निलोफर’ले नेपाललाइ नछुने
काठमाडौं। सामुद्रिक आँधी ‘निलोफर’ले नेपालमा ठूलो असर नगर्ने विज्ञहरूले बताएका छन्। अरेबियन सागरबाट आइतबार सुरु भएको निलोफरको असरस्वरूप दुई दिनपछि गुजरात तथा गोआ आसपासमा भारी वर्षा हुने अनुमान भइरहेका बेला नेपालमा भने न्यून असरमात्रै देखिने जानकारी मौसमविद्ले दिएका हुन्। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले भूउपग्रह तस्बिर तथा अन्तर्राष्ट्रिय मौसम अनुमान केन्द्रहरूको सहयोगमा निलोफरबारे अध्ययन गरिरहेको छ। उक्त आँधी अत्यन्तै सक्रिय भएको अवस्थामा आगामी बिहीबार पश्चिम नेपालको हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना भने छ। महाशाखाका मौसमविद् सुवास रिमालले भने, ‘निलोफरको ठूलो असर नेपालमा पर्दैन, परिहाल्यो भने पनि अति न्यूनमात्रै हुन्छ, डराउनुपर्ने अवस्था छैन।’ आँधीको असर बुधबारदेखि गुजरातमा देखिन थाल्नेछ। मौसमविद्ले आँधीको गति प्रतिघन्टा एक सय ४५ किलोमिटर हुने बताएका छन्। ‘पश्चिम नेपालका हिमाली जिल्लामा हिउँ परे पनि हुदहुदको जस्तो लगातार धेरै दिन वर्षा हुँदैन’, रिमालले भने।
जलवायु तथा मौसमविज्ञान विभागका अनुसार नेपालको पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव भएका कारण पनि केही दिनयता त्यहाँको मौसम अस्थिर छ। पश्चिमी वायुको प्रभावकै कारण पनि वर्षा र हिउँ परिरहन्छ।
मौसमविद्ले आँधीको असरबाट बच्न भारत, पाकिस्तान र ओमानका केही क्षेत्रमा सावधानी अपनाउन चेतावनी दिइसकेका छन्। भारतको मध्यप्रदेशमा विकास भएको उच्चचापीय क्षेत्रका कारण निलोफरको असर नेपालमा कम पर्ने तर्क मौसमविद्को हो। ‘हाई प्रेसर सिस्टमले अवरोधको काम गरिरहेको हुन्छ। त्यसले आँधी रोकिदिन्छ’, रिमालले भने।
आँधी सामान्यतया पानी छाडेर जमिनको सहतमाथि आउँदा कमजोर भइसकेको हुन्छ। उच्चचापीय क्षेत्रको विकास भएकै कारण मनसुन निस्तेज हुन्छ। रिमालका अनुसार यो प्रणाली मनसुन सुरु नभएसम्म यताउता बसिरहन्छ।
जमिनभन्दा तीन किलोमिटरमाथिसम्म उच्चचापीय क्षेत्र बनेको हुन्छ। मौसमविद्का अनुसार यस्तो प्रणाली भएको ठाउँको मौसम सफा हुन्छ। मौसमविद्ले कहिलेकाहीं तीन किलोमिटरमाथिबाट पनि कुनै मौसम प्रणाली ओहोरदोहोर गर्नसक्ने बताए।
गत महिना आएको हुदहुद आँधीको प्रभावले भएको भीषण हिमपातमा परी नेपालमा ३५ जना स्वदेशी तथा विदेशी पर्यटकको मृत्यु भएको थियो। यसका कारण भारतमा पनि ४५ जनाको मृत्यु भएको थियो।
सन् १९९९ मा शक्तिशाली सामुद्रिक ‘सुपर साइक्लोन’ का कारण उडिसामा १० हजारजनाको मृत्यु भएको थियो। गत वर्ष आन्ध्रप्रदेश र उडिसामा आएको ‘फाइलिन’ आँधीमा फसेका पाँच लाखजनाको उद्धार गरिएको थियो। पूर्वी भारत र बंगलादेशमा अप्रिलदेखि नोभेम्बरबीचमा यस्ता आँधी आइरहन्छन्।