चीनको ग्वाङडोङमा मुसलधारे वर्षा

२०८३ जेष्ठ ८ गते, शुक्रबार


काठमाडौँ । चीनको दक्षिणी प्रान्त ग्वाङडोङमा मुसलधारेवर्षा भएको छ। बुधवारदेखि जारी मुसलधारे वर्षाका कारण १६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रान्तीय अधिकारीहरूकाअनुसार बुधवार र बिहीवारको मुसलधारे वर्षाका कारण उत्पन्न बाढीको जोखिमलाई मध्यनजर गर्दै बिहीवार मध्याह्नसम्म १६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। वर्षाका कारण प्रान्तका विभिन्न क्षेत्रमा बाढी नियन्त्रणका लागि आपत्कालीन प्रतिकार्य संयन्त्रहरू सक्रिय पारिएका छन्।
विशेषगरी याङ्जियाङ, जियाङमेन र झुहाई क्षेत्रमा अत्यधिक वर्षा रेकर्ड गरिएको छ। याङ्जियाङका दुईवटा जलविज्ञान केन्द्रहरूमा १ हजार मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको आधिकारिक तथ्याङ्कले देखाएको छ। नागरिकको जीउधनको रक्षालाई उच्च प्राथमिकता दिँदै ग्वाङडोङ प्रान्तीय प्रशासनले याङ्जियाङ र जियाङमेन लगायतका अति प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आपत्कालीन टोलीहरू परिचालन गरेको छ। अधिकारीहरूले उद्धार कार्यलाई तीव्रता दिँदै थप जोखिम न्यूनीकरणका लागि हरसम्भव प्रयास भइरहेको जनाएका छन्। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]