष्ट्र बैंकका अनुसार चालु आव पुससम्म रेमिट्यान्स आप्रवाह ३९ प्रतिशत र निर्यात ४३.८ प्रतिशतले बढेको छ छ भने आयात १४.२ प्रतिशतले बढेको छ । चालु आव पुससम्म चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता चालु आव पुससम्म ३ अर्ब ३ करोडले बचतमा रहेको हो ।
गत पुससम्म खुद पूँजीगत ट्रान्स्फर १० अर्ब ७६ करोड छ । गत आव सोही अवधिमा ४ अर्ब २९ करोड थियो । यसैगरी समीक्षा अवधिमा ८ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ६ अर्ब ४८ करोड थियो ।
चालु आव पुसम्ममा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले मात्र बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव पुससम्म ३ अर्ब ५४ करोडले बचतमा छ ।
