राष्ट्र र जनघात बन्द गर

२०८३ जेष्ठ २५ गते, सोमबार


प्रधानमन्त्री बालेनले सरकारको नेतृत्व सम्हालेसँगै एकपछि अर्को राष्ट्र र जनघात हुँदै आएको देखिन्छ । प्रधानमन्त्री बालेनले सरकारको नेतृत्व सम्हालेसँगै सुकुम्बासीको उठिबास लगाए । सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाएको झन्डै डेढ महिना पुग्न लाग्यो तर सरकारले सुकुम्बासीको व्यवस्थापन गर्न सकेको छैन । सुकुम्बासीलाई होल्डिंगसेन्टरको नाममा बन्धक जस्तै बनाएर राखिएको छ ।
प्रधानमन्त्री बालेनले सरकारको नेतृत्व सम्हालेसँगै महंगी आकाशिएको छ । जनताको चुलो चौको बन्द हुने स्थितिमा पुगेको छ, तर सरकारलाई कुनै चासो छैन । सरकारले यही बीचमा आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गरेको छ । तर त्यो बजेटमा निम्नस्तरका जनताका लागि कुनै राहतका कार्यक्रम समावेश गरिएको छैन ।
यसैगरी, सरकारले संसदलाई बन्धक बनाएको छ । संसदमा प्रतिपक्षी दलको आवाजलाई पुरै उपेक्षा गरिएको छ । संसदलाई देश र जनताको पक्षमा ऐन कानुन बनाउने भन्दा पनि दलगत स्वार्थ, राष्ट्र र जनघात गर्ने थलोको रुपमा विकास गर्न खोजिएको देखिन्छ । जसको पुष्टि संसदमा प्रतिपक्षी दललाई पुरै उपेक्षा गरेर हालै संसदले पास गरेको प्रतिनिधि सभा नियमावलीलगायतका विधयेक र संसदमा प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिले पुष्टि गर्दछ । प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर बिना प्रमाण नेपालले भारतको भूमि मिचेको छ भन्नु राष्ट्र र जनताको बेइज्जति मात्र होइन यो राष्ट्रिय स्वाभिमान माथिको गम्भीर प्रहार पनि हो । कि प्रधानमन्त्रीले यी–यी स्थानमा नेपालले भारतको भूमि मिचेको छ भन्ने प्रमाण आमनेपाली सामु प्रस्तुत गर्नु प¥यो । होइन भने आमनेपाली जनता सामु माफी माग्दै सरकारबाट बाहिरिनु नै देश, जनता र स्वयम् प्रधानमन्त्रीको लागि समेत श्रेयकर हुन्छ । किनकी नेपाली जनता राष्ट्र र स्वाधिनताका लागि ईतिहासदेखि अहिलेसम्म कसै सामु आफ्नो शिर निहुराउन तयार थिएनन, हुने पनि छैनन् ।
यसैगरी, प्रधानमन्त्री बालेनले सरकारको नेतृत्व सम्हालेसँगै गठन गरिएको सम्पत्ति जाँचबुझ छानबिन आयोग–२०८३ ले २०६२–६३ पछि सार्वजनिक पदमा पुगेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुने बताइएको थियो । तर हाल आएर त्यो आयोगले सर्वोच्च अदालतका प्रधानन्यायधीश, न्यायधीश, संवैधानिक आयोगका बहालावाला पदाधिकारी, नेपाली सेना र पहिलो पटक सांसद र मन्त्री भएका सदस्यहरूको सम्पत्ति छानविन नगर्ने बताएको छ । यसबाट सरकारको राष्ट्र र जनघाती मुखुण्डो आम जनतामाझ उदाङ्गो हुन् पुगेको छ ।
यसैगरी, प्रधानमन्त्री बालेनले सरकारका मन्त्रीहरु विभिन्न भ्रष्टाचारमा मुछिन थालेको समाचार सार्वजनिक हुन् थालेका छन् । अर्थमन्त्री वाग्लेको संरक्षणमा साइमेक्स इंकले जेठ २१ सम्म नेपाल भित्र्याएको सात सय ७४ वटा गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो । समष्टिमा भन्नु पर्दा सत्तारुढ दल रास्वपाले संसदमा प्रतिपक्षी दललाई गरेको घेराबन्दी, प्रधानमन्त्री बालेन र उनको मन्त्रिमंडलका सदस्यको कार्यशैली र अभिव्यक्तिका कारण देश र जनता पलपल प्रताडित भइ रहेका छन् ।
तसर्थः प्रधानमन्त्री बालेनलगायत उनका मन्त्रिमंडलले तुरुन्त सच्चिएर आमजनता सामु आपूmहरुले गरेका कमजोरीको क्षमा माग्दै आगामी दिनमा यस्ता त्रुटी नगर्ने प्रतिवद्धता जनाउनु पर्दछ । अन्यथा जहानियाँ राणा शासन, निरंकुश राजतन्त्र र संसदवादी राजनीतिक दल र नेताको अहंकार पत्तासाफ गर्न सफल आम स्वाभिमानी जनता रास्वपा र त्यसको नेतृत्वमा बनेको सरकारलाई पलभरमै खरानी बनाउन मैदानमा उत्रने छन्, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]