नवराज र उनका साथीहरु साँस्कृतिक प्रतिक्रान्तिका सहिदहरु हुन् – झपेन्द्रराज बैद्य

२०७७ जेष्ठ २९ गते, बिहीबार

महाभारत शान्ति पर्व ‘जात्या च सदृशा सर्वे कुलेन सदृशास्तथा’ मानिस जात र कुलमा समान छ ।
वाल्मीकि रामायण ः पहिले वर्ण ब्यबस्था थिएन ।
आर्यहरुले गाउने ऋचा— ‘समान मनः समानी वः आकृति समानी हृदयानी’
३००० वर्षदेखि १००० ई.पू.सम्म ऋग्वेदकाल मानिन्छ । यसबेलासम्म कुनै वर्ण ब्यबस्था देखिएको थिएन । प्रकृतिबाट मानिसहरु समान रुपमा आएका थिए । ई.पू. ३००० वर्ष अगाडि इरान अफगानिस्तान हुँदै आर्यहरु भारतमा पसेका हुन् । त्यस पछि आर्यहरुले त्यहाँका द्राबिड र अष्ट्रियनप्रति हस्तक्षेप गरे । सुरुमा जात भन्ने चीज रङ्गबाट बिभाजन भएको देखिन्छ । द्रबिडहरु काला, राता र पहेंला थिए भने आर्यहरु गोरा थिए । ई.पू. १५०० वर्षपछि मात्र वर्ण ब्यबस्था सुरु भएको मानिन्छ । यसअनुसार चार वर्णको विकास भयो ।
चार वर्ण
(१) ब्राम्हण, (२) क्षेत्री, (३) वैश्य– कृषि ब्यापार, (४) शूद्र श्रम तथा शिल्पकार गरी ४ वर्ण विभाजन भएको हो । चार वर्ण सुरुवात भएको १००० वर्षपछि मात्र छुवाछुत ब्यबस्था सुरुभएको हो । ईसाको प्रथम शताब्दीमा नेपालमा मंगोल मूलका किराँत राज्यहरु थिए । मुन्धुम किराँतहरुको शास्त्र थियो । किराँतहरुमा बर्ण ब्यबस्था थिएन । भारतमा मुसलमानले हमला गरेपछि हारेका आर्यहरु कर्णलीमा आएर बसेको देखिन्छ । यस समय हिन्दु लिच्छविबाट नेपालमा वर्ण ब्यबस्था सुरु भएको बुझिन्छ । मल्लकालमा जयस्थिति मल्लले ४ वर्ण ३६ जात बनाएका थिए । गोर्खाका राजा रामशाहले पनि जाति व्यवस्थाको विकास गरेका हुन् । वि सं १९१० मा जंगबहादुर राणालेले ल्याएको पहिलो मुलुकी ऐनमा कानुनी रुपमा छुवाछुत देखापरेको हो । भारतीय राजनीतिज्ञ डा. भीम रावल अम्बेडकरले दलित शब्दको प्रयोग गरेका थिए । नेपालमा २०२४ सालमा दलित जनविकास संगठनमा दलित शब्द प्रयोग भएको पाइन्छ । आज नेपालमा एउटै धर्म, एउटै बंश, एउटै सँस्कृति, एउटै परम्परा र एउटै भाषा, शोषण, उत्पीडन र बहिष्करणबाट कथित दलित देखापरेका छन् । के ब्राम्हण, के दलित एउटै मूलबाट आएका देखिन्छन् । पछि सामन्ती ब्यबस्थाले नै छुवाछुत ब्यबस्थालाई मलजल हालेको हो ।
आर्यमा व्यवसायमा विकास, आर्य र गैरआर्यामा द्वन्द्व र मिलन, विवाह र रक्त मिलनको समस्याबाट जातपात ब्यबस्था आएको स्पष्ट हुन्छ । गरीब र गैरआर्य तथा युद्धबन्दीलाई शूद्र भनिन थालियो । बिष्णु पुराणअनुसार शुद्रले आफ्नी स्वस्नीलाई ब्राम्हणको सेवामा अर्पण गर्नु पथ्र्याे । भौगोलिक विविधतामा पनि छुवाछुतलाई निर्धारण गरिएको थियो । तराईमा लोहारलाई पनि छुत मानिन्छ । राई लिम्बु, मगर, गुरुङ्ग, आदिका पुर्खा किरात (मंगोल) लाई एक पटक शूद्र र अर्को