२० बर्ष पुराना गाडी ३५ दिनभित्र स्क्र्याप गर्न निर्देशन

काठमाडौँ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले २० बर्ष पुराना सवारीसाधनलाई ३५ दिनभित्र कवाडी बनाउन निर्देशन दिएको छ । यसअघि बेलाबेलामा २० बर्षे पुराना गाडी हटाउने निर्णय हुने र कार्यान्वयन नहुने प्रवृत्ति हावी भईरहँदा यसपल्ट भने मन्त्रालयले ३५ दिनको म्याद दिएरै यस्ता गाडी कवाडीमा रुपान्तरण गर्न निर्देशन दिएको हो । मन्त्रालयले आइतबार सूचना जारी गर्दै जिवास्म इन्धनको हकमा २० बर्ष र विद्युतीयको हकमा ३० बर्ष पुराना गाडीहरु ३५ दिनभित्र पत्रु बनाउन निर्देशन दिएको हो । काठमाडौं उपत्यकामा सवारी दूर्घटना निम्त्याउने, प्रदुषण फैलाउने भन्दै २० बर्षे सार्वजनिक सवारीसाधनलाई पत्रुमा रुपान्तरण गर्नेगरी प्रदेश मन्त्रालयले ऐनमै व्यवस्था गरिसकेको छ । तर, हालसम्म सार्वजनिक यातायात व्यवसायीका कारण कार्यान्वयन भने हुन सकेको थिएन ।
प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ मै उल्लेख गरिएको उक्त व्यवस्था अब भने कार्यान्वयनको चरणमा गएको बागमति प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए । बागमती प्रदेश सरकारले २० बर्षे पुराना गाडी रिप्लेस गरेर त्यसको सट्टा विद्युतीय ट्याक्सी दिने तयारी गरेको छ । मन्त्रालयले जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा नै यस्ता सवारीसाधनलाई पत्रुमा पठाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने उल्लेख छ । तर, सरकारले नीति बनाएपनि त्यसको कार्यान्वयन हुन नसक्दा अप्ठ्यारो अवस्था सिर्जना भएको थियो । त्यसका लागि व्यवसायीले नयाँ सवारीसाधन लिँदा खर्च बढ्ने र आम्दानीको स्रोत सुक्ने बताउँदै आन्दोलनसमेत गरेका थिए । तर, अब भने प्रदेश सरकारले आगामी ३५ दिनभित्र त्यस्ता सवारीसाधनको हालसम्म तिर्नुपर्ने कर चुक्ता गरेर पत्रुमा रुपान्तरण गरिसक्नुपर्ने कसी लगाएकवो छ । यसो नगरे प्रदेश सरकारले नै कारबाही गर्ने बताईएको छ ।