आज साउनको पहिलो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइचो

काठमाडौं । आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको जनाएको छ । सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइन थालिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले बताए । उनले प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने र महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको जनाए।
साउनको सोमबार रु सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए । यसैगरी वासुकीनाथको मन्दिरमा रु तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन । एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ ।
साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ ।