फेसबुकको प्रयोग गर्दै ठगि

२०७३ माघ १२ गते, बुधबार

काठमाण्डौ , १२ माघ । पेप्सीकोलाको एक अधवैशे एनसेलको पाँचसय दरका दुईवटा रिचार्ज कार्ड र लिखित निवेदन बोकेर महानगरीय अपराध महाशाखामा पुगेका थिए । उनको समस्या जति अनौठो थियो उती रोचक पनि । ती पीडितको समस्याले सामाजिक सञ्जाल दुरुपयोग गरेर हुने आर्थिक ठगीको पछिल्लो प्रवृत्तिलाई त बुझाउँछ नै, सामाजिक सञ्जाल प्रयोगकर्ताले सामान्य ख्याल नर्गदा कसरी दुस्ख पाईन्छ भन्ने पनि देखाउँछ । आइतबार बिहान खड्का थरका ति अधवैशेको फेसबुकमा फ्रेण्ड रिक्वेस्ट आयो । अमेरिकाको क्यालिफोर्नियामा बस्ने बहिनीले नै रिक्वेस्ट पठाएपछि उनले अस्विकार गर्ने कुरै थिएन । बहिनीले नयाँ फेसबुक आइडी खोलिछन् भन्ने उनले किन ठाने भने, त्यसमा अन्य कैयन आफन्त पनि म्युचुअल फ्रेण्ड थिए ।
फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गर्ने्बित्तिकै बहिनीले म्यासेन्जरमा सूचना छाडिन, दाइ मलाई एनसेलको एक हजार रुपैयाँको रिचार्ज गर्दिनुस न । बहिनीको अनुरोध सुन्ने बित्तिकै तिनले पाँचसय दरका दुईवटा रिचार्ज कार्ड किने र त्यसको पिन नम्बर पठाइदिए । त्यसको केही समयपछि नै उनको बहिनीसँग सम्र्पक भयो । अनि पो थाह पाए, बहिनीको नाममा कसैले नक्कली फेसबुक आईडी बनाएर उनलाई झुक्काएछ ।
बहिनीले थप कुरा बताएपछि उनी तर्सिए । नक्कली फेसबुक आईडी बनाएर बहिनीका कैयन आफन्तलाई रिक्वेस्ट पठाइएको रहेछ र एसेप्ट गर्ने सबैसँग नक्कली प्रयोगकर्ताले अनेकन सहयोग मागेका रहेछन् । आफ्नो हुस्सुपना सार्वजनिक होला भनेर पीडितले नाम नराख्ने सर्त राख्दै भने, ‘थोरै मात्र विचार नर्पुयाउँदा म ठगीएँ ।’
पीडितको कथा महाशाखाको साईबर सेलका निरीक्षक पशुपति रायका निम्ती नौलो कुरा थिएन । किनकी पछिल्ला महिनाहरुमा उनले फेसबुकमा नक्कली प्रोफाईल खडा गर्ने र आफन्त वा नजिकको मान्छे बनेर ठगी गर्ने प्रवृत्ति बढिरहेको पाएका छन् । एक वर्षअघि मात्रै नेपालगंजका २३ वर्षीय राहुल वाल्मिकीले नक्कली फेसबुक आईडी बनाउँदै केटीहरुसँग भर्चुअल मित्रता गाँसेर ठगीधन्दा चलाएको तथ्य सार्वजनिक भएको थियो । तिनले कसैको फेसबुक आईडी ह्याक गर्थे । फेसबुक प्रयोगकर्ताको फोटोमा अश्लिल फोटो फोटोसपमार्फत जोड्थे र त्यसैका आधारमा पैसा माग्दै ब्ल्याकमेलिङ गर्थे । राहुलले यसै गरी चालिस महिलाललाई ठगेको महाशाखाको रेकर्डमा देखिन्छ छ । पक्राउ परेका राहुल थुनामा रहेपनि सामाजिक सञ्जालको उपयोग गर्दै ठगी गर्ने यस्तै प्रवृत्ति विभिन्न शैलीमा जारी छ । निरीक्षक रायका अनुसार हिजोआज नक्कली फेसबुक आईडी खोलेर अनेकन आपत र अफर देखाउँदै फेसबुक प्रयोकर्ताको नजिकको मान्छेसँग रिचार्ज कार्ड र उस्तै परे पैसा नै माग्ने ठगीको शैली बढेको छ ।
उनले अनुसन्धानमा रहेको एउटा यस्तै मुद्दाको सार सुनाए– एउटा तन्नेरीले काठमाडौंको एक जागिरे महिलासँग नक्कली फेसबुक आईडीमार्फत मित्रता गाँसे र सम्बन्धको फाइदा उठाउँदै तीस हजार रुपैयाँ सापटी मागे ।
महाशाखाको अनुसन्धानमा नक्कली फेसबुकमार्फत ती व्यक्तीले यसैगरी कैयनलाई ठगीसकेको देखिन्छ । रायले भने, ‘ती व्यक्तीको सामाजिक सञ्जालको जालोमाथि अध्ययन भइरहेको छ । छिट्टै पक्रिन्छौं ।’
आर्थिक वर्ष २०७१र७१ मा महाशाखाले साईबर दुरुपयोग सम्बन्धी ३०९ उजुरी हेरेको थियो । जसमध्ये महाशाखाले १२ वटा मुद्दा चलाएको थियो । पछिल्लो आर्थिक वर्ष २०७२र७३ मा महाशाखामा साईबर अपराधका मुद्दामा संख्यात्मक बढोत्तरी भएको देखिन्छ । यो आर्थिक वर्षमा महाशाखाले ८ सय ३० मुद्दा हेरिसकेको छ । जसमध्ये महाशाखाले १७ मा मुद्दा नै चलाएको थियो । निरीक्षक रायले फेसबुक प्रयोगकर्ता स्वयं सचेत नभएसम्म ठगीको श्रृंखला नरोकिने बताए । उनले फेसबुकमार्फत कसैले पैसा वा अन्य सहयोग मागे फोन नै गरेर सोध्नु उपयुक्त हुने सुझाए । भने, ‘एउटा फेसबुक अकाउन्ट भएको व्यक्तिले नयाँ अकाउन्ट खोलेर रिक्वेस्ट पठायो भने शंका गर्नूस् ।’-कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार