सरकारलाई चर्पीको चिन्ता
काठमाडौँ, । सहरी विकास मन्त्रालयले पहिलो पटक सिंहदरबारभित्र रहेका चर्पीहरूको अवस्थाका बारेमा अनुगमन गर्ने भएको छ । मन्त्रालयले फोहरमैला व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय, आयोग, विकास समितिलगायत अन्य सरकारी निकायहरूमा रहेका चर्पीहरूको अनुगमन गर्न लागेको हो । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रमुख प्रशासनिक निकाय सिंहदरबारबाटै चर्पीको अनुगमनको काम सुरु गरिने बताए । फोहरमैला व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका विषयक क्षमता अभिवृद्धि कार्यशालाको समापनका अवसरमा सचिव थापाले भने’ फोहरमैला व्यवस्थापन कार्य सिंहदरबारका चर्पीहरूबाट सुरु गर्र्छौं ‘मुख्य सचिवको कार्यकक्षबाट सुरु गरी सबै मन्त्रालय र मातहतका निकायका चर्पीहरूको अनुगमन गरेर देशभर यसलाई विस्तार गरिन्छ ।’ उनले अनुगमन टोली बनाएर एक महिनाभित्र चर्पी अनुगमनको कार्यलाई सम्पन्न गरिने बताए । कार्यक्रममा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक डा. सुमित्र अमात्यले सभ्यता र संस्कृति बोकेको सहरलाई स्वच्छ र हराभरा बनाउन विषेश कार्यक्रम ल्याइनुपर्ने बताए । उनले सहरका उद्योग कलकारखानालाई धुवा र प्रदूषणरहित बनाउन तथा फोहरमैला व्यवस्थापनलाई व्यवसायिक उद्योगको रूपमा विकास गराउन प्राविधिक केन्द्रले प्रयास गरिरहेको भन्दै यस कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायको समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । नेपाल वातावरण पत्रकार समूह -नेफेज) को संयोजनमा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले आयोजना गरेको सो तीन दिने क्षमता अभिवृद्धि कार्यशालामा विभिन्न सञ्चार माध्यममा वातावरण बिटमा काम गर्न करिब दुइ दर्जन पत्रकारहरूको सहभागिता थियो । कार्यशालामा वातावरण क्षेत्रका विभिन्न विज्ञहरूले सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।