इरानी सर्वोच्च नेता मुजतबा देखिएको भिडियो सार्वजनिक

२०८३ श्रावण २४ गते, आईतवार


काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई सार्वजनिक रूपमा देखिएको भिडियो सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी मेहरले युद्धपछि पहिलोपटक सार्वजनिक गरेको भिडियोमा मुजतबा जमिनमा बसेर केही मानिसहरूसँग कुराकानी गरिरहेको देखिन्छ।
सर्वोच्च नेता बनेपछि सार्वजनिक भएको यो उनको पहिलो भिडियो भएको बताइएको छ। यद्यपि, भिडियो कहिले र कहाँ खिचिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन।
पछिल्ला केही दिनदेखि मुजतबाको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न दाबी सार्वजनिक हुँदै आएका थिए। इजरायली च्यानल–१४ ले स्रोतलाई उद्धृत गर्दै उनको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको दाबी गरेको थियो। कतिपय रिपोर्टमा उनको चाँडै मृत्यु हुन सक्ने आशंकासमेत व्यक्त गरिएको थियो।
यस्तो अवस्थामा मुजतबा सार्वजनिक भएको भिडियो बाहिरिएपछि उनको स्वास्थ्यबारे गरिएका दाबीमाथि प्रश्न उठेको छ। यद्यपि उनको वास्तविक स्वास्थ्य अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइसकेको छैन।
यसअघि साउदी सञ्चारमाध्यम अल–हदथले इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुजतबा त्यस समयमा इरानमा नरहेको दाबी गरेको थियो।
स्रोतका अनुसार मुजतबाको नामबाट जारी भइरहेका सरकारी सन्देशहरू इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का नयाँ प्रमुख अहमद वाहिदी र अन्य उच्च अधिकारीहरूले तयार गरिरहेका थिए।
सर्वोच्च नेता बनेपछि मुजतबा सार्वजनिक रूपमा कतै देखिएका थिएनन्। उनले कुनै सार्वजनिक सम्बोधनसमेत गरेका थिएनन्। सरकारी सञ्चारमाध्यमहरूले उनको नामबाट केही लिखित सन्देश मात्रै सार्वजनिक गरेका थिए।
इरानी सञ्चारमाध्यमका अनुसार उनका पिता तथा पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको निधनपछि पनि मुजतबाले कुनै मन्त्रीसँग प्रत्यक्ष भेट गरेका थिएनन्। उनी आफ्ना पिताको अन्त्येष्टिमा समेत सार्वजनिक रूपमा देखिएका थिएनन्। इरानी राष्ट्रपति मसुद पेजेस्कियनले समेत मुजतबासँग प्रत्यक्ष सम्पर्क गर्न कठिन रहेको बताएका थिए।
इरानले मुजतबाको स्वास्थ्यलाई लिएर सार्वजनिक भएका विभिन्न अड्कलबाजी यसअघि नै खारेज गरिसकेको थियो। यसअघि इजरायली सञ्चारमाध्यमहरूले फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा मुजतबा गम्भीर घाइते भएको दाबी गरेका थिए। ‘द न्युयोर्क टाइम्स’ को रिपोर्टलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा आक्रमणपछि मुजतबा गोप्य स्थानमा बसेर चिकित्सकहरूको निगरानीमा उपचार गराइरहेको दाबी गरिएको थियो। रिपोर्टमा उनको अवस्था गम्भीर रहेको र एउटा खुट्टामा तीनपटक शल्यक्रिया गरिएको उल्लेख थियो। उनलाई कृत्रिम खुट्टा लगाउनुपर्ने अवस्था आउन सक्ने दाबीसमेत गरिएको थियो। एउटा हातमा पनि शल्यक्रिया गरिएको तथा अनुहार र ओठमा गम्भीर चोट लागेकाले बोल्नसमेत समस्या भएको बताइएको थियो। तर इरानी अधिकारीहरूले यी दाबी अस्वीकार गर्दै मुजतबालाई कुनै गम्भीर चोट नलागेको बताएका थिए।
मुजतबा खामेनेई इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका दोस्रो छोरा हुन्। अली खामेनेईको निधनपछि ५६ वर्षको उमेरमा मुजतबा इरानको नयाँ सर्वोच्च नेता बनेका हुन्।

प्रतिक्रियाहरु

[anycomment]