पार्टीहरुबिच एकीकरण, ध्रुवीकरण र गठबन्धनबारे !

२०७८ फाल्गुन २६ गते, बिहीबार
नारायण शर्मा

अहिले नेपालमा सच्चा कम्युनिस्ट पार्टीहरुको एकीकरण, क्रान्तिकारी कम्युनिस्टहरुको ध्रुवीकरण र त्यस्ता शक्ति, व्यक्ती, संघसंस्था र समूहहरुको मोर्चावन्दीकरणको कुरा उठिरहेको छ ! एकथरी देस, जनता र क्रान्तिका पक्षपातीहरु तथा मुक्ति, प्रगति र समृद्धिका सच्चा हिमायतीहरुले त देसमा स्वतन्त्रता, समानता र स्वाभिमानको प्राप्ति, संरक्षण र सम्बर्द्धन गर्दै क्रान्तिकारी निकास र विकासको निम्ति यो कुरा गरिरहेका छन् भन्ने स्पष्ट छ ! तर यसरी नै अर्काथरी दलाल-गद्दार, तस्कर-माफिया र भ्रष्ट-दुष्ट तत्वहरुले आसन्न चुनाव र त्यसमार्फत प्राप्त हुने सत्ता र भत्तालाई केन्द्रमा राखेर विगतमा गरेका अपराध कर्महरुबाट बच्न र देस र जनतामा थप ब्रह्मलुट मच्चाउनको लागि कलुषित विचार र कुनियत लिएर यसो भनिरहेका छन् । जसले जे कुरा जुन उद्धेश्य र नियतले भनेको भए पनि अहिलेको वस्तुवादी, बैज्ञानिक र वास्तविक आवश्यकता अनुसार भनिएको कुरा नै सही, सुन्दर र क्रान्तिकारी हुन्छ !
यसरी वा यही दृष्टिले नै आज देसमा भैरहेका विभिन्न पार्टी र समूहहरुबीचका एकता, ध्रुवीकरण र गठबन्धनहरु वा नयाँ र वैकल्पिक पार्टी निर्माणका परिघटनाहरुलाई हेर्नु पर्छ र सही ठम्याइमा पुग्न सकिन्छ !
आज एकथरीले “बृहद् माओवादी एकता : आजको अनिवार्य आवश्यकता” को नारा लगाइरहेका छन् भने अर्काथरीले यस्तो आवश्यकता र सम्भाव्यता नदेखेर वा देखेपनि त्यसको औचित्य नदेखेर होला, “वाम-लोकतान्त्रिक गठबन्धन” को नारामा जोड दिइरहेका छन् । यी दुवै नाराको वैचारिक र राजनीतिक सार, सन्दर्भ र परिणाम एउटै हो । त्यो हो : वर्तमान असफल र अफाप संसदीय दलाल पुँजीवादी व्यवस्थाको रक्षा र सुदृढ गर्दै आसन्न चुनावमा बर्चस्व कायम गर्ने र सत्तामा पुगेर हालीमुहाली र हैकम चलाउने ! माओवादी एकताको नाउँमा पहिलो थरीमा पर्नेहरु शान्तिप्रकृयामा प्रवेस गरेदेखि निरन्तर सरकार र सदनमा बसेर तर मारिरहेका तरमाराहरु छन् जो माओवादीमा आएको टुटफुट, विभाजन, विघटन र विसर्जन भएको आजको अवस्थामा आफ्नो लूटको स्वर्ग भत्किने डरले आक्रान्त छन् । यसैगरी दोस्रो थरी त झन् जनयुद्धदेखि शान्तिप्रकृया हुँदै आजसम्म आउँदा आफ्ना इमान्दार क्रान्तिकारी सहयोद्धा र सहयोगीहरुलाई अविश्वास र अपमानित गर्दै, किनारा लगाउँदै, अयोग्य र असक्षम घोषित गर्दै, जेलहिरासतमा कोचाउँदै भयभीत र आतङ्कित पार्दै साम्राज्यवादी, विस्तारवादी, संसदवादी र तिनका दास र दलालहरुको विश्वास र दलाली गर्दै र उनीहरुलाई रिझाउँदै आएका दलाल र गद्दारहरु छन् । यहाँसम्म कि यो श्रेणीमा पर्नेहरु राज्यसत्तामा बसेर भ्रष्टाचार, दलाली, कमिसनखोरी र अनियमितता गरी वर्तमानका आफ्ना दस पुस्ता परसम्मका सम्बन्धितहरुलाई र भविष्यका दस पुस्तासम्मका आफ्ना सन्ततीहरुलाई कुनै काम नगरेर आरामले भोज खाँदै मोज गरेर बाँच्न पुग्ने सम्पत्ति थुपारेकाहरु पर्दछन् । तर तेस्रो थरीमा भने नितान्त भिन्न विचार र आचारका शक्ति र व्यक्तिहरु छन् ! आज झन् पछि झन् राष्ट्रिय स्वाधीनता, स्वत्व र अस्तित्व संकटमा परेको र जनताका जीविकाका सवालहरु पनि निकै जटिल र गम्भीर हुँदै गएकाले नयाँ जनवादी र बैज्ञानिक समाजवादी व्यवस्था, जहाँ राष्ट्रियता र जनजीविकालाई अर्थात् देस र तल्लो वर्गका जनताको संरक्षण र सम्बर्द्धनको प्रश्नलाई बढी जोड दिइएको हुन्छ, लाई केन्द्रमा राखेर आन्दोलन अघि बढाउने उद्देश्यले क्रान्तिको लागि आधारभूत रुपमा जीवनव्यवहारमा समेत मालेमावाद मानेर लागू गर्ने इमान्दार, स्वच्छ, स्वाभिमानी र आलोचनात्मक चेत भएका क्रान्तिकारी ( भन्ने मात्र होइन, क्रान्ती गर्ने) शक्ति, व्यक्ति र समूहहरुसँगको एकीकरण र ध्रुवीकरणसँगै रणनीतिक र कार्यनीतिक क्रान्तिकारी मोर्चा निर्माण गर्ने कुरा गरिरहेछन् । उनीहरुको प्रथम जोड सिद्धान्तनिष्ठ कम्युनिस्ट क्रान्तिकारीहरु बिच व्यापक छलफल भै बुझाइमा र ब्यवहारमा मूलतः समानता भएमा एकता नै गर्ने र बाँकी भिन्न मत-बुझाइ भएकाहरुसँग पनि छलफल गर्दै, निष्कर्ष निकाल्दै निरन्तर एकीकरण र ध्रुवीकरण गर्दै जानेमा रहेको छ ।
वास्तवमा सच्चा भनिएका कम्युनिस्टहरुको एकीकरण र ध्रुवीकरणसँगै शुद्धीकरण, सर्वहाराकरण र क्रान्तिकारीकरण गर्नु जरुरी छ । क्रान्तिकारीकरण गर्ने भनेको क्रान्तिकारी सिद्धान्तलाई दस्तावेजीकरण र कोरा प्रशिक्षण मात्र होइन । क्रान्तिकारीकरण भनेको त सिद्धान्तको आत्मसातीकरण र त्यसको व्यवहारमा दृढतापूर्वक कार्यान्वयन हो ! आज कम्युनिस्ट भनिएका पार्टीहरुमा मात्र होइन, लोकतान्त्रिक भनिने पार्टीहरुमा समेत तानाशाहीकरणको मात्रा र प्रकृया निरन्तर बढिरहेको छ ! यो अवस्थामा गैरकम्युनिष्ट पार्टीहरुलाई समेत जनवादीकरण र कम्युनिस्ट पार्टीहरुलाई त झन् सामूहिकीकरण र कम्युनीकरण नै गर्नु अत्यावश्यक छ । अन्यथा कम्युनिस्ट पार्टीहरुको पनि बुर्जुवाकरण र प्रतिक्रियावादीकरण हुने खतरा छ । तसर्थ क्रान्तिकारीहरुको एकीकरण र ध्रुवीकरणका सन्दर्भमा यी विविध पक्षमा विशेष ध्यान दिनु जरुरी छ ।
एकीकरण र ध्रुवीकरण तत्काल हुन नसक्ने शक्ति र समूहहरुका बिचमा पनि एकीकरण हुने उद्देश्य राखेर तत्काललाई मुद्दा विशेषमा संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्यात्मक गठबन्धन बनाएर जानु आवश्यक छ । यसक्रममा एकले अर्काका विचार र बुझाइका साथै व्यवहारलाई समेत बुझ्ने, भावनात्मक एकता बढ्ने र प्राप्त सफलताबाट एकताको औचित्य पुष्टि भै उत्साह र प्रेरणा मिल्ने हुन्छ । त्यसैले गठबन्धन निर्माण र परिचालनको प्रश्नमा कम्युनिस्ट पार्टी र नेताहरुबाट हाल देखाइएको उदासीनता र संकीर्णतालाई पूरै खारेज गरेमात्र एकीकरणको उद्देश्यले गरिने गठबन्धन सार्थक र सफल हुन्छ भन्ने देखिन्छ ।
हुन त अन्तर्विरोध सार्वभौम हुछ ! त्यसो हुनाले अलग-अलग वा विपरीत शक्ति, व्यक्ति र प्रवृत्तिहरुबीचमा संघर्ष अनिवार्य र अपरिहार्य पनि हुन्छ ! यसरी नै समाजमा समेत हुने र नहुने वर्गहरु भएको र पार्टी र मोर्चा वा कुनै संघसंस्थाहरु समाजका विभिन्न समुदायहरुबाटै बनेका हुनाले पार्टी र मोर्चाहरुमा हुने र नहुने, शक्तिशाली र कमजोर जस्ता दुई विपरीत शक्ति, व्यक्ति र प्रवृत्तिबिचमा अन्तर्विरोध हुनु स्वाभाविक हुन्छ । साथै न्याय, समानता, सम्मान, स्वतन्त्रता र समृद्धीको अभावले हरेक व्यक्ति-शक्ति, संघ-संस्था, समूह-समुदाय, समाज-राज्य र विश्व-ब्रह्माण्ड जताततै वाद, विवाद र संवादका अर्थात एकता-संघर्ष-रुपान्तरण र नयाँ आधारमा नयाँ एकता गर्ने प्रकृयाहरु सल्बलाएका हुन्छन् । यति मात्र होइन, एउटै पार्टीमा पनि विभिन्न पृष्ठभूमि, परिवेश र स्कूलिङबाट आएका हुनाले पनि तिनले आआफ्ना क्षेत्र, स्वरुप र स्तरमा बहस सिर्जना गर्दै कतिपय बेला त बेदखली, वैमनस्य र विभाजन पनि बढाउँछन् ! यस प्रकृयाबाट हाम्रो देस नेपाल, हामी नेपाली, हाम्रो राजनीति र हाम्रा नेता-कार्यकर्ताहरु अछुतो रहने त कुरै भएन, बरु अलि बढी नै प्रभावित भएर स्थिति पनि बढी नै संवेदनशील, गम्भीर र विष्फोटक भएको सत्य हो । आज नेपालजस्ता गरीब, पिछडिएका र शोषित-पीडित राष्ट्रहरु सामन्तवाद र साम्राज्यवादबाट उन्मुक्ति पाउने भीषण आन्दोलनको सन्दर्भसँगै मूल नेतृत्वको वैचारिक विचलन, राजनीतिक आत्मसमर्पण र साँस्कृतिक विकृतिकरणका कारण धोका र धक्का खाएर सिङ्गो देस र जनता जीवन-मरणको संघर्षका क्रममा छट्पटाइरहेको अवस्था छ । द्वन्द्वोत्तरकालीन संक्रमणको चरणबाट गुजृरहेका हाम्रो जस्ता राष्ट्रहरुमा कुनै पनि पार्टी वा नेताको, राज्य वा शासकको अथवा समाज वा अगुवाको देस र जनतालाई परिवर्तन र अग्रगमनको प्रकृयामा लाने कुनै निश्चित लक्ष-उद्देश्य वा स्पष्ट मिसन-भिजन र जिम्मेवारी बोध-बहन भएको पाइएन । जे जती र जस्तो भएको माने पनि त्यसप्रति उनीहरु पूर्ण इमान्दार र प्रयत्नशील नभएका कारणले नै आज नेपालको यस्तो दर्दनाक, संवेदनशील, गम्भीर र विष्फोटक अवस्था बन्न गएको हो ।
जे होस् , कुनै वस्तु, व्यक्ति, विधि, विधान, व्यवस्था, विचार र विश्व नै अत्यन्त संवेदनशील, गम्भीर र विष्फोटक अवस्थामा पुग्ने कुरा एक प्रकारले राम्रो हो भने अर्कों प्रकारले नराम्रो पनि ! यदी यो विष्फोटबाट विद्रोह हुन्छ र क्रान्तिको जन्म हुन्छ अनि जनता र राष्ट्र स्वतन्त्र र स्वाधीन भै विकसित र समृद्ध बन्छन् भने त्यो सकारात्मक र स्वागतयोग्य विष्फोट हो । यसरी नै कुनै विष्फोटबाट प्रतिक्रान्ति र प्रतिगमन भै देस र जनतामाथि दमन र दासताको प्रक्रियामा तीव्रता र गुणात्मकता आउँछ भने त्यो नितान्त नकारात्मक र निषेधयोग्य विष्फोट हो । हुन त जुन कुरा कुनै एक वर्ग वा पक्षलाई नराम्रो, खराब र विकर्षक लाग्छ, त्यही कुरा कुनै अर्को वर्ग वा पक्षलाई राम्रो, असल र आकर्षक लाग्ने गर्दछ ! यो कुरा सम्बन्धित व्यक्ति, वर्ग वा पक्षको सिद्धान्त, सोंच, शैली, संस्कार र संस्कृतिमा भर पर्दछ ! फेरिपनि के कुरा त्यत्तिकै सत्य, अनिवार्य र अपरिहार्य छ भने अन्ततः त्यो प्रतिक्रान्ति र प्रतिगमनका कारण जनतामा उत्पन्न आम असन्तुष्टि, आक्रोश र आक्रमणबाट वा विरोध, अवरोध र प्रतिरोधबाट निश्चित रुपमा पुन: क्रान्ति, झन् ठूलो क्रान्ति र महाक्रान्ति हुँदै विश्वक्रान्तिसम्म पुग्ने हुन्छ । त्यसैले अहिले नेपालमा चलिरहेको क्रान्तिकारी एकता, ध्रुवीकरण र गठबन्धनको चर्चा र प्रयासलाई सफल पार्नु र सार्थक निष्कर्षमा पुराउनु नै पर्दछ । यो अहिले इतिहासले सच्चा क्रान्तिकारीहरुलाई सुम्पेको ऐतिहासिक जिम्मेवारी हो । नेपाली क्रान्तिकारी कम्युनिस्टहरुले यस्लाई तीव्रता र तदारुकताका साथ अविलम्ब सम्पन्न गर्नु जरुरी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु