अन्तर्राष्ट्रिय यूवा दिवस :युवाको भविष्य बदल्ने अन्तर्राष्ट्रिय अभियान
हरेक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। युवाका अधिकार, सम्भावना, सहभागिता र समस्यामाथि बहस गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस विश्वभर मनाइँदै आएको छ। नेपालमा पनि हरेक वर्ष विभिन्न गोष्ठी, समारोह, भाषण, प्रतिबद्धता र शुभकामनाका साथ यो दिवस मनाइन्छ।
तर फेरि पनि देशको राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र साँस्कृतिक क्षेत्रमा एउटा असहज प्रश्न उठाउनैपर्छ कि हाम्रो देशमा युवा दिवस मनाउनुको अर्थ के हो?के यो युवाका नाममा एउटा अर्को औपचारिक कार्यक्रम गर्ने दिन र केही भाषण, गोष्ठी र प्रतिबद्धतापछि पुनः यूवाहरुको वास्तबिक अबस्था बिर्सिदिनका लागि मात्र हो?यो देशको सबैभन्दा ठूलो जनशक्ति—युवा शक्ति—माथि गम्भीर राष्ट्रिय बहस र नयाँ संकल्प गर्ने अवसर हो कि होइन ? यदि हो भने युवा दिवसको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक छ।
यो २०२६ को अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘डिफरेण्ट कन्टेक्स, कम्मन एस्पाइरेशन’ अर्थात “फरक सन्दर्भ, साझा आकांक्षा” रहेको छ। संसारका युवाहरूको सामाजिक, आर्थिक र राजनीतिक परिस्थिति फरक भए पनि उनीहरूका आधारभूत आकांक्षा समान छन्—गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, समान अवसर, सुरक्षा, सामाजिक न्याय, सहभागिता र उज्ज्वल भविष्य। तर आज हामीले नेपाली युवाको अवस्था हेर्दा यी सामान्य आकांक्षा पनि आज ठूलो संघर्षको विषय बनेका छन्।
युवा शक्ति छ, युवा भविष्य छैन !
नेपालको सबैभन्दा ठूलो सम्भावना के हो भने यहाँ ठूलो युवा जनसंख्या छ। कुनै पनि मुलुकका लागि यस्तो जनसांख्यिक संरचना विकासको तीव्र गतिमा प्रवेश गर्ने ऐतिहासिक अवसर हुन सक्छ। युवाको श्रम, सीप, ऊर्जा, सिर्जनशीलता र नवीन सोचलाई उत्पादनमा परिचालन गर्न सके देशले अभूतपूर्व आर्थिक फड्को मार्न सक्छ।तर हाम्रो विडम्बना के छ ? हामीसँग युवा शक्ति छ, तर रोजगारी छैन। हामीसँग श्रम शक्ति छ, तर उत्पादन छैन। हामीसँग प्रतिभा छ, तर अवसर छैन। हामीसँग सपना छ, तर त्यसलाई पूरा गर्ने आधार छैन।त्यसैले आज नेपालको युवा पुस्ताको ठूलो हिस्सा आफ्नो भविष्य नेपालमा होइन, विदेशमा खोज्न बाध्य तुल्याइएको छ।यो केवल व्यक्तिगत रोजाइ होइन। यो एउटा राष्ट्रिय आर्थिक संरचनाको असफलता दुष्चक्रको परिणाम हो।
बेरोजगारीभन्दा गम्भीर छ—रोजगारीको चरित्र
नेपालमा युवा बेरोजगारी लामो समयदेखि गम्भीर समस्या रहँदै आएको छ। विश्व बैंकको क्ष्ीइ–आधारित तथ्याङ्कले पनि १५–२४ वर्षका नेपाली युवाको बेरोजगारी उल्लेख्य रूपमा उच्च रहेको देखाउँछ। तर यो समस्या बेरोजगार युवाको संख्यामा मात्र सीमित छैन। काम गर्ने युवामध्ये पनि ठूलो हिस्सा अनौपचारिक, असुरक्षित, न्यून ज्याला र भविष्यको कुनै सामाजिक सुरक्षाविहीन रोजगारीमा छ। अर्थात् काम छ, तर सम्मानजनक जीवन धान्ने काम छैन।
विश्वव्यापी अवस्था पनि उत्साहजनक छैन। अन्तर्राष्ट्रिय श्रम संगठनका पछिल्ला तथ्यअनुसार सन् २०२५ मा विश्व युवा बेरोजगारी १२.४ प्रतिशत पुगेको छ—१५ देखि २४ वर्षका करिब ६ करोड ७० लाख युवा बेरोजगार छन्। रोजगारी, शिक्षा वा तालिममध्ये कुनैमा पनि संलग्न नरहेका युवाको संख्या २५ करोड ७० लाखभन्दा बढी पुगेको छ।यसले प्रष्ट के देखाउँछ भने युवा संकट केवल नेपालको समस्या होइन; आजको विश्व अर्थतन्त्रले नै युवालाई पर्याप्त र गुणस्तरीय रोजगारी दिन नसकिरहेको अबस्था छ।तर नेपालजस्तो उत्पादन कमजोर, औद्योगिक आधार साँघुरो र वैदेशिक रोजगारीमा अत्यधिक निर्भर देशका लागि यसको असर अझ गम्भीर हुन्छ।
पासपोर्ट बोकेको पुस्ता
आज नेपालको गाउँ–बस्तीमा एउटा असाधारण दृश्य प्राय सर्बत्र देखिन्छ।विद्यालय छन्, तर विद्यार्थी घटिरहेका छन्।खेत छन्, तर खेताला छैनन्।घर छन्, तर युवा छैनन्। गाउँमा वृद्ध आमाबाबु छन्, तर छोराछोरी विदेशमा छन्। अर्कोतिर विमानस्थलमा पासपोर्ट बोकेको युवा पुस्ताको लामो लाइन छ।यो दृश्यलाई केवल ‘वैदेशिक रोजगारीको अवसर’ भनेर गौरव गर्ने हो भने हामी समस्याको वास्तविक स्वरूपबाट भागिरहेका हुन्छौँ। एउटा देशले आफ्ना ऊर्जाशील युवालाई आफ्नै भूमिमा काम दिन नसकेर विदेश पठाउनुपर्ने अवस्था आफैँमा विकासको उपलब्धि होइन; यो विकासको गम्भीर विरोधाभास हो।
नेपालमा वैदेशिक रोजगारी परिवारका लागि जीविकोपार्जनको प्रमुख आधार बनेको छ। विप्रेषणले नेपालको बाह्य क्षेत्र र घरपरिवारको आयलाई ठूलो सहारा दिएको छ। विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२५÷२६ को पहिलो अर्धवार्षिक अवधिमा विप्रेषण कुल गार्हस्थ्य उत्पादनको १६.६ प्रतिशत बराबर पुगेको थियो र यसले व्यापार घाटाको दबाबलाई धेरै हदसम्म सन्तुलन गरेको थियो। तर यहाँ अयन्तै गम्भीर प्रश्न उठ्छ कि युवाको श्रम निर्यात गरेर आएको पैसाले देशको उत्पादन शक्ति बढिरहेको छ कि आयात र उपभोग मात्र ?
विप्रेषणको चमक र श्रमको पीडा
विप्रेषण नेपाली अर्थतन्त्रका लागि अभिन्न अंग बनिसकेको छ र महत्वपूर्ण छ । यसलाई अस्वीकार गर्न सकिँदैन। लाखौँ परिवारको जीवन धान्न, शिक्षा र स्वास्थ्यमा खर्च गर्न तथा देशको विदेशी मुद्रा सञ्चिति बलियो बनाउन यसले योगदान गरेको छ । तर विप्रेषणलाई राष्ट्रको आर्थिक सफलताको अन्तिम प्रमाण मान्नु खतरनाक भ्रम हो। किनभने विप्रेषणसँगै एउटा अदृश्य निर्यात पनि भइरहेको छ—श्रमको निर्यात। नेपालले युवा श्रम निर्यात गर्छ। विदेशले श्रम प्रयोग गर्छ। नेपालमा पैसा आउँछ। त्यो पैसा ठूलो मात्रामा उपभोग र आयातमा जान्छ। आयातले विदेशी उत्पादनलाई बलियो बनाउँछ। नेपालको उत्पादन कमजोर रहन्छ।उत्पादन कमजोर भएपछि रोजगारी सिर्जना हुँदैन।र फेरि अर्को पुस्ता विदेश जान्छ। यो अनन्त चक्र तोडिएन भने हामी ‘युवा निर्यात–विप्रेषण–आयात–बेरोजगारी–फेरि युवा निर्यात’ को दुष्चक्रमा फसिरहनेछौँ।त्यसैले प्रश्न विप्रेषण आयो कि आएन भन्ने मात्र होइन। प्रश्न हो—विप्रेषणले राष्ट्रिय उत्पादन बढायो कि बढाएन? रोजगारी सिर्जना ग¥यो कि गरेन?युवा पलायन घटायो कि घटाएन? राज्यको असफलता कहाँ छ?
हुन पनि नेपालमा युवाको समस्या आजको मात्र होइन। दशकौँदेखि योजना बनाइए, नीति बनाइए, कार्यक्रम ल्याइए। तर परिणाम किन आएन ? किनकि युवाको प्रश्नलाई राष्ट्रिय उत्पादन र आर्थिक संरचनाको प्रश्नका रूपमा हेरिएन। त्यसैले नेपालले कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सकेन ।औद्योगीकरणलाई प्राथमिकता दिन सकेन । जलस्रोतलाई पर्याप्त उत्पादनसँग जोड्न सकेन । स्थानीय उत्पादन र राष्ट्रिय बजारबीच सम्बन्ध बनाउन सकेनप्राविधिक शिक्षालाई रोजगारीसँग जोड्न सकेन ।युवाको उद्यमशीलतालाई पूँजी, प्रविधि र बजारसँग जोड्न सकेनफलतः देशमा एउटा विचित्र अर्थतन्त्र विकसित भएको छ—युवा विदेशमा, पैसा विदेशबाट, सामान विदेशको र बजार नेपालमा ! यस्तो अर्थतन्त्रले दीर्घकालीन आत्मनिर्भरता निर्माण गर्न सक्दैन।
युवा दिवसको सबैभन्दा गम्भीर प्रश्न
आजको युवा दिवसमा राज्य र नीति निर्मातासामु एउटा सीधा प्रश्न राख्नुपर्छ—नेपालले आफ्ना युवालाई के दिने ? पासपोर्ट ? विदेश जाने श्रम स्वीकृति ? वैदेशिक रोजगारको प्रमाणपत्र ?वा आफ्नै देशमा भविष्य निर्माण गर्ने अधिकार ? युवालाई विदेश जानबाट रोक्ने कुरा गरेर मात्र समस्या समाधान हुँदैन। देशमै बस्नु आकर्षक, सम्मानजनक र आर्थिक रूपमा सम्भव बनाउने वातावरण निर्माण गर्नुपर्छ। त्यसका लागि पहिलो शर्त हो—उत्पादन। उत्पादनबिना रोजगारी सम्भव छैन । रोजगारी सिर्जना गर्ने सबैभन्दा भरपर्दो आधार उत्पादन हो।
त्यसैले नेपालले अब भाषणमुखी युवा नीति होइन, उत्पादनमुखी राष्ट्रिय युवा नीति आवश्यक छ । कृषि आधुनिकीकरण गरौँ।वैज्ञानिक भूमिसुधार गरौँ। कृषिमा युवालाइ पुनःआकर्षण गरौँ। जलविद्युत् र ऊर्जा उत्पादन विस्तार गरौँ।राष्ट्रिय औद्योगीकरणलाई प्राथमिकता दिऔँ। कृषिका लागि सिँचाइ विस्तार गरौँ। स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरौँ। पर्यटनलाई रोजगारीसँग जोडौँ।
सूचना प्रविधि र डिजिटल अर्थतन्त्रमा लगानी गरौँ। स्टार्टअप र नवप्रवर्तनलाई उत्पादनसँग जोडौँ। युवालाई केवल ‘सीप सिकाउने’ होइन, ‘सीप प्रयोग गर्ने अवसर’ दिनुपर्छ। सीप तालिमपछि रोजगारी छैन भने तालिम पनि बेरोजगारीको अर्को रूप बन्न सक्छ। त्यसैले—सीप → रोजगारी → उत्पादन → बजार → आय → पुनःलगानी यो आर्थिक चक्र निर्माण गर्नुपर्छ।
नयाँ चुनौती ः कृत्रिम बुद्धिमत्ता(एआई) र बदलिँदो श्रम बजार
अब नेपाली युवाको अगाडि पुराना चुनौती मात्र छैनन्। कृत्रिम बुद्धिमत्ता, स्वचालन र डिजिटल प्रविधिले विश्वको श्रम बजार तीव्र गतिमा बदलिरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले युवाको रोजगारीमा ब्क्ष् को प्रभावबारे चेतावनी दिँदै केही पेशामा रोजगारी विस्थापनको जोखिम देखाएको छ, तर उच्च सीप भएका विज्ञान, प्रविधि, स्वास्थ्य र क्ष्त् क्षेत्रका रोजगारी विस्तार हुने सम्भावना पनि औँल्याएको छ। नेपालले यो परिवर्तनलाई केवल खतरा भनेर हेर्नु हुँदैन। एआईलाई रोजगारी खोस्ने प्रविधि मात्र होइन, नयाँ उत्पादन र रोजगारी सिर्जना गर्ने साधनमा रूपान्तरण गर्नुपर्छ। त्यसका लागि युवालाई डिजिटल सीप, ब्क्ष्, साइबर सुरक्षा, सफ्टवेयर, रोबोटिक्स, डेटा, हरित प्रविधि र आधुनिक उद्यमशीलतामा प्रशिक्षित गर्नुपर्छ। नत्र भविष्यको विश्व बजारमा पनि नेपाली युवा सस्तो श्रम बेच्न बाध्य हुनेछन्।
बदल्नै पर्ने शिक्षाको सबैभन्दा ठूलो कमजोरी
आजको शिक्षा प्रणालीको एउटा ठूलो कमजोरी हो—शिक्षा र उत्पादनबीचको विच्छेद। विश्वविद्यालयबाट डिग्री लिएर निस्किएको युवा जागिर खोज्छ। उद्योगले दक्ष जनशक्ति खोज्छ। दुवै एकअर्कालाई भेट्न सक्दैनन्। यसको अर्थ शिक्षा प्रणाली र अर्थतन्त्रबीच सम्बन्ध टुटेको छ। शिक्षालाई प्रमाणपत्र वितरणको माध्यम होइन, ज्ञान, सीप, अनुसन्धान, उत्पादन र उद्यमको आधार बनाउनुपर्छ।प्राविधिक शिक्षा विस्तार गर्नुपर्छ। विश्वविद्यालयलाई अनुसन्धानसँग जोड्नुपर्छ। उद्योग–विश्वविद्यालय सहकार्य विकास गर्नुपर्छ। युवालाई पढ्दै कमाउने र सिर्जना गर्ने अवसर दिनुपर्छ।
मानसिक स्वास्थ्यको मौन संकट
युवाको एउटा अर्को संकट बाहिरबाट देखिँदैन—निराशा। जब युवाले पढ्छ तर काम पाउँदैन, सीप सिक्छ तर अवसर पाउँदैन,उद्यम गर्न खोज्छ तर पूँजी पाउँदैन,योग्यता हुन्छ तर पहुँच हुँदैन,देशमै केही गर्न खोज्छ तर वातावरण पाउँदैन—त्यसपछि निराशा जन्मिन्छ। त्यसैले मानसिक स्वास्थ्यलाई केवल चिकित्सकीय समस्या भनेर हेर्न मिल्दैन।
बेरोजगारी, गरिबी, असमानता, विभेद, सामाजिक बहिष्करण र भविष्यको अनिश्चितता पनि मानसिक स्वास्थ्यका सामाजिक कारण हुन्।युवालाई औषधि मात्र होइन, अवसर चाहिन्छ। परामर्श मात्र होइन, उद्देश्य चाहिन्छ। सहानुभूति मात्र होइन, सम्मानजनक जीवन चाहिन्छ।युवा महिलालाई आधा शक्तिका रूपमा होइन, पूर्ण शक्तिका रूपमा हेरौँ !
युवा महिलाको सहभागिताबिना युवा शक्तिको पूर्ण परिचालन सम्भव छैन
शिक्षा, रोजगारी, सम्पत्ति, प्रविधि, उद्यम, नेतृत्व र निर्णय प्रक्रियामा युवा महिलाको समान पहुँच सुनिश्चित गर्नुपर्छ ।हिंसा, विभेद, बालविवाह, असुरक्षा र आर्थिक निर्भरता अन्त्य नगरी युवा महिलाको वास्तविक क्षमता राष्ट्रनिर्माणमा प्रयोग गर्न सकिँदैन । युवा महिला सुरक्षित र आत्मनिर्भर हुनु भनेको परिवार मात्र होइन, समग्र समाज र राष्ट्र बलियो हुनु हो ।
युवालाई मञ्चमा होइन, निर्णयमा सहभागी गराऔं !
