कहिल्यै ननिभ्ने दियो ‘विनोदलाल’

२०८१ फाल्गुन ३ गते, शनिबार


पृथ्वीको उत्पति देखि जीव उत्पति र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतारचढावहरुले मानव जातीको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्ततः मानव मस्तिष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जातीमाथी लुडको स्वर्ग मच्चाएपछि श्रमजीवि चेतहरु आफ्नो वर्गीय अस्तित्व रक्षाका खातिर जुर्मुरायको पाईन्छ ।
त्यही श्रमजीवी वर्ग समुदायको परिवारका एक होनाहार क्रान्तिकारी योद्धाको नाम हो विनोदलाल वि.क. (क.मोहित) जाजरकोट जिल्लाको उत्तरी भागमा पर्ने बारेकोट गाउँपालिका–४ (साविक नायकवाडा गा.वि.स.–३) जुम्क स्थित सदियौं देखि कथित वर्णश्रम व्यवस्थाले जातीय उत्पीडनमा पारेको, निम्न वर्गीय किसान दलित परिवारमा वि.स. २०३६ साल असोज २२ गतेका दिन बुवा श्री हर्क बहादुर र आमा जयादेवी वि.कको चौथो सन्तानको रुपमा जन्म भएको थियो । ग्रामीण जनजीवन, अभाव र गरिवी चौथो सन्तानको रुपमा जन्मे पनि उहाँ भन्दा पछि चार भाईहरु जन्मेर शिशुअवस्था मै निधन भएपछि विनोदलाल वि.क.का एक दाजु भीमबहादुर वि.क. र वहिनी पुतली वि.क. मात्र हुनुहुन्छ । घरमा कान्ठो (कान्छो) भनेर बोलाए पनि उहाँको बाल्यकालको नाम भने विष्णु हो । तर रुपमा उज्यालो, गोरो भएकोले साथीभाईहरुले कहिलेकाहीँ काले, सेते जस्ता नामले पनि वोलाउने गर्थे ।

पढाइमा कहिल्यै कमजोर नभएका विनोदलाल वि.क. प्रवेशिका परीक्षा एस.एल.सी. पछि २०५६ वैशाखमा आफ्नो (अटो) डायरीमा लेख्नुहुन्छ “पाठशालाको अभाव र मेरो आमाबुबाको निरक्षरताका कारणले नौ बर्षको उमेरमा मेरो प्राथमिक शिक्षाको श्री गणेश भयो । २०४९ सालमा धौधौ गरी प्राथमिक शिक्षाबाट प्रमोसन भएपछि नि.मा.बि. शिक्षाको लागि मैले श्री सिता नि.मा.वि. मा भर्ना हुने अवसर प्राप्त गरे । दुर्भाग्यवस मैले त्यस विद्यालयमा सात दिन मात्र पढे । मेरो बुबाको र दाजुको प्रदेश निबासले मैले बिद्यालयबाट सन्यासी हुन बाध्य हुनु प¥यो । जब विद्यालयबाट सन्यासी भएपछी मैले भैसी पालेर बस्न बाध्य भए । भैसी पाल्दाको समयमा मैले निकै दुःख भोग्नु परेको थियो । जस्ले मेरो हंसलाई अझै तर्साउछ । र व्याख्या गरेर साध्य नै छैन ।” आफ्नो वाल्यकालिन जीवनमा अनेकौं दःख र पीडाहरु सँग साक्षात्कार गरी दुःख र पीडा सँग पनि आनन्दले रमाउन अभ्यस्त विनोदलाल आफ्नो (अटो) डायरीमै जीवनमा दुःखहरुलाई यसरी चित्रण गर्नुहुन्छ “मेरो जीवन भनेको दुःखको संगम हो । साउनको भेल पैरो हो । चैते खडेरी हो । शिशिरको तुसारे हो । अनि बाल्यकाल देखि नै दुःख खेप्दै आएको हसाहय फाल हो । जीवनमा दुःखका पहलहरु असीमित छन् । जुन लेख्दा डायरी नै नपुग्ने डर छ । वसन्तले काँचुली फेर्दा पालुवा पलाउँछ । तर मेरो जीन्दगीको क्षणमा दुःखमात्र अटल बादल भएका छन् । निकास भनेको एक अबस्थाको दुःख अर्को चित्कारमा मात्र रुपान्तरण भएका छन् ।”
दुःख र चित्कारको अटल बादलले विनोदलाल वि.क. को जीवनमा सायद कुनै नवीन चेतनाको प्रारुप देखा परिसकेको थियो । वाल्यकालमा नम्र र सहनशील मात्रै नभएर आफ्नो तर्क र मतमा पनि त्यतिकै दृढ रहने विनोदलाल यतिवेला भने घरायसी जिम्मेवारी र १८ महिना सम्म भैसी गोठालो हुदा साँवा अक्षर समेत विर्सिसकेका थिए । श्रम रोजगार बाट घर फर्केपछि दाईले विद्यालय जानुपर्ने प्रस्ताव गर्दा साँवा अक्षर पनि विर्सेको वताउने विनोदलाल, विद्यालय जानुपर्ने अडान कसेका दाजुसँग विद्यालय नजाने अडान गरे पनि लामो समय दाजुभाई वीच चलेको जिद्दीवाट विनोदलालले हारेपछि पुनः विद्यलयमा पढ्ने अवसर प्राप्त भयो ।
पुनः विद्यालय पढ्ने अवसरको वारे आफ्नो अटोमा लेख्नुहुन्छ-“लगातार १८ महिना सम्म भैसी गोठालाको रुपमा रहेर सम्पुर्ण घरायसी बोझ समाल्नु परेको थियो । तत्पश्चात मेरो दाजुको स्वदेश फर्काईले मलाई पुर्ण पढ्ने अबसर प्राप्त भयो । अनि म मा.बि. लिम्सामा पुनः कक्षा ५ बाट पढ्न शुरु गरे । त्यस अबस्थामा मेरो पढाईमा कुनै राम्रो लक्षण थिएन । त्यसपछि मलाई मेरै साथीहरुको दुर्बचनले र गुरुहरुको अर्तिले राम्रो सँग पढ्ने अभिरुची पैदा ग¥यो । परिणाम स्वरुप म कक्षामा तेस्रो स्थानमा नाम निकास्न सफल भए ।”
यसरी विनोदलालले आफ्ने मुख्य कर्म पढाई र घरायसी कामलाई सहायक बनाएको एक वर्ष पुरा भएको थियो । यसरी पढने क्रममा आफ्नो अर्कले घर (भुई तलामा पशुवस्तु हुल्ने वा बाँध्ने र माथी मान्छे वस्ने गरेर बनाएको घर) को भुईतलामा आफ्नो पढ्ने र सुत्ने कोठा बनाउनुभएको थियो । कोठामा काठबाट बनेको एउटा कुर्सी र सुत्ने खाट बाहेक अरु अटाउदैन्थे । घर देखि विद्यालय टाढा भएपनि, वारम्वार विनोदलालको आमाले सम्झनु हुन्थो पढ्ने क्रममा घर आँगन बडार्ने, भाँडा माझ्ने जस्ता स‒साना काम आफै गरेर घरमा सघाएको कुराहरु ।
यो समयमा विनोदलालले आफ्नो जीवनको सवैभन्दा ठुलो समय पढाईमा खर्चनुभयो भने परिवारको साथ पनि त्यतिकै पाउनुभयो । यस समयको पढाईको बारे अटोमा यसरी लेख्नुहुन्छ “मलाई पढ्ने अभिरुची बढ्दै गयो र प्रथम हुने प्रलोभनले छोडेन अनि कडा परिश्रम गरेबापत कक्षा ६ बाट ७ मा जाँदा प्रथम श्रेणीमा (पहिलो स्थानमा) पास भए मेरो सपना साकार भए जस्तो लाग्यो । अझ कडा परिश्रम गरेबापत म नि.मा.बि. स्तरीय शिक्षाबाट प्रमोसन हुँदा राम्रो अंक एवं प्रथम श्रेणीमा (विद्यालय प्रथम) हुन सफल भए । नि.मा.वि. स्तरको शिक्षा राम्रो संग हाँसिल गरे ।” यो समयमा विनोदलाको कोठामा आफुले बत्ती निभेको र सुतेको कहिल्यै नदेखेको दाई भीमबहादुर सम्झिनुहुन्छ ।
जीवनका तितामिठा भोगाई सँगै नि.मा.वि. स्तरको पढाई पुरा भयो । विनोदलाल साथीभाईको प्यारो र एक उदाउँदो प्रतिभाका रुपमा स्थापित भैसक्नुभएको थियो । ढिला पढाई सुरु गर्नु र वीचमा पढाईमा आएका बाधाअवरोधले होला उमेर पनि १७÷१८ वर्षे लक्का जवान भैसकेको, सामाजिक विकृती, विसंगती, अन्याय र अत्याचारलाई सही गलत भनी छुट्याउन सक्ने दृष्टिकोण पुर्ण रुपमा विकास भैसकेकोले श्रमजीवी उत्पीडित जनतामाथी शोसक फटाहाले अन्याय अत्याचार गरेको देखेर सहनै सक्नुहुन्नथ्यो ।

कक्षा ६ मा पढ्ने क्रममा नै उहाँ तत्कालिन जनमोर्चा (माओवादीलाई गाउँतिर जनमोर्चा भन्थे ।) को काम र राजनैतीक मुद्दा देखि प्रभावित भए पनि २०५२ सालमा ७ कक्षामा पढ्ने वेला विद्यार्थी संगठनको मा.वि. मुल एकाई कमिटी सचिव भएर औपचारीक रुपमा संगठनिक जिम्मेवारी लिएर कार्यसम्पादन गर्नलागेको कुरा उहाँका कक्षा सहपाटी लालबहादु्र नेपाली लगायतले सम्झनुहुन्छ ।
विद्यालयको एक कार्यक्रममा उहाँले आाफ्नो कविता वाचन गरेपछि अनुसन्धानमा खटिएका सिभिल कपडा लगाएका प्रहरीले सुनेपछी त्यस कविताको भावले तिनीहरु सशंकित भएर गिरफ्तार गर्ने कुरा केही शिक्षक र साथीहरुले चाल पाएपछि उहाँ समयमै त्यस कार्यक्रम बाट निस्केर बच्नुभयो । बारेकोटमा भएका माओवादी संगठित सदस्य, विद्यार्थी, आस्थावान र शुभेच्छुक तथा शुभचिन्तक सबैलाई धरपकड गिरफ्तार र यातना प्रहरीले दिन थाल्यो भने अझ प्रहरीको निशानामा विद्यार्थी पर्न थाले । औपचारीक रुपमा नै संगठनको जिम्मेवारी लिएर होला भनिन्छ जन्मदै कोही पनि शत्रु हुदैन शत्रु त बन्छ । उहाँको क्रान्तिकारी चेत र गलत कुराका विरुद्ध आफ्नो स्पष्ट धारणा राख्ने स्वभावले सर्वसाधारण मान्छेको प्रिय र जाली फटाहहरुको कुदृष्टि पर्न थाल्यो । विभिन्न चुनौतीका बावजुद माद्यामिक तहको पढाइको शुरु गर्नुभयो । ८ कक्षामा पढ्दै गर्दा पढाइमा पुनः बाधा सिर्जना भयो । दिनहुँ जस्तो घरमा प्रहरीले निगरानी राख्ने, रातीमा छापा हान्ने, घर परिवारलाई मानसिक यातना दिने, लगायत प्रहरीको हर्कतले विनोदलालमा निकै खतर भएको कुरा घरपरिवार र आफन्तले सहजै बुझिसकेका थिए ।
केही समयको लागि दाजुभाई भारतमा बस्ने आफन्त र श्रम रोजगारको शिलशिलामा त्यतै भएका बाबा सँग पनि भेट्ने गरी २०५२ फागुनको अन्तिम हप्ता भारत तिर हिड्नुभयो । सवैसंग भेटघाट सँगै करिब तीन महिना सम्म त्यतै बस्नुभयो । आफ्नो पढाई यो विचमा गर्न नपाएकोले उहाँ चिन्तित भएको कुरा दाजु अहिले पनि ताजै सम्झनु हुन्छ । नेपालमा खतरा भएकोले यतै पढ्न दाजु र आफन्तले सल्लाह दिए पनि विनोदलालले भने बाँचे पनि नेपालमै पढ्ने मरे पनि आफ्नो वर्गीय मुक्तीको लागि नेपालमै मर्ने अडान राख्नुभयो ।

आफ्नो पीडालाई कसैसँग प्रत्यक्ष पोख्न नसकेर एक दिन राती सुतेको समयमा ओछ्यानमा रोईरहेको दाजुले थाहा पाएपछि “के भयो कान्छा ?” भनेर सोध्दा “बहिनीको सपना देखे ?” भनेर जवाफ दिनुभएछ । अनि लगतै अर्को दिनमा नेपाल जानुपर्छ अब भनेर आउन तयार हुनुभएछ । उहाँका कान्छा मामा दिलबहादुर नेपालीले गाडी भाडा लगायत अन्य खर्च पुग्ने गरी आर्थिक व्यवस्थापन गर्न सहयोग गरेपछि पुनः तीन महिनापछि २०५३ वैशाखमा दाजुभाई नेपाल फर्केको क्षणलाई आफ्नो डायरीमा यसरी लेख्नुहुन्छ, “नि.मा.वि. स्तरको शिक्षा राम्रो संग हाँसिल गरे । अनि माद्यामिक शिक्षाको श्री गणेश भयो । मा.वि. मा पनि राम्रो अंक ल्याएर पास गर्ने मन नभएको होईन । तर पुनः वीचमा अबरोध स्वरुप मलाई समस्या खडा भयो जस्को कारण मैले ३ महिना सम्म भारत बसेर पुनः स्वदेश फर्के ।”
यसरी नेपाल फर्के पनि यता भने प्रहरीले खोजी जारी राखेको थियो । पढिरहेको विद्यालयमै पढ्न निकै गाह्रो भएर त्यो विद्यालयमा नाम काटेर पुनः भर्ना हुने कुरामा विनोदलाल सहमति नभएपछी पुनः अर्को विद्यालयको खोजी गर्नुपर्ने भएकाले यसै क्रममा दाजुभाई जुम्लाका आफन्तको सम्पर्कमा पुगेपछि डिल्लीचौरमा रहेको श्री ऋणमोक्ष मा.वि. मा आफ्नो नाम विष्णु वाट विनोदलाल बनाएर भर्ना भई मा.वि. स्तरको पढाई शुरु गरेको कुरालाई आफ्नो अटोमा यसरी लेख्नुहुन्छ,
“तर आफ्नो विद्यालयमा नाम काटेर पुनः भर्न गर्ने निर्णयमा असहमति भए जसको कारण म त्यो विद्यालया छोडी पुनः नव पाठशालाको खोजीमा लागे । हिड्ने क्रममा संयोगले म जुम्लाको ऋणमोक्ष मा.बि. डिल्लीचौरमा पुगे र त्यहाँ पढ्ने अवसर पाए ।”
स्वयं विनोदलाललाई पनि थाहा थिएन जुम्लाको पढाई सँगसँगैका दिनचर्याहरु कस्तो हुन्छ ? अनि वर्ग शत्रुवाट के कस्ता प्रहारहरु हुन्छन ? यी सबै समयको गर्भभित्रै थिए । विनोदलाल लाई भने पहिलो काम पढाई र दोस्रो काम जनताको आवाज नै थियो । अझ भनौ जनताको राज्यव्यवस्था थियो । विद्यालयमा विद्यार्थी भएपनि समाज र शिक्षक विद्यार्थीको लागि उहाँ एक सक्रिय क्रान्तिकारी योद्धा नै हुनुहुन्थ्यो । यो समयमा उहाँले आफुलाई एक स्पष्ट वक्ता, सभ्य, शिष्ट तथा आदर्श व्यक्तित्वको छवि बनाईसन्नुभएको थियो ।
यो वर्ष कक्षा ८ को पढाई त्यति राम्रो नभएकोले दोस्रो स्थानमा पास भएको र त्यसपछि ९ कक्षा बाट १० कक्षामा र टेष्ट परीक्षामा समेत प्रथम स्थान हाँसिल गरेको आफ्नो अटो मा यसरी उल्लेख गर्नुहुन्छ “त्यस बर्षमा त्यति राम्रो सँग पढ्न भने सकिएन । दोस्रो श्रेणीमा (कक्षामा दोश्रो स्थानमा) मेरो नाम निस्क्यो त्यस पछि पुन कक्षा ९ मा पनि प्रथम श्रेणीमा (कक्षा प्रथम) हुन सफल भए । अनि राम्रो स्थान ल्याएर मैले टेष्ट पास पनि गरे ।”
विद्यालयमा मात्र प्रथम नभई खेलकुद, कला साहित्य, साँस्कृतिक कार्यक्रम, नाटक मञ्चन, अभिनय, गीत लेखन तथा गायन, कविता, निबन्ध लेखन तथा वाचन, वक्तृत्वकला वाचनमा समेत अब्बल विनोदलाल समय सापेक्ष घटना र परिघटनालाई समाज विज्ञानको नियम अनुसार वुझ्ने र द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणको आधारमा विश्लेषण तथा संश्लेषण गर्नसक्नुहुन्थो भन्ने कुरा टेष्ट परीक्षापछि उहाँको डायरीमा लेखेको “वालीदेऊ न दियो” शीर्षककोे कविता वाट प्रष्ट हुन्छ ।
किन दियौ तिम्ले मलाई वेदनाका छेद
जीन्दगीमा कसैसँग हुने छैन भेट
आशा तिम्रो बिश्वकोषमा ताज महलमा बस्ने
के लोभ गर्नु जीन्दगीको हिड्दा हिड्दै खस्ने,
बन्छ होला तिम्रो संसार देख्न पाउने छैन
यो मुटुको घाउ मेट्ने कोही चिकित्सक भएन,
शुन्दर संसार आफ्नो हो यो हाँसीहाँसी हिड
रुढीबाद र पुँजीवादलाई निमुख गर्ने हतियार भिड
असमानता देख्न मैले बरु नजन्मनु थियो
अन्धकारलाई पन्छाउन बालीदेउन दियो ।
मानिसका अनगन्ती रंगीन सपना र जीवनमा अनिवार्य आउने अनिश्चित मृत्यको द्धन्द्धात्मक्तालाई पकड्दै यो सुन्दर संसार आफ्नो भएकोले हाँसीहाँसी हिड्न सुझाउदै रुढीवाद र पुँजीवादलाई निमुख गर्ने हतियार भिडने आवश्यकतालाई समेत आफ्नो साहित्य मार्फत व्यक्त गरेको पाईन्छ । साथै आफुलाई वेदनाका छेदहरुले प्रहार गरेको र जीवनमा कसैसँग भेट समेत नहुने र यो संसार अझै प्रगती र निर्माणको दिशाउन्मुख भएपनि आफुले देख्न नपाउने कुरालाई निश्चित गर्दै आफ्नो विरह, पीडा र लक्ष्यमा आएका अवरोधहरु पार गर्ने कुनै त्यस्तो योग्य मार्गदर्शक नभएको समेत कविता मार्पत व्यक्त गरेको एक वर्ष पछि उहाँको सहादत हुनुले केही रहस्यमय अर्थ राख्दछ ।
अर्थात आफु वर्गीय मुक्तिको महासागरमा अन्तर मन देखि समर्पित भएकोले विना हडबडाहाट सबै किसिमका दासत्व बाट मुक्त भएको जीवन या संघर्षको मैदानमा हुने वीरगती मात्र आफ्नो सामु भएको कुरा निश्चित गर्नुहुन्छ । समाजमा भएको वर्गीय खाडललाई देख्नको लागि मात्र हो भने नजन्मेकै भए हुन्थ्यो, जन्मेर यो समाजमा भएको वर्गीय असमानता जानी वा नजानी स्वीकार्नु एक किसिमको अन्धकार भएकोले यसलाई पन्छाउनको लागि क्रान्तिकारी वा प्रगतिशील विचारले आम शोषित उत्पीडत वर्ग समुदायलाई सुशिक्षित गरी समानताको घाम झुल्काउन कविता मार्फत विनोदलालले सवैलाई आह्वान गर्नुृभएको छ ।
आफ्नो कोमल मन, तीच्छन् वुद्दीका साथसाथै हरेक काममा इमानदारी र वर्ग प्रेमभाव राख्ने विनोदलाल वालवालिका देखि वृद्धवृद्धाको मन मस्तिष्कमा वस्न सफल हुनुहुन्थ्यो । उच्च विचारका धनी व्यक्तित्व भएका कारण जुम्ला चौधवीस वासी जनसमुदायले विनोदलाल वि.क. लाई देखेर तत्कालिन माओवादीप्रति पनि उत्तिनै आकर्षित भए । पढाई सँगसँगै भुमिगत राजनीतिमा सक्रिय विनोदलाल २०५५।०५।१९ गते मृगेन्द्र संझना चिकित्सा गुठी द्धारा जुम्ला जिल्लाका मा.वि.मा संचालन गरिएको धुमपान नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा तृतीय अर्को वक्तृत्वकलामा दृतीय भई नगद सहित प्रमाणपत्र प्राप्त गरी आफु पढेको विद्यालयको गरिमा समेत बढाउनुभएको थियो ।
टेष्ट परीक्षा पछिको प्रवेशिका को तयारी सँगै जुम्लामा अध्ययनका तीन वर्षको आखिरी क्षणमा प्रवेश गर्दै हुनुहुन्थ्यो विनोदलाल । यो समय राम्रो तयारी गरेर परीक्षा पनि राम्रैसँग दिएको आफ्नो डायरीमा उल्लेख गर्दै भन्नुहन्छ “परीक्षा सिध्याएको दिनमा असाध्य खुशी लागेको थियो तर कालो बादल मडारिएर पुनः दुःखको वर्षा गरायो । परिणाम स्वरुप म निर्दोष र लगनशील विद्यार्थीलाई विभिन्न आरोप–प्रतिआरोप लगाएर ५ दिनसम्म हिरासतको चिसो र तितो अबस्थामा दिन गुर्जान बाध्य बनाइयो ।” उहाँका खुसीहरु एकाएक हिरासतको चिसो र सिसो बन्द कोठामा भौतिक शरीरको यातनाको पीडासँगै कुण्ठीत भए ।
करीव एक हप्ताको हिरासत वसाई सँगै यातना पाउँदा पनि पार्टीका कुनै गोप्य कुराहरु नखोली तारिखमा खुल्ला आकाशमा फर्कनुभयो । यो तारिख नभएर आफुलाई मार्ने राज्यको षड्यन्त्र हो भन्ने कुराको चालपाएर केही समयको तारिखलाई पनि छोड्नुभयो । प्रवेशीकाको नतिजा २०५६ मा प्रकाशित भएपछि उहाँ राम्रो अंक प्राप्त गरी दोश्रो श्रेणीमा उत्तीर्ण भई तत्कालिन नायकवाडा गा.वि.स.बाट प्रवेशिका उत्तिर्ण गर्ने पहिलो दलित विद्यार्थीको ईतिहास समेत रचना गर्नुभयो ।
प्रवेशिका उत्तीर्ण लगतै पढेकै विद्यालय ढिल्लीचौरमा त्यस विद्यालयका शिक्षकहरुले र गाउँको विद्यालय मैनामा गाउँका सबैले पढाउन अनुरोध गरे पनि उच्च शिक्षा हाँसिल गर्ने मनसायले ऋण सापट गरेर सुर्खेत बहुमुखी क्याम्पसमा आई.ए. मा मुल विषय गणित लिएर अध्ययन थाल्नुभयो । क्याम्पस जीवनको अध्ययन सँगै विद्यार्थी राजनीतिलाई अंगाल्नुभएका विनोदलाले केही दिन सम्म विद्यार्थीलाई निजी शिक्षण (कोचिङ) समेत गर्नुभयो । पार्टीकै विभिन्न पत्रपत्रिकामा आबद्ध हुनुको साथै विद्यार्थी संगठनमा सक्रिय भएर काम गनुभयो ।
सुर्खेतका प्रशासनिक, व्यापार, शैक्षिक लगायतका क्षेत्रमा स्थापित विनोदलाल सरल स्वभाव र गम्भीरताले होला एकपछि अर्काे गर्दै पार्टी भित्र र बाहिर उहाँको व्यक्तित्व चुल्लीरहेको थियो । विनोदलालमा घर परिवार, गाउँसमाजको आशा भरोशाको केन्द्र मात्र नभएर मुलुककै लागि योगदान पु¥याउन सक्ने प्रचुर सम्भावना प्रशस्तै पाईन्थ्यो ।

आई.ए. मा पढ्दै गर्दा २०५६ सालको असोजको महिनामा घरमा आउँदा आफ्नै कामले गर्दा तिहार भन्दा अगावै वहिनीको टिका माला लगाएर सुर्खेत लाग्नुभयो । सुर्खेत पुगेपछि आफु सकुशल पुगेको र आफ्नो अध्ययन लाई निरन्तरता दिएको पत्र समेत घरमा पठाउनुभयो । यो विचमा हुने पत्र आदान प्रदान र आफन्तको खबर बाट विनोदलालको सबै कुरा सामान्य भएको घरपरिवारलाई जानकारी छ । यो विचमा उहाँका दाई भारत बाट सुर्खेत आएर भेट्दा आफुलालाई कुनैै आर्थिक समस्या नहुने र आफुलाई आफ्नो शिक्षण कामबाट खर्च पुरा हुने समेत कुरा गर्नुभयो । दाजु पुनः भारत फर्किनु भयो ।
२०५६ फागुनको ३ गते विद्यार्थी संगठनको काम लिएर सुर्खेतको करेखोला विद्यालयमा विद्यार्थीहरु सँग छलफल गरी संगठन निर्माण गरी भ्यालीमा फर्किने क्रममा जंगलको छेउडाँडामा भ्यान सहित लुकेर वसेका नेपाल प्रहरीको पोशