भोटेकोशी बाढी: १६ लाख मानिस प्रभावित !
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार भदौ १० गते नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएका छन्। प्राधिकरणले बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै सो प्रतिबेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितवनलाई मध्यम रूपमा प्रभावित जिल्लामा सूचीकृत गरेको छ।
बाढीपहिरोमा परी हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी मृत्यु चितवनमा ३२१ जनाको भएको छ भने नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। बेपत्ता हुनेमध्ये ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, १७ प्रतिशत सरकारी निकायका कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक रहेका छन्।
प्राधिकरणका अनुसार, विभिन्न उद्धार कार्यमार्फत हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार भएको छ, जसमध्ये २५३ जना विदेशी नागरिक रहेका छन्। हवाई मार्गबाट मात्रै ३,७०२ जनाको उद्धार गरिएको छ भने ५७३ वटा हवाई उडान सञ्चालन भएका छन्।
उद्धार कार्यमा नेपाली सेनाका ८,८९६, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरी बलका ४,२०३ गरी कुल २१,०११ सुरक्षाकर्मी खटिएका छन्। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएका छन्।
विभिन्न स्वास्थ्य संस्थामा २७९ जना घाइतेको उपचार भएकोमा ७९ जना अझै उपचाररत छन्, १६८ जना डिस्चार्ज भइसकेका छन् र ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रमा थप २,७४० जनालाई स्वास्थ्य उपचार प्रदान गरेको छ।
बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ भने थप ४ वटा पुलमा क्षति पुगेको छ। नुवाकोटमा मात्रै १,२६७ घर पूर्ण रूपमा र १,२५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ। स्याटेलाइट म्यापिङअनुसार भोटेकोशी–त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा ४,६८९ वटा भवन जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ।
रसुवाको अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३,७०२ घरधुरीका १४,४६१ नागरिक ६ दिनदेखि सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई अलपत्र अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अनिश्चितकालका लागि बन्द छन् — उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डको घट्टेखोलामा सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिएको छ। बेलकोटगढी–१० स्थित पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। नेपाल टेलिकमका ११० वटा र एनसेलका ७८ वटा मोबाइल टावरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–२, माथिल्लो त्रिशूली–१, मैलुङ खोला, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, मध्य त्रिशूली गंगा नदी, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायतका जलविद्युत् आयोजनामा क्षति पुगेको छ। जलविद्युत् र सोलार गरी कुल ७८३.३८५ मेगावाट जडित क्षमताका आयोजनासँगै सबस्टेसन र ट्रान्समिसन लाइन पनि प्रभावित भएका छन्।
रसुवा, नुवाकोट र धादिङका १९ वटा विद्यालयमा अध्ययनरत ६,९०१ विद्यार्थी प्रभावित भएका छन्। यीमध्ये ८ वटा विद्यालय पूर्ण रूपमा र ८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने ३ वटा मात्र सुरक्षित छन्।
रसुवाको स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क (रसुवागढी) र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन्। गल्छीको बैरेनी अस्पताल र चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ।
नुवाकोटको धुङ्गे र विदुरमा रहेका २ वटा फोहोरपानी प्रशोधन केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विदुर खानेपानी आयोजनामा क्षति पुग्दा करिब ४.५ किलोमिटर पाइपलाइन र ३ वटा सम्प वेल बगेका छन्, जसबाट ४ हजार घरधुरी प्रभावित भएका छन्। त्रिशूली कोलोनी, देवीघाट र बेत्रावती खानेपानी आयोजना प्रभावित हुँदा थप ४६५ घरधुरीमा असर परेको छ।
टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र बन्दरेमा रहेका लाङटाङ राष्ट्रिय निकुञ्जका कार्यालय तथा भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्। नुवाकोटस्थित कृषि विकास केन्द्र र टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयमा पनि क्षति पुगेको छ।
