सांस्कृतिक बलिदान दिवसलाई यसरी बुझ्ने कि ? – कुशल बोगटी

२०७४ जेष्ठ ३१ गते, बुधबार

२७० भन्दा बढी महान् सांस्कृतिक सहिदहरूको सम्मान र सांस्कृतिक योद्धा कृष्ण सेन ‘इच्छुक’ को दलाल सत्ताद्वारा २०५९ जेठ १३ मा हत्या गरिएको दिनलाई सांस्कृतिक बलिदान दिवसको रूपमा मनाउँदै आएका छाँै । हामी क्रान्तिकारी संस्कृतिकर्मीहरूले इच्छुकको आदर्शको उच्च सम्मान गर्दै उहाँले देखाउनुभएको बाटोमा निरन्तर अगाडि बढ्ने र अधुरा सपना पूरा गर्न निरन्तर क्रान्तिको यात्रामा हिँड्नु आजको आवश्यकता हो तर आज इच्छुकलाई क्रान्तिमा लाग्न र जनताको पक्षमा लेख्न निर्देशन दिने र इच्छुकले आदर्श मानेको पार्टी र त्यस पार्टीका प्रमुख नेता सरकारमा सहभागी बनेका छन् । इच्छुकको हत्या गर्ने हत्यारालाई कार्बाही गर्नुको सट्टा पुरस्कृत गर्ने दिशामा अगाडि बढेको देख्दा दुनियाँ चकित भएको छ । जुन व्यवस्थाको विरुद्ध आन्दोलन गरेर हजारौँ योद्धाहरूले जीवनको कुर्बानी गरे, त्यही व्यवस्थाको पक्षमा आज आन्दोलन विपरीत सडेगलेको, मक्किएको दलाल संसदीय व्यवस्थाका असली रक्षक भएर उल्टै क्रान्तिको विरुद्ध लागेका छन् ।
‘कहीँ नभएको जात्रा हाँडी गाउँ’ मा भनेझैँ आज हामीले देखिरहेका र भोगिरहेका छौँ । एकाथरी लेखक र कविहरू इच्छुकका सपनाहरू पूरा भएका छैनन् र ती सपनाहरू पूरा गर्न सांस्कृतिक आन्दोलनको उद्देश्य चुम्न क्रान्तिबाहेक अर्को विकल्प नभएको कुरा गरिरहेका छन् भने अर्कोथरी मान्छेहरू इच्छुकको अपमान हुनेगरी सांस्कृतिक आन्दोलनलाई संसद्वाद, आत्मसमर्पणवाद र लम्पसारवादमा लगेर सम्झौतामा विलीन गर्न उद्यत देखिएका छन् । यी दुई विपरीत विचार आज माओवादी जनयद्धका मुख्य घटकहरूबीचको अन्तर्विरोधको रूपमा सतहमा आएको छ । यहीँनेर संस्कृतिकर्मी र बौद्धिक जगत् सचेत हुन जरुरी छ । प्रचण्ड मण्डली आज संस्कृतिकर्मी इच्छुकको सपनाको हत्या गर्दै सुविधाभोगी, पुँजीवादी, दलाल र संशोधनवादी भई मूकदर्शक बनेका छन् । यिनीहरू आन्दोलनको कुरा गर्दा मुख बिगार्ने, परिवर्तनलाई अपमान गर्ने र क्रान्तिको पूरा गर्नेलाई आतङ्ककारी देख्नेसम्म भएका छन् । अर्कोतिर मोहन वैद्य नेतृत्वको पार्टीनिकट संस्कृतिकर्मीहरू आफूलाई मात्र क्रान्तिकारी देख्ने र अरू सबै गुच्चा खेलेर आएको देख्ने जड प्रवृत्तिमा जकडिएका छन् ।
सहिद कसैको व्यक्तिगत हुँदैनन् र बनाउनु पनि हुँदैन । बरु सहिद साझा र देशकै बनाउने कुरामा संघर्ष गर्नुपर्छ । आज इच्छुकलाई आफ्नो खल्तीको जस्तो बनाएर अपमान गर्ने काम भइरहेको छ, जुन कुरा निन्दनीय र आपत्तिजनक छ । सहिदको रगत पैसामा साटेर कार्यकर्ता पाल्ने दानापानी बनाउनुहँुदैन । उनीहरूको फाइदाका लागि उसले क्रान्तिमा गरेको लगानी र सांस्कृतिक आन्दोलनको मूल्यलाई नजरअन्दाज गर्नेखालको संस्कृति विकास गर्ने अफवाह फैलाइरहेका छन् । हामी यी दुईखाले प्रवृत्तिविरुद्ध विकल्प दिने संस्कृतिको