चिसो ह्वातै बढ्यो
काठमाडौ । देशभरको तापक्रम झनै तल झरेको छ। पश्चिमी वायुको प्रभाव र अरेबियन समुद्रमा आएको मौसम प्रणालीका कारण दुई दिन देशभर पानी पर्ने देखिन्छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि पानीका कारण चिसो बढ्ने जनाएको छ। विहान ७ बजे काठमाडौं उपत्यकाको तापक्रम ७ डीग्री सेल्सियस मापन गरिएको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार अरब समुद्रबाट आएको पानी पार्ने प्रणाली र पश्चिमी वायुको प्रभावले हुने वर्षा दुवै मिसिने सम्भावना भएकोले चिसो बढेको हो।यी दुवै प्रणाली मिसिँदा केही घन्टा वर्षा हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय मौसम अनुमान केन्द्रहरूले जनाएका छन्। मनसुन सकिएको (पोस्ट मनसुन) अवस्था भएकाले गर्मीयामको जस्तो ठूलो पानी पार्ने प्रणालीको विकास भने नहुने अनुमान छ।
विज्ञका अनुसार जाडोमा उच्च चापीय क्षेत्रको विकास भएका कारण पानी पार्ने त्यस्तो प्रणाली तुलनात्मक रूपमा कमजोर हुन्छ। दुई प्रणाली मिसिए पनि आत्तिनुपर्ने अवस्था नरहेको महाशाखाले जनाएको छ। मध्य र पूर्वी नेपाललाई बिहीबार मसिनो बादलले ढाकेको थियो भने पश्चिम आकाश सफा रह्यो। ‘पश्चिमी वायुको प्रभाव देखिएको हो’, अर्यालले भने।
केही महिनाअघि नेपाल भित्रिएको हुदहुदको ठूलो र निलोफरको सामान्य असर देखिएको थियो। गत वर्ष पानी पार्ने दुईवटा प्रणाली मिसिँदा भीषण वर्षा भएको थियो। यसपटक भने धेरै ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले जनाएका छन्।
राजधानीसहित देशका विभिन्न ठाउँमा भएका मौसम मापन यन्त्रहरूले पछिल्लो दुई दिन तापक्रम तल झरिरहेको देखाएका छन्। उपत्यकामा पनि दुई दिनयताको न्यूनतम तापक्रम तल झरेको छ। पानी परेपछि देशका धेरै स्थानमा न्यूनतम तापक्रम माइनसमा झर्नसक्ने अनुमान छ। तराईका अधिकांश जिल्लामा शीतलहर चलेको छ। वर्षाले तराईको जनजीवन थप कठिन बनाउने देखिन्छ।
जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले शीतलहर अझै जारी रहने जनाएको छ। विज्ञका अनुसार अघिल्लो वर्षभन्दा छिटो शीतलहर सुरु हुँदा तराईका सिराहा, सप्तरी, बारालगायत स्थानमा जनजीवन प्रभावित भएको छ। ‘अघिल्ला वर्षको जस्तै शीतलहर अनुगमन गर्छौं’, पूर्वानुमान महाशाखाका प्रमुख सुमन रेग्मीले भने।
विज्ञहरूले शीतलहर मानवीय गतिविधिका कारण उत्पन्न भएको एउटा समस्याका रूपमा व्याख्या गरेका छन्। गृह मन्त्रालयले शीतलहरबाट बच्न कम्मल र दाउरा बाँड्न निर्देशन दिइसकेको छ।
पछिल्ला वर्षमा तराईका २३ जिल्लाका लागि शीतलहर ठूलो चुनौतीका रूपमा देखापरेको छ। विज्ञका अनुसार १९९० पछि मात्रै शीतलहरको समस्या देखिन थालेको हो।