पटक क्षेत्री भनिन थाल्यो । पुराणअनुसार जाने हो भने शुद्र पनि ब्राम्हण भएको मानिन्छ । उपनिषद्अनुसार पारासर ऋषी चण्डाल्नीबाट, बशिष्ठ बेश्याबाट, बिश्वामित्र क्षेत्रिनीबाट, भारद्वाज शूद्रबाट र नारद दासीबाट आएको मानिन्छ । यहाँका उपल्लो जात भनिने ब्राम्हण र क्षेत्री पनि शूद्रबाट आएका हुन् । तर, जातपात भन्ने कुरा मान्छेले नै मान्छेलाई शोषण गर्न बनाएको हो । पछि मात्र शूद्रलाई दमन गर्न ब्रम्हाको मुखबाट ब्रह्मण, हातबाट क्षेत्री, जाँघबाट वैश्य र खुट्टाबाट शूद्र भन्ने अर्थ लगाएर शूद्रलाई तल्लो जात मानियो । द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्ने हो भने विकासवादी सिद्धान्तबाट नै आखेट युग हुँदै समाज अगाडि बढेको छ । आदिम साम्यवाद, दास युग, सामन्ती युग हुँदै पुँजीवादी युगमा समाज अगाडि बढेको छ । एकता संघर्ष रुपान्तरणको माध्यमबाट समाज अगाडि बढ्छ र वैज्ञानिक समाजवादमा पुग्छ । बर्ग संघर्षबाट नै नयाँ राज्यब्यबस्था आएको हुन्छ । बिना रक्तपात र सशस्त्र बिद्रोहबिना परिवर्तन आएको हुँदैन । इतिहासले नै सिद्ध गरेको छ ।
प्रेमिका लिन जाँदा सामूहिक हत्या
घटना हो जेष्ठ १० गते जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका नवराज बिक र पश्चिम रुकुम चौरजहारी निबासी सुष्मा मल्लका प्रेम विवाहमा परिणत गर्न खोज्दा नवराज बिकसहित उनका साथीहरुको ज्यान गएको छ । बेहुली लिन भनी जन्ती गएका १२ जनालाई गाउँ नै मिली घेरा हाली लखेट्दै भेरीसम्म लगेर ६ जनालाई भेरी नदीमा फालिदिएका हुन् । पहिले तीनजनाको शव भेटिएको छ भने अर्को दिन दुईजनाको शव भेटिएको छ । पाँच दिन पछि छैठौं शव भेटिएको हो । स्थानीय दुईजनाले शव नदीको किनारमा भेटाउँदा दुबै हातलाई पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो भन्ने कुरा समाचारमा आएको छ । डाक्टरी जाँच गर्दा कुनैको पनि पेट र फोक्सोमा पानी जमेको थिएन । ज्यादै दुःखद कुरा छ । यस्तो नृशंस, बरबर हत्या २१ औं शताब्दीमा नेपालमा लोकतन्त्र कै कलंकको रुपमा भएको छ । निर्मला बलात्कार हत्या काण्ड पनि नेपालमै भएको छ । बलात्कारका घटना पहिले पनि थिए । तर, शृंखलाबद्ध दर्जनौँ घटना अहिले २–३ वर्षमा मेटिएका छन् । तर, निर्मलाको हत्या प्रकरणमा अपराधी अझैसम्म सार्वजनिक हुन सकेको छैन । ठूलाबडा भनिनेबाट यस किसिमको अपराधिक घटना भएकोले अझैसम्म रहस्यमय छ । यस्तै कुमार पौडेललाई बाटामा हिँड्दा गोली हानी गरिएको हत्याले पनि सबै न्यायप्रेमीको मुटु छोएको छ । मानवअधिकार हराएको छ । यस घटनालाई मानवअधिकार आयोगले जनताको बाँच्न पाउनुपर्ने अधिकारलाई हनन् गरेको ठहर गरेको छ । अहिले उपल्लो जात भनिनेले तल्लो जात भनिनेलाई सामसाँझै नदीमा लगी ढुङ्गामुढा गरी लिङ्गसमेत