स्न्यापच्याटद्वारा अष्ट्रेलियाका ४ लाख १५ हजार खाता बन्द

२०८२ माघ १९ गते, सोमबार


काठमाडौँ । अष्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानून कार्यान्वयनमा आएपछि स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको जनाएको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार जनवरी अन्त्यसम्म १६ वर्षमुनिका ती खाता निष्क्रिय पारिएका हुन्। तर, स्न्यापच्याटले केही किशोरहरूले उमेर प्रमाणिकरण प्रणाली छल्न सक्ने सम्भावनाप्रति चेतावनीसमेत दिएको छ। कम्पनीका अनुसार हाल प्रयोगमा रहेका उमेर अनुमान प्रणालीले दुईदेखि तीन वर्षको दायराभित्र मात्र सही नतिजा दिन सक्ने भएकाले प्रणाली पूर्ण रूपमा भरपर्दो नभएको हो।
स्न्यापच्याटले अष्ट्रेलियाली नियामक निकायलाई एप्लिकेसनमार्फत प्रयोगकर्ताको उमेर जाँच अनिवार्य गर्न आग्रह गरेको छ। कम्पनीले यसलाई ‘थप सुरक्षा उपाय’को रूपमा उल्लेख गरेको छ।
अष्ट्रेलियामा लागू भएको नयाँ कानूनअनुसार स्न्यापच्याटसहित मेटा, टिकटक र युट्युबजस्ता डिजिटल प्लेटफर्महरूले नाबालिग प्रयोगकर्ताका खाता रोक्नुपर्ने व्यवस्था छ। उक्त कानून सन् २०२५ डिसेम्बर १० देखि लागू भएको हो। कानून उल्लङ्घन गरेमा सम्बन्धित कम्पनीले करिब ४९ करोड ५० लाख अष्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ।
अष्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिना प्रविधि कम्पनीहरूले करिब चार लाख ७० हजार खाता पहिल्यै ब्लक गरिसकेको जनाएको थियो। स्न्यापच्याटले भने दैनिक रूपमा अझ धेरै नाबालिग खाता बन्द गरिरहेको बताएको छ। तर, कम्पनीले कानूनमा ‘महत्त्वपूर्ण कमजोरी’ रहेको दाबी गर्दै केही १६ वर्षमुनिका प्रयोगकर्ताले प्रणाली छल्न सक्ने तथा १६ वर्षभन्दा माथिका केही प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउन सक्ने जोखिम रहेको जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इजलासका आदेश अनलाइनमा !

२०८३ श्रावण १२ गते, मंगलवार

२ लाखभन्दा धेरै बेटिङ एप बन्द !

२०८३ श्रावण ८ गते, शुक्रबार