एसिड पीडित सीमाको प्रधानमन्त्रीलाई खुल्ला पत्र
“सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।
यहाँलाई जानकारी भएकै कुरा हो, आजभन्दा करिब दुई वर्षअघि म मृत्युको मुखमा पुगेर फर्किएँ । बसन्तपुरको ए प्लस इन्स्टिच्युटमा एसएलसी परीक्षाको तयारीका लागि ट्युसन पढ्ने क्रममा मिति २०७१ फागनु १० गते ममाथि जसरी एसिड छ्यापियो र त्यसको जलन जीवनभर बोक्न परिरहेको छ, त्यो शब्दमा वर्णन गर्न सक्दिनँ । एसएलसी परीक्षाको तयारी गरिरहेको म र मेरी साथी संगीता मगरमाथि जुन पाशविक घटना घट्यो त्यसले हाम्रो रूप होइन जीवन नै कुरूप तुल्याइदियो ।
म नेपालको सम्माननीय प्रधानमन्त्रीलाई दोहो¥याएर पत्र कोर्दैछु र यो पनि थाहा छ, यो पत्रले पत्थरतुल्य सरकारको हृदयलाई कुनै असर तुल्याउँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डल’लाई मात्र होइन यहाँका शासक कसैको मनमा पनि पत्रले कुनै परिवर्तन ल्याउँदैन । अझ भनुँ, दुख्दैदुख्दैन !
भर्खरै मात्र रुपन्देहीको बुटवलमा अर्को नृशंस घटना भयो । विवाहको प्रस्ताव अस्वीकार गरेकै निहुँमा धादिङ नौविसे–१ का सुनील कोइरालाले नवलपरासी गैडाकोट–६ की तुलसा सापकोटालाई तेजाव प्रहार गरेर हत्या गरेको घटना सार्वजनिक भएको छ ।
दुई वर्षअघि छ्यापिएको तेजावले भतभती पोलिरहेको मलाई यो घटनाले पुनः तेजावको घाउमा नुनचुक दलेझैँ पीडा दियो । घटना सुनेयता म राम्ररी निदाउनसमेत सकेको छैन । म त जसोतसो हिँडिरहेको छु, मेरो घाउ क्रमशः निको हुँदैछ भनौँ । तर, मसँगै ‘एसिड अट्याक’मा परेकी संगीताको अवस्था नियाल्छु, मेरो गह भरिएर आउँछ, आँखाको चेपबाट आँसु बग्न थाल्छन् । नारी भएर जन्मलिएकोमा पश्चातापबोध हुन्छ ! तेजावले शरीर जलेपछि ऊ राम्ररी हिँडडुल गर्न सक्दिन । जिउँदो त छे तर मरेतुल्य !
बिनाअपराध घरभित्रै कैदी जीवन विताउन विवश छे विचरी ! उसका पनि त अनेकन रहर, इच्छा आकांक्षा होलान् तर मन भित्रै गुम्स्याएर बसिरहेकी छे !
सम्माननीय प्रधानमन्त्रीज्यूलाई म प्रश्न गर्न चाहन्छु– नारी भएर जन्मिएवापत यो देशमा महिलाहरू यसैगरी जिउँदै डढ्नुपर्छ हो ?
हिजोका नारीहरू सती जानुपथ्र्यो, आज तेजाव खन्याएर जिउँदै डढाइन्छन् ! हैन भने किन दुख्दैन कसैलाई यो प्रकरण ? पीडितबाहेक किन आउँदैन कसैको आँखामा आँसु ?
घटना भएको दुई–चारदिन सञ्चारमाध्यम तातेजस्तो हुन्छ । सबैलाई घाउ चह¥याए जस्तो हुन्छ । त्यसपछि बिस्तारै सेलाउँदै जान्छ र अन्तिममा पीडा पीडितलाई मात्रै बाँकी रहन्छ, आखिर यो दुर्दशा कहिलेसम्म ?
हत्यामा त मानिस एकैपटक मर्छ । तेजाव छ्याप्नु हत्या भन्दा पनि जघन्य अपराध हो । कारण पीडित जिन्दगीभरी मरिमरि बाँच्नु पर्दोरहेछ, हामी भोगिरहेका छौँ ।
कुनै पनि मुलुकमा अपराध नियन्त्रण गर्ने कानुनले हो,कानुनको कार्यान्वयनले हो । हाम्रो देशमा पनि तेजाव छ्याप्नेलाई कडा भन्दा कडा कारबाही र हत्या भन्दा ठूलो अपराधीको रूपमा सजायँ दिने व्यवस्था भइदिएको भए सायदै कसैले यो अपराध गर्ने साहस बटुल्थ्यो । म त भन्छु, तेजाव छ्याप्नेलाई फाँसी कै सजायँ होस् । जसले गर्दा तेजाव छ्याप्नु अघि उसका हात कयौंपटक लरबराओस्, मुटु काँपोस् । तर, कानुनको कमजोरीको फाइदा उठाएर अपराधीहरूले दिनहुँ अपराध गरिरहेका छन्, सरकार मुकदर्शक छ ! समाज रमिते बनिरहेको छ । हैन भने किन कम हुँदैनन् यस्तो जघन्य अपराध ?
हामीमाथि अपराध गर्ने जीवन बिक अहिले जेलमा छ । सरकारको दालभात खाएर आनन्दसँग बसिरहेको छ । न उसलाई घामले पोल्छ, न पानीमा भिज्नुपर्छ । हामी पीडितहरूचाहिँ घाउ लिएर न घाममा हिँड्न सक्छौँ, न कसैका अघिल्तिर उभिन नै सक्छौँ, हामी पो अपराधीजस्तो भयौँ ।
अर्को, हाम्रो देशमा महिलामाथि हुने हरेक घटनामा उल्टै महिलालाई नै दोषी ठहर्याइन्छ । ‘त्यसैका कारणले घटना भएको हो’ भनेर घटनालाई सामान्यिकरण गर्ने प्रयत्न गरिन्छ । यसले पुरुषको मनोबल झनै बढाएको हामी पाउँछौँ । के यो देशमा महिला भएर जन्मलिनु अपराध हो ? हैन भने महिलाले मात्र किन यस्तो नियती भोग्नुपर्छ ?
बोक्सीका नाममा हुने हरेकजसो घटना, दाइजो नल्याएररनदिएर भोग्नुपर्ने दुव्र्यवहार, यौनजन्य अपराध, घरेलु हिंसा आदिमा किन महिलामाथि मात्रै अन्याय अत्याचार हुन्छ ? अकालमा ज्यान गुमाउनुपर्छ । कहिले त लाग्छ, यो देशमा जन्म लिएर मैले गल्ती त गरिनँ ? कि महिलाको कर्म नै यस्तो हो ? यो देशमा जन्मने महिलाहरूले सधैँ यस्तै भोगिरहनुपर्छ ?
अन्तिममा,
म प्रधानमन्त्रीलगायत सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छु, महिलामाथि हुने जघन्य अपराध रोक्न भूमिका खेल्नुहोस् । अपराधीलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था गर्नुहोस् । महिलाको आँसुमाथि उभिएर सत्तामा बस्ने अधिकार कसैलाई छैन ! ”