आगामी निर्वाचन र माओवादी केन्द्रमा देखिएको संकट
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालैको गोदावरी भेलामा देखाउनु भएको चिढचिढाहटले सो पार्टी गंभिर संकटमा पर्दै गएको स्पष्ट गरेको छ । उहाँले केही दिन यता आफ्नो पार्टीमा गुटबन्दी बढेको पनि टिप्पणीगर्न थाल्नुभएको छ । देशको क्रान्तिकारी शक्तिसँग उहाँको सम्बन्ध बिच्छेद छ । उहाँले बेलाबखत पूर्ब माओवादीहरुका बीचमा पार्टी एकताको कुरागर्ने गरेपनि वास्तवमा त्यो उहाँकै लागि मनको लड्डु भनेजस्तो भएको छ । किनकी पूर्ब माओवादीका प्रमुख नेताहरु क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य र नेकपाका महासचिव नेत्रबिक्रम चन्दले माओवादी केन्द्र प्रतिक्रियावादी कित्तामा गैसकेको र सो पार्टीका अध्यक्ष दाहाल नेपाली कांग्रेसको मुख्य मतियार भएको बताइसक्नु भएको छ । उहाँहरुले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई नेपाली कांग्रेससँगको सहकार्य परित्याग गरेर यसअघिका सबैखाले गल्ती र कमी कमजोरीप्रति सार्बजनिकरुपले क्षमायाचनागर्दै आफूहरुको कित्तामा आएको खण्डमा नयाँ ढंगले बिचारगर्न सकिने बताउनु भएको छ । पूर्ब माओवादी नेता डा. बाबुराम भट्टराईले कम्युनिष्ट राजनीतिनै परित्याग गरिसकेको र पूँजीवादी समाजवादी पार्टी गठनगर्न बिभिन्न प्रयास गरिरहेको अवस्था छ । उहाँले बिभिन्न सार्बजनिक कार्यक्रमहरुमार्फत माओवादी केन्द्रका अध्यक्ष दाहाललाई कम्युनिष्ट नामधारी पार्टी छाडेर आफ्नो अवधारणा अनुसारको समाजवादी पार्टीमा आउने भएको खण्डमा पार्टी एकतागर्न सकिने स्पष्ट गर्नुभएको छ । पार्टी एकताको बहानामा एमालेमा पसेर त्यसलाई तोडफोडगर्ने काम गरेका कारण एमाले र माओवादी केन्द्र नदीका दुई किनाराजस्ता भएका छन् । माधव नेपालहरुलाई एमालेबाट फुटाएर एकीकृत समाजवादी बनाउन भरमग्दूर सहयोग गरेपनि सो समूहलेसमेत माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नगर्ने घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चालाई समेत लगेर सरकारी पाँचदलीय गठबन्दन बनाइएकोमा एमसीसी प्रकरणलेगर्दा सो मोर्चाले सरकारी गठबन्दन छाड्नुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । सत्ता गठबन्दन र एमसीसी परियोजनाका बीचमा सौदाबाजी गरिएपछि सो प्रकरणले माओवादी केन्द्रलाई आफ्ना मतदाताका माझमा मुखदेखाउन कठीन हुने अवस्था सिर्जना गरेको छ । सो प्रकरणलेगर्दा नै माओवादी केन्द्रभित्र स्पष्टरुपले दुई धार देखिएको छ । सो पार्टी तत्काल बिभाजन नभए पनि नेताहरुका बीचमा बैचारिक बिभाजनको बिजारोपण भएको छ । आगामी जेठ २० गतेको बैठकसम्ममा सो पार्टीमा सानो ठूलो बिभाजन आउने प्रबल संभावना छ । हुन त माओवादी केन्द्रको मुख्य नेतृत्वमा माओवादीतर्फका नेता दाहाल रहेपनि सो पार्टीमा पूर्ब एकताकेन्द्र मसालको बाहुल्यता रहेको स्पष्ट छ । त्यसपछि अन्य पार्टीबाट आएकाहरुको गणना हुन्छ । त्यसैले अब उम्मेदवार छनोटदेखि हरेक कुरामा पार्टीमा मतान्तर हुने अवस्थाको सिर्जना भएको छ । सो पार्टीका अध्यक्ष दाहालले हालै केन्द्रिय समितिका सदस्यहरुको मनोनयनमा देखाउनु भएको परिवारवाद ज्वाई, छोरी काण्डले पनि ठूलो बबण्डर सिर्जना गरेको छ । उहाँले युवालाई पार्टीमा प्राथमिकता दिनेभन्दै केही आफू निकटका जनबर्गिय संगठनका नेताहरुलाई अगाडि बढाउँदा पार्टीमा लामो समयदेखि योगदानगर्दै आएका कतिपय नेताहरु पाखा लाग्ने अवस्था सिर्जना भएको छ । पार्टीका पदाधिकारी छनोटगर्ने जिम्मा लिनुभएका दाहालले त्यसैमा भित्रभित्रै नेताहरुका बीचमा खेल्न थालेपछि पार्टीमा अस्थिरता बढेको स्पष्ट छ । समयमा पार्टीका पदाधिकारीहरुको समेत चयनगर्न नसक्ने माओवादी केन्द्रको आन्तरिक एकता र सुसंगठन कस्तो होला ? सहजै अनुमानगर्न सकिन्छ । अध्यक्ष दाहाल आफै सो अस्थिरतालाई गुटबन्दीको संज्ञा दिन थाल्नुभएको छ । वास्तवमा आफै पार्टीको अध्यक्ष भएको अवस्थामा पनि गुटबन्दीगर्नेमा उहाँनै माहिर ठानिनु हुन्छ । यस्तो अवस्थामा सहकार्यमा रहेको नेपाली कांग्रेसलेसमेत आगामी निर्वाचनमा चुनावी तालमेलगर्ने कुराको कुनै सुनिश्चितता नगर्दा माओवादी केन्द्रलाई ठूलो मार परेको