रुसी सेनामा भर्ती भएका साजन गुरुङको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ती भएका लमजुङ दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिएका छन । लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङ पारिवारिक स्थितिका कारण रुसी सेनामा भर्ती भएका थिए । पूर्वी लमजुङको गोर्खासँग सीमा जोडिएको दुधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्थ्यो। यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रुपमा प्रयोग गरेको थियो।
साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध भएका थिए। पार्टी जिल्ला सचिव सुनारका अनुसार, श्रीमान् हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन्।
यसअघि रुसी सेनामा कार्यरत स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह, धादिङका राजकुमार गिरी, प्युठानका सोनु सुनार, गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गङ्गाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।