रासस ५३ औँ वर्षमा प्रवेश
काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) आज ५३ औँ वर्षमा प्रवेश गरेको छ ।देशको एक मात्र समाचार संस्थाका रूपमा जनतालाई सूचना र समाचारबाट सुसूचित गर्दै आएको राससलाइ नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई एकीकृत गरी विसं २०१८ फागुन ७ गते रासस बनाइएको थियो । स्थापनाकालदेखि निरन्तररूपमा समाचार दिँदै आएको राससले हाल बिहान ६:३० देखि राति ११ बजेसम्म आफ्नो बुलेटिनबाट प्रत्येक घन्टा समाचार प्रवाह गर्दै आएको छ ।नेपालका ७५ वटै जिल्लाबाट सङ्कलित समाचार र भूउपग्रहका माध्यमबाट एपी, एएफपी, सिन्ह्वा, पिटिआई, क्योदो, एपिपी, बिएसएसजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाबाट प्राप्त समाचार आफ्नो स्थापनाकालदेखि नै राससले विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ ।देशविदेशका आधिकारिक र सत्यतथ्य समाचार सम्प्रेषणका साथै राससले आलेख समाचार, श्रव्यसामग्रीका साथै देशविदेशका समाचारमूलक तस्बिर सेवा पनि उपलब्ध गराउँदै आएको छ।
राष्ट्रकै एक सूचना केन्द्रका रूपमा आफूलाई विस्तार गर्न लागेको राससबाट निकट भविष्यमा श्रव्यदृश्य सेवासमेत सञ्चालनमा ल्याउने तयारी भएको छ । विविधीकरण, सुदृढीकरण र व्यावसायीकरण गर्ने योजनाअनुसार राससबाट विभिन्न मातृ भाषामा पनि समाचार सेवा प्रकाशन गरिने लक्ष्य छ । विगतमा नेपाली तथा अङ्ग्रेजीमा दैनिक पाँच पटक बुलेटिन प्रकाशन गर्दै आएको राससले २०६३ साल कात्तिकदेखि बिहानदेखि रातिसम्म प्रत्येक घन्टाको अन्तरालमा १७ पटक समाचार प्रवाह गरिरहेको छ ।विसं २०१६ मा स्थापित ‘नेपाल सम्वाद समिति’ र विसं २०१७ मा स्थापित ‘सगरमाथा सम्वाद समिति’ लाई एकीकृत गरी स्थापित राष्ट्रिय सम्वाद समितिले विसं २०१८ फागुन ७ गतेदेखि आफ्नो सेवा प्रारम्भ गरेको हो, जो अविच्छिन्न रूपमा जारी छ ।यस समितिका संस्थापक सञ्चालक समितिका सदस्यमा रामराज पौड्याल, गोविन्द वियोगी र मणिन्द्रराज श्रेष्ठ हुनुहुन्थ्यो । राष्ट्रिय सम्वाद समिति ऐन – २०१९ मा २०२८ सालमा भएको पहिलो संशोधनले ‘सम्वाद’ शब्दको सट्टा ‘समाचार’ प्रयोग गरी यस संस्थालाई राष्ट्रिय समाचार समिति(रासस)को नाम दिएको हो ।
काठमाडौँको खिचापोखरीस्थित एक निजी घरमा रहेको कार्यालयबाट सेवा प्रारम्भ गरेको राससले सुरुका दिनमा गौँडा गोश्वाराबाट आएका सूचनाका आधारमा बाढी, पहिरो, आगलागी, महामारीका घटना र विभिन्न जिल्लाबाट राजधानी आउने यात्रीसँग सोधपुछ गर्दै खबर सङ्कलन गरी टाइपपेपरमा बुलेटिन निकालेर वितरण गर्ने गरेको थियो । प्रारम्भमा मासिक रू तीन हजार बजेट रहेको सो संस्थामा छ÷सात कर्मचारीले सेवा पुर्याएका थिए ।
देशव्यापी समाचार कार्यसञ्जाल फैलाउने क्रममा राससद्वारा विकास क्षेत्रका साथै प्रायः सबै अञ्चलमा अञ्चल कार्यालय र केही जिल्लामा जिल्ला कार्यालय स्थापना गरिएका छन् भने ७५ वटै जिल्ला र केही देशका राजधानीमा समेत स्थानीय समाचारदाता राखेर समाचार सङ्कलन र सम्प्रेषण गर्ने व्यवस्था मिलाएको छ ।सङ्कलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारलाई हाल राससले कम्प्युटर नेटवर्कमार्फत रेडियो, टेलिभिजनलगायत राष्ट्रिय र मोफसलका समाचारपत्रलाई समाचार र तस्बिर उपलब्ध गराउँदै आएको छ । राससमा हाल कार्यरत छ महिलासहित ५७ पत्रकार, ७५ कर्मचारी र ११४ जिल्ला समाचारदाताको सहकार्यमा सम्पादित समाचारलाई देशभरका १४६ भन्दा बढी सञ्चारमाध्यमले ग्राहक बनी आआफ्नो आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, तस्बिर र श्रव्य सामग्री प्राप्त गर्दै आएका छन् ।