नेपालको राष्ट्रिय राजनीतिमा प्रयोगवादीहरुको बिगबिगी
नेपालको राष्ट्रिय राजनीतिमा सबैले चिनेका अस्थिर पात्र डा. बाबुराम भट्टराईले नवगठित नेपाल समाजवादी पार्टीको एक कार्यक्रममा ‘आपूmले नेपालको राजनीतिमा केही प्रयोग गरिसकेको र केही कुराहरु प्रयोग गर्ने तयारीमा रहेको’ बताएको एक हप्ता पुग्दा नपुग्दै उहाँ आफैँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट प्रयोग हुनुभएको छ । कम्युनिष्ट राजनीति परित्यागको सार्वजनिक घोषणा गर्नुभएका डा. भट्टराईले चुनाव जित्नकै लागि फेरि कम्युनिष्ट पार्टीको अन्तर्र्राष्ट्रिय चिन्ह हँसिया हथौडाको सहारा लिनु धेरैका लागि हँसिमजाकको विषय भएको छ । त्यसो त तत्कालीन संयुक्त जनमोर्चाकै समयमा हँसिया हथौडाको तल तारा चिन्ह जोड्दा पनि उहाँ आलोचनाको पात्र हुनुभएको थियो । जतिबेला उहाँलाई कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय चिन्ह बिगार्ने प्रयास गरेको अरोप लागेको थियो । पछिल्लो समयमा पनि उहाँहरुले नै माओवादी केन्द्रको चुनाव चिन्ह बनाउने नाममा हँसिया हथौडा चिन्हलाई गोलाकारभित्र पारेर ‘कैद गर्ने’ प्रयास गर्नुभएको थियो । हालसम्म पनि माओवादी केन्द्रको चुनाव चिन्हका नाममा हँसिया हथौडालाई गोलाकारभित्र कैद गर्ने काम भैरहेकै छ । डा. भट्टराईले माओवादी केन्द्रसँग मिलेर हँसिया हथौडा चिन्ह र सोहीअनुसारको संयुक्त चुनावी घोषणापत्रबाट आफ्नो पार्टीलाई चुनाव लडाउनु एक प्रकारले उहाँको ठूलो असफलता र राजनीतिक आत्महत्या हो । त्यसैगरी उहाँको नेपाल समाजवादी पार्टी बिघटन गरे बराबरको कुरा हो । कुनै पार्टी खोले पनि त्यसलाई अगाडि बढाउन नसक्ने, अरुको पार्टीमा टाँसिए पनि सो पार्टीमा घुलमिल हुन नसक्ने डा. भट्टराईलाई यसअघि नै धेरै शुभचिन्तकहरुले ‘राजनीतिबाट सन्यास’ लिन सुझाव पनि दिएका हुन् । जसपाबाट अनुशासनहीन भएको अरोप लगाएर निष्काशन गरिएपछि धेरैले उहाँप्रति चिन्ता र चासो ब्यक्त गरेका थिए ।
वास्तवमा डा. भट्टराइका लागि उपयुक्त हुने क्षेत्र पत्रकारिता हो । जहाँ जतिवटा राजनीतिक प्रयोग गरे पनि केही फरक पर्दैन । बिटिश प्रधानमन्त्री बोरिस जोनसन पनि आफ्नो पूर्ब पेशा पत्रकारितामै फर्कने कुराहरु आएका छन्् । उहाँले सन् १९८७ मा द टाइम्सका लागि एक रिपोर्टरका रुपमा काम गर्नु भएको थियो । त्यसपछि उहाँले डेली टेलिग्राफको लागि काम गर्न थाल्नुभयो । जहाँ उहाँले १९८९–९४ सम्म संवाददाताको रुपमा र पछि सहायक सम्पादकका रुपमा काम गर्नु भएको थियो । १९९४ मा जोनसन द स्पेक्टेटर को लागि एक राजनीतिक स्तम्भकार बन्नुभएको थियोभने १९९९ मा उहाँलाई पत्रिकाको सम्पादक बनाइएको थियो । जहाँ उहाँले सन् २००५ सम्म काम गर्नुभयो । त्यसैगरी डा. भट्टराई ‘झिल्को’ र ‘जनादेश’मा चर्चित पत्रकार हुनुभएको थियो । करिव १४ वर्षको प्रयोगपछि उहाँले त्यसलाई पनि छाड्नु भयो । त्यसबीचमा उहाँले जनयुद्धको प्रयोग गर्नुभएको थियो । जनयुद्ध उत्कर्षमा पुग्नै लागेको बेला उहाँले त्यसलाई पनि छाडि दिनुभयो । त्यसपछि संसदीय राजनीतिमा प्रबेश गरेर माओवादी पार्टीमार्फत् देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बन्नुभएको थियो । त्यसबाट हटेपछि उहाँ आफैँ कहिल्यै प्रधानमन्त्री नबन्ने बाटोतिर लाग्नुभयो । हाल उहाँले ‘पार्टी गैरकम्युनिष्ट र चुनाव चिन्ह हँसिया हथौडा’को जुन प्रयोग थाल्नुभएको छ, यथार्थमा त्यसले उहाँलाई ठूलो राजनीतिक दुर्घटनामा पु¥याउने छ । यो उहाँजस्ता निरन्तर प्रयोगवादी नेताले समयमा नै सोच्न सक्नुपर्ने कुरा हो । हुन त पुष्पकमल दाहाल र माधव नेपालका लागि पनि गैरकम्युनिष्ट बन्ने ठूलो रहर देखिन्छ । यथार्थमा उहाँहरुको सोचाई, बोलाई र काम गराई सबै कम्युनिष्ट बिरोधी रहेका छन्् । माधव नेपालले ०४६ को राजनीतिक परिवर्तनबाट देशमा बहुदलीय संसदीय ब्यवस्था पुनस्र्थापना भएको केही वर्षपछिन्ै आपूm एमालेको महासचिव भएको समयमा पार्टीको नामबाट कम्युनिष्ट शब्द हटाउने प्रयास गर्नुभएको थियो । त्यतिबेला नै एमालेको नाम फेरेर ‘सामाजिक जनवादी पार्टी’ राख्ने कुराहरु आएका थिए । त्यसैगरी सोही समयमा पार्टीले मान्दै आएको माओ विचारधारा बैठकबाट औपचारिक निर्णय गराएर छाड्ने काम भएको थियो । अमेरिकी राजदूत आफ्नो पार्टी कार्यालयमा आउने भएपछि पार्टी कार्यालयमा रहेका माक्र्स र ऐङ्गेल्सलगायतका अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताहरुका तस्विर हटाउने काम पनि उहाँलेनै गर्नुभएको थियो । त्यसपछि उहाँ समयक्रममा राजाकहाँ प्रधानमन्त्रीका लागि दर्खास्त हाल्न पनि जानुभएकै हो । त्यसैले उहाँलाई अब पनि समाजवादी पार्टीका नाममा गैरकम्युनिष्ट पार्टीमा गोलबद्ध गर्न सकिने अवस्था छ ।
हाल एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने जुन प्रचार गरेको छ, त्यो पनि यसअघि ०७४ सालको निर्वाचनमा प्रयोग भैसकेको बिधि हो । जतिबेला एमाले र माओवादी केन्द्र निर्वाचन अघि सहकार्य र त्यसपछि पार्टी एकतागर्ने सहमति गर्दा अत्यधिक मत आएको थियो । त्यतिबेला नेपाली जनताले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई अत्यधिक मत दिएर झण्डै बहुमतको अवस्थामा पु¥याएका थिए । तर, पनि कम्युनिष्ट पार्टीहरुको मात्र सरकार गठन नगरी मधेशी दललाई प्रबेश गराएर गैरकम्युनिष्ट सरकार बनाउने काम भएको थियो । पछि एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपामा अध्यक्षहरुले नै गुटबन्दी गर्दा बहुमतको सरकार ढल्नुका साथै कम्युनिष्टहरुलाई बहुमत दिनु बेक्कार रहेछ भन्ने मान्यता स्थापित गराउने काम भएको थियो । त्यतिबेला पनि पुष्पकमल दाहालहरुबाट एमालेमा पसेर माओवाद छाड्ने र कम्युनिष्टलाई बहुमत दिनु नहुने रहेछ भन्ने मान्यता स्थापित गराउने प्रयास भएको धेरैले अनुभव गरेका थिए । एमाले र माओवादी केन्द्र बिभाजन भएर आ–आफ्नो बाटो लागेपछि भएको पहिलो बैठकमै अध्यक्षमार्फत् माओवादी केन्द्रको नाम परिवर्तन गर्ने प्रस्ताव आएको थियो । त्यतिबेला एमालेबाट माधव नेपालहरु फुटेर आएपछि पार्टी एकताका नाममा पार्टीको नाम परिवर्तन गर्ने भनिएको थियो । तर, पछिल्लो समयमा माधव नेपालहरुले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्न इन्कार गर्नुभएको थियो । अध्यक्ष दाहालको रहस्यमय दिल्ली भ्रमणपछि दाहालका साथै नेपाल, गौतम र भट्टराईलाई जोडन अनेक प्रयासहरु थालिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलाई बिभाजित गराउन जति परिश्रम गर्नुभयो, त्यति परिश्रम आफ्नो पार्टी बनाउन गरेको भए आज माओवादी केन्द्रको अवस्था अर्कै हुने थियो । फेरि पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा पार्टी एकता हुने जुन भनिएको छ, त्यसको परिणति यसअघि एमाले र माओवादी केन्द्र मिल्दाको जस्तै हुने निश्चित छ । पार्टी एकता गर्न तम्सिएकाहरु एउटै चिन्हबाट चुनाव लड्न किन मानेनन् ? पार्टीको राजनीतिका लागि नभएर पदका लागि जे पनि गर्न तयार हुनेहरु एक ठाउँमा मिलेर बस्न मुस्किल छ । आफैँले निर्माण गरेको पार्टी अर्काको लहैलहैमा लागेर भत्काएर हिंड्ने माधव नेपाल यसको ताजा उदाहरण हुनुहुन्छ । कम्युनिष्ट पार्टीमा चुस्त र दुरुस्त एकल नेतृत्व हुनुपर्नेमा सामूहिक नेतृत्वको प्रयोग गर्ने काम पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाटै भएको हो । फेरि पनि यदि माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका समूहहरुका बीचमा पार्टी एकता भएको खण्डमा तीनदेखि पाँचवटासम्म अध्यक्ष हुने सम्भावना रहन्छ । डा. भट्टराईले हालै गठन गरेको नेपाल समाजवादी पार्टीमा पनि जातीय आधारमा दुईजना अध्यक्ष र उपाध्यक्षलगायतका पदाधिकारीहरुको ब्यवस्था गरिएको उदाहरण रहेको छ । डा. भट्टराईको सामूहिक नेतृत्वको प्रयोग एक हप्ता पनि टिक्न नसकेर निर्वाचनमा अर्को पार्टीको शरणमा पुग्नुपरेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेसपाका अध्यक्षमध्येका एक डा. भट्टराईले कम्युनिष्ट पार्टीमा हुने गरेको ‘सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारी’को सिद्धान्तलाई उल्टाउने खालको प्रयोग गरेको देखिएको छ । उहाँहरुको नीतिप्रधान नभएर नेताप्रधान पार्टी बनाउने प्रयास पनि जारीनै छ । नेताप्रधान हुने नेपाली कांग्रेसले प्रयोग गर्दै आएको नीति हो । माओवादी केन्द्रले नेकपा (एकता राष्ट्रिय अभियान) का अध्यक्ष वामदेव गौतमसँग पनि पार्टी एकता गर्ने जुन प्रयास गरिरहेको छ, त्यो पनि हास्यास्पद छ । किनकि वामदेवलाई पनि चाहिएको नेतृत्वनै हो । जसले नेतृत्वका लागि यस अघिनै एमालेलाई दुई पटक बिभाजन गरिसक्नु भएको छ । नयाँ पार्टी बनाउना साथ उहाँलाई आफ्नै पार्टीबाट निकाल्ने काम पनि भएकै हो । अब चाहिएको पार्टीमा कम्तीमा उपाध्यक्ष र देशको प्रधानमन्त्री हो । जुन पार्टीसँग आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवारी दिने सहमति भैसकेको छ ।
डा.भट्टराई पक्षले नेकपा र माओवादी शब्दमा अझै पनि असहमति जनाएको छ । त्यो भनेको माओवादी केन्द्रका अध्यक्षलाई कम्युनिष्ट पार्टी छाड्न सहज बनाउने कुरा हो । अब कथंकदाचित मंसिर चारको निर्वाचनपछि माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र वामदेव समूहकाबीचमा पार्टी एकता भयो भने त्यसपछि बन्ने पार्टीको नाममा कम्युनिष्ट शब्दको नाम निशाना नै रहने छैन । राजनीतिकरुपले डा. भट्टराईलाई केही हदसम्म इमान्दार मान्नुपर्छ । किनकि उहाँले आपूm कम्युनिष्ट विचारसँग असहमत हुनासाथ कम्युनिष्ट पार्टीनै छाडेर हिंड्नु भयो । जनयुद्धकालीन छद्म नाम पनि राख्नु भएन । तर, अन्य नेताहरु नेपाली कांग्रेससँग सहकार्य गर्दै आपूmलाई महान कम्युनिष्ट नेता भनिरहेका छन्् । जनयुद्धकालीन उपनामको प्रयोगमा गर्व गरिरहेका छन्् । बर्गसंघर्षका ठाउँमा सत्तासंघर्ष, देशीयरुपमा सामन्तवादी÷पुँजीवादीहरुको प्रतिनिधिमूलक पार्टी नेपाली कांग्रेस र अन्तर्राष्ट्रियरुपमा भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको समर्थन गर्ने कार्यहरु पनि भैरहेका छन्् । छलछाम गरेर नेपालको संसदबाट एमसीसी पारित भएको घोषणा गरियो । विवादास्पद नागरिकता बिधेयक पारित गराउन जोरजुलुम भैरहेको छ । सबैतिर द्वन्द्व बढाउने, जातीयता र क्षेत्रीयतालाई स्थापित गराउन खोज्ने, बिखण्डनकारी गतिबिधिलाई स्वागत गर्ने, हालका खास माओवादीको सार्वजनिक मञ्चबाटै बिरोध गर्ने र भूतपूर्ब भैसकेका माओवादी खोज्दै हिंड्नेलगायतका कामहरु भैरहेका छन्् । ०६३ को राजनीतिक परिवर्तनपछि नेपालको अशली मालिक भारत भएको र नेपालका कम्युनिष्टहरु बिघटनमा पुग्छन्् भनेर सार्वजनिक अभिब्यक्ति दिनेहरु आज सत्ता राजनीतिको साँचो लिएर बसेका छन्् । संसदीय राजनीतिक ब्यवस्थामा रहेर सोही ब्यवस्थाका विश्वब्यापी मूल्य, मान्यता र आदर्शलाई कुल्चने प्रयासहरु पनि भैरहेका छन्् । नेपालको राष्ट्रिय राजनीतिमा प्रयोगवादीहरुको बिगबिगी बढ्दो छ । अबका दिनमा कसले कसलाई कसरी र कति हदसम्म प्रयोग गर्ने हो ? त्योभने हेर्न बाँकी छ ।