विकास गर्न खोजिरहेका छौँ । सिद्धान्तको नाममा जडता र क्रान्तिको नाममा यान्त्रिकता हामीलाई मन पर्दैन । यसको विकल्पमा सिर्जनशीलता र एकीकृत जनक्रान्तिको सांस्कृतिक मूल्यबोध र सांस्कृतिक पल्टनसहित हामी जागरुक भई उठेका छौँ । यो प्रतिवद्धता पूरा गर्न सक्यौँ भने मात्र २७० भन्दा बढी संस्कृतिकर्मी सहिदहरूले देखाएको बाटो र लक्ष्य पूरा गर्न सम्भव छ । अनि मात्र देशमा जनवादी क्रान्ति पूरा भएको मानिनेछ । हामी यो लक्ष्यबाट पछाडि फर्कने वा यसकै वरिपरि घुमिरहने हो भने जनतामा फेरि धोका भएको ठहर्नेछ । त्यसैले पार्टी महासचिव विप्लवले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाले नै सांस्कृतिक आन्दोलनमा पूरा हुन बाँकी रहेका कामहरूलाई पूरा गर्नेछ । यो कार्यदिशा नै दूरदर्शी कार्यदिशा हुनेछ । एकीकृत कार्यदिशाको आधारमा नयाँ ढंगले अगाडि बढ्नुको विकल्प छैन । त्यसैले हामी संस्कृतिकर्मीहरू राष्ट्रियताका बारेमा बोल्नुपर्ने, लेख्नुपर्ने र सबैखाले वैदेशिक हस्तक्षेपका बारेमा जनवादी प्रगतिशील संस्कृतिकर्मी, बौद्धिक सर्कल एकै साथ आफ्नो मोर्चाबाट जुट्नुपर्ने बेला आएको छ । आज त्यसको खिलाफमा इच्छुकका हत्याराहरूलाई प्रमोसन गर्ने, अमूक पार्टीका केन्द्रीय सदस्यसम्म बनाउनेजस्ता घीनलाग्दा संस्कारको विकास हुन खोजिरहेको देखिन्छ । यस्ताखाले प्रवृत्तिका विरूद्ध जनयुद्धको मुख्य धाराहरू एकीकृत ढंगले संगठित भएर लड्नुको विकल्प छैन ।
हामीले आदर्श मानेका हाम्रा सांस्कृतिक अग्रजहरू आज आ–आफ्नो चोकमा पसल थापेर सांस्कृतिक मूल्यबोधको व्यापार गर्ने आदर्शलाई बेचेर आफ्नो जीविका र आयआर्जनका लागि आयमूलक पेसा त बनाउँदै छैनन् ? गम्भीरखालका आशंकाहरू देखिन थालेका छन् । यतिबेला अघिल्लो पुस्ताका केही कमरेडहरूको भूमिकामाथि हामीले शंका गर्ने खालका प्रश्नहरू खडा भएका छन् किनभने उहाँहरूको भूमिका कहीँकतै पनि पूरा गरेको देखिँदैन । कोही संशोधनवादको पुनर्जन्म गराउँदै पूरै आत्मसमर्पणवादी ढंगबाट इच्छुकको हत्या गर्ने व्यवस्थामा फर्किनुभएको छ भने केही कमरेडहरू आ–आफ्नो ढंगबाट छरिएर आन्दोलनभन्दा अलि पर छेउमा बसेर पुर्पुरोमा हात राखेर बैरागी पाराले रुन्चे स्वरमा लेखि–बोलिरहेका छन् । वास्तवमा यी सबै गलत छन् । जनयुद्धको मुख्यशक्ति अहिले पनि क्रान्तिमा छ, आन्दोलनमा छ । त्यसको नेतृत्व हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले गरेको छ भने सांस्कृतिक आन्दोलनको नेतृत्व अखिल नेपाल जनसांस्कृतिक महासंघले गरिरहेको छ । त्यसैले इच्छुकलाई सम्झनु महान् जनयुद्धको अधुरो सपना पूरा गर्न प्रण गर्नु हो । उनीहरूका हत्याराहरूलाई कार्बाही गर्ने, बलिदानी संस्कृतिको विकास र सम्मान गर्ने प्रतिबद्धता हो । र, उहाँहरूका सपना पूरा गर्न क्रान्तिबाट मात्र सम्भव छ । सांस्कृतिक बलिदानी दिवसको सन्देश पनि यही हो ।

प्रतिक्रियाहरु

[anycomment]