युवाको सहभागिताका नाममा कार्यक्रम आयोजना गरेर मात्र लोकतान्त्रिक सहभागिता पूरा हुँदैन ।युवालाई निर्णय प्रक्रियामा वास्तविक अधिकार दिनुपर्छ । स्थानीय विकास योजना बनाउँदा युवा सहभागी हुनुपर्छ । बजेट प्राथमिकता निर्धारणमा युवा आवाज आउनुपर्छ । शिक्षा र रोजगार नीति निर्माणमा युवाको प्रत्यक्ष सहभागिता हुनुपर्छ ।डिजिटल, वातावरण, उद्यम र सामाजिक नीतिमा युवा निर्णायक साझेदार बन्नुपर्छ। युवालाई भाषण सुनाउने होइन, निर्णय गराउने संस्कृति विकास गर्नुपर्छ। अब कर्मकाण्ड होइन, राष्ट्रिय युवा अभियान चलाइनु पर्दछ ।अन्तर्राष्ट्रिय युवा दिवसको दिन फूल, माला, भाषण र शुभकामनाले मात्र पुग्दैन,आज एउटा राष्ट्रिय प्रतिज्ञा आवश्यक छ—युवालाई विदेश धकेल्ने अर्थतन्त्र होइन, देशमै रोजगारी सिर्जना गर्ने अर्थतन्त्र बनाउने । विप्रेषणलाई उपभोगमा मात्र होइन, उत्पादनमा लगाउने । कृषि, उद्योग, ऊर्जा र प्रविधिलाई युवा रोजगारीको आधार बनाउने। शिक्षालाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्ने र युवा मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकता बनाउने बाटो लिनु पदर्छ अनि
युवा महिलाको समान अवसर सुनिश्चित गरिनु पर्दछ। एआई र डिजिटल प्रविधिलाई नयाँ रोजगारी र उत्पादनको साधन बनाउने र सबैभन्दा महत्वपूर्ण—युवालाई राष्ट्रको भविष्य भनेर मात्र होइन, वर्तमानको निर्णायक शक्ति भनेर स्वीकार गर्ने स्थिति सिर्जना गर्नै पर्दछ ।
अन्त्यमा ः युवालाई देशमै भविष्य देखिने बनाऔँ
कुनै पनि देशको भविष्यको वास्तविक परीक्षा उसको युवाको अवस्थाबाट हुन्छ। यदि युवा बेरोजगार छ भने देशको अर्थतन्त्र स्वस्थ छैन। यदि युवा विदेशिन बाध्य छ भने देशको विकास मोडलमाथि प्रश्न उठ्छ। यदि युवा निराश छ भने राज्यको भविष्यप्रतिको विश्वास कमजोर छ। यदि युवा आफ्नो देशमा अवसर देख्दैन भने राष्ट्रिय विकासको दाबी खोक्रो हुन्छ। आज नेपालले आफ्ना युवालाई रोक्न खोजेर होइन, युवालाई आकर्षित गर्ने नेपाल निर्माण गरेर युवा पलायनको सामना गर्नुपर्छ।
हामीले यस्तो नेपाल निर्माण गर्नुपर्छ जहाँ— युवाले रोजगारीका लागि विदेश होइन, अवसरका लागि आफ्नै देश रोजोस्;कृषि युवाका लागि बाध्यता होइन, आधुनिक उद्यम बनोस्;उद्योग रोजगारीको केन्द्र बनोस,ऊर्जा विकासको आधार बनोस;प्रविधि नयाँ पुस्ताको सिर्जनात्मक शक्ति बनास्, शिक्षा विदेश जाने टिकट होइन, देश बनाउने औजार बनोस;र विप्रेषण उपभोगमा हराउने पैसा होइन, राष्ट्रिय उत्पादनमा रूपान्तरण हुने पूँजी बनोस्। किनकि—युवा देशबाट बाहिरिँदै जाने हो भने देशको भविष्य बाहिरिँदै जान्छ। युवा देश निर्माणमा जुट्ने हो भने देशको भविष्य यहीँ निर्माण हुन्छ। त्यसैले आजको अन्तर्राष्ट्रिय युवा दिवसमा युवालाई केवल शुभकामना होइन, अधिकार, अवसर र भविष्यको ग्यारेन्टी दिनुपर्छ। युवालाई पासपोर्ट मात्र होइन—उत्पादनको औजार दिनुपर्छ। युवालाई भाषण मात्र होइन—रोजगारी दिनुपर्छ।युवालाई आश्वासन मात्र होइन—अवसर दिनुपर्छ। युवालाई देश छोड्ने बाध्यता होइन—देश बनाउने कारण दिनुपर्छ। युवा दिवस वर्षमा एक दिन मनाउने विषय होइन; युवाको भविष्य बदल्ने निरन्तर राष्ट्रिय अभियान हो। र, यही अभियानबाट मात्र नेपाली युवाको दुर्दान्त अवस्थालाई राष्ट्रिय पुनर्जागरणको शक्तिमा बदल्न सकिन्छ।