काटी नृशंस हत्या गरिएको जनाइएको छ । कस्तो बिडम्बना बल छ भन्दैमा यस्तो अपराध गर्न पाइन्छ ? खै अहिलेसम्म यसबारे न त प्रधानमन्त्रीबाट केही दुःख ब्यक्त गरिएको कुरा आएको छ न त सत्ताधारी नेताहरु नै बोलेका छन् । ढिलो भए पनि आज जेष्ठ २० गते डवल नेकपाका महासचिब बिष्णु पौडलबाट यस घटनाप्रति खेद प्रकट गरिएको छ । यो सकारात्मक पक्ष हो तर दोषीलाई कारबाही गरेको हेर्न बाँकी छ । यो त साझा अपराध हो । जुन बेला पनि जसलाई पनि पर्न सक्छ । कहिले रात बडा, कहिले दिन बडा ।
यसमा मल्ल ठकुरी परिवार मात्र होइन, सिंगो दलाल पुँजीवाद जबाफदेही छ । अन्धविश्वास र कुरीतिले छुवाछुतलाई बढवा दिएको छ । समाजमा बर्गीय बिभेद छ । त्यसैले मानिसहरुले आ–आफ्नो बर्गीय दृष्टिकोणले यसलाई बुझ्छन् । यस नृशंस घटनाको सत्यतथ्य कुरा बुझ्न, भौतिकवादी दृष्टिकोण आवश्यक पर्छ । आध्यात्मवादले अन्धविश्वास बढाएर समाजमा बिकृति बिसंगति ल्याउँछ । कथित दलितप्रति लादिएको छुवाछुत मानब सिर्जित विभेद हो । यसलाई वैज्ञानिक बिचाराबाट अन्त्य गरिनु पर्छ । सृष्टिको एकै दिनमा आजको मान्छे आएको हो कि अक्टोपस, बाँदरबाट बिकसित हुँदै मान्छे आएका हुन् ? यो कुरा जान्न जरुरी छ । जीवन र जगतको जानकारी भए पछि सबै बिभेदको हल हुन्छ । के नवराज मान्छे, मान्छे होइन ? के उसको रगत तातो र रातो हुँदैन ? धेरै परको कुरा किन गरौं ? जयस्थिति मल्ल अगाडि नेपालमा दलित भन्ने बिभेद थियो ? पृथ्वीनारायण शाहले जबर्जस्त दशैं मान्न लगाएका हुन् । दशैं नमान्नेलाई मृत्युदण्ड दिएको थाहा छ कि छैन ? यो कुरा गम्भीर छ । के गौतम बुद्धले जातपात सबै समान छन् भनेका होइनन् ? यसै सन्दर्भमा जनचेतनाका लागि यस पंक्तिकारले प्यूठान जिल्लामा नेकपा मसालको आयोजनामा सहभोजमा सहभागी भएको अनुभूति गर्दा खुशी लाग्छ । ब्राह्मण र क्षेत्रीले यस प्रकारको सहभोज गराउनु आवश्यक छ । सरकारले पनि यस प्रकारको भोजको आयोजना गर्नु पर्छ ।
रुकुम सोतीमा भएको जघन्य हत्याबारे सरकारी नेकपाका प्रमुख नेताहरु किन बोल्दैनन् ? यस जघन्य हत्याको अन्तर्राष्ट्रियकरण भएर संयुक्त राष्ट्रसंघमा पुगेको छ । संघले २१ औं शताब्दीमा जातीय विभेदमा हत्या गरिनु कलंकको इतिहास हो भन्दै खेद प्रकट गरेको सुन्न पाइन्छ । एउटा प्रेम प्रसङ्ग । ‘लाने भए चाँडै आऊ, मलाई अन्यत्र दिन लागेका छन्’ भन्दै सुष्माबाट नवराजलाई फोन आयो । नवराज पनि खुशी हुँदै साथीसहित बेहुली लिन गए तर रक्तपात, वीभत्स हत्या, यो देशकै कलंक हो । कालो इतिहास हो । नवराज र उनका साथीहरु साँस्कृतिक प्रतिक्रान्तिका सहिदहरु हुन् । सरकारले उनीहरुलाई सहिद घोषणा गर्नु पर्छ । मृतकलाई हार्दिक श्रद्धान्जली ! परिवारजनलाई गहिरो समवेदना !

प्रतिक्रियाहरु

[anycomment]