देखिएको छ । आगामी बैशाख ३० गते गर्नेगरी सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको छ । त्यसैगरी आगामी मंसिरसम्ममा प्रदेश र केन्द्रको निर्वाचन गराउनैपर्ने बाध्यात्मक अवस्था पनि छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर यही फागुन २९ गतेदेखि एक महिने चुनावी अभियानको घोषणा गरेको छ । त्यसैगरी हाल संसदको सबैभन्दा ठूलो दल एमालेले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ । उसले पनि आफू एक्लै निर्वाचन लड्ने घोषणा गरेको छ । यस्तो अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीले नेपाली कांग्रेससँग चुनावी तामेलका लागि अरण्य रोदन गरिरहेका छन् । उनीहरुले बृहत् बाम एकता र बाम तालमेलकाबारेमा सामान्य प्रयास त के एक शब्द पनि उच्चारण गरिरहेका छैनन् । गत १५ गते जतिबेला एमसीसीको बिवाद चरम उत्कर्षमा पुगेर निर्णायक अवस्थामा प्रबेशगर्दै थियो, त्यतिबेला माओवादी केन्द्रले आठ बाम समूहको आन्दोलनको समर्थनगर्दै सरकारबाट बाहिरिएको भए, सो पार्टीलाई आगामी निर्वाचनमा दुई तिहाइ ल्याउनबाट कोही कसैले रोक्न सक्ने थिएन । नभएपनि अत्यधिक मत प्राप्त हुने अवस्था थियो । त्यसले माओवादी केन्द्रको भाबि राजनीतिसमेत राम्रो हुन्थ्यो । त्यतिबेला राजमोले सत्ता गठबन्दन र सरकारलाई दिएको समर्थन छाडेर छलाङ मारेका कारण अब भाबि निर्वाचनमा उसको अवस्था अनपेक्षित हुने निश्चित छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले आगामी सबै निर्वाचनहरुमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर अर्को चरण पनि नेकांकै नेतृत्वमा सरकारमा रहिरहने जुन सपना देखेका छन् । त्यो एक प्रकारको नेपाली कांग्रेससँगको आत्मसमर्पण हो । सो कदम दुबै पार्टीका लागि आत्मघाति हुने निश्चित छ । तर उनीहरुले पार्टीको भाबि राजनीतिभन्दा पनि सत्तालाई प्रमुखता दिएका कारण अन्य पार्टी र मतदाताले पनि त्यसप्रति आफ्नो ध्यान आकर्षित गरेका छन् । गत निर्वाचनमासमेत माओवादी केन्द्रले बीचैमा आफूहरुसँगको सहकार्य त्यागेर एमालेसँग सहकार्यगर्न जाँदा पछाडि परेको नेपाली कांग्रेसले यसपटक त्यो गल्ती नदोहो¥याउने संभावना प्रबल देखिन्छ । चार दलीय गठबन्दनकाबीचमा आगामी निर्वाचनमा चुनावी तालमेल भएपनि नेपाली कांग्रेसले आफू कमजोर भएका ठाउँमामात्र अरुलाई स्थान दिने भनेको छ । जहाँ नेपाली कांग्रेससमेत कमजोर छभने त्यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीजस्ता पार्टीहरुले बिजय प्राप्तगर्ने संभावना रहँदैन । निर्वाचनका दृष्टिले नेपाली कांग्रेसको प्रमुख प्रतिश्पर्धी मानिएको एमालेले एक्लै निर्वाचन लड्ने र बहुमत ल्याएर एकमना सरकार बनाउने आँट गरेको अवस्थामा नेपाली कांग्रेसका लागि माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतको बैशाखी टेक्नु पनि त्यति सोभनीय नहुन सक्छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हालैको केन्द्रिय समितिको एक बैठकमा सबै ठाउँमा मिल्न सकिँदैन भनेपनि जति ठाउँमा सकिन्छ मिलेर जाने बताउनु भएको थियो । सो बैठकमा उहाँले नेताहरुलाई आफ्नो पार्टीको वास्तविक शक्तिको हेक्का राख्न पनि सुझाउनु भएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली कांग्रेससँग चुनावी तालमेलका लागि अथक प्रयास गरिरहेका छन्भने नेपाली कांग्रेसका नेताहरु पनि एक्लै चुनाव लड्ने कुरामा अथक प्रयास गरिरहेका छन् । कांग्रेसले आगामी चुनावमा गठबन्धन गर्नेबारे कुनै सहमति नभएको जनाइ सकेको छ । नेकांका नेताहरुले पार्टीको ग्राउन्ड बुझेपछिमात्रै गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे त्यो पनि केन्द्रीय कार्यसमितिमा पुन छलफल गरेरमात्र निर्णयमा पुग्ने बताउनु भएको छ । त्यो भनेको अत्यन्त दुर्लभ कुरा हो । यदि आगामी निर्वाचनमा चारदलीय गठबन्दनकाबीचमा चुनावी तालमेल हुनेभएको अवस्थामा पनि चुनावी एजेन्डाका बिषयमा बिवाद हुने त्यतिकै संभावना छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको खिचातानीले वर्तमान राजनीतिक ब्यवस्था माथिनै प्रश्न उठाउने काम गरेको छ । आजको प्रमुख बिचारणिय बिषयनै यही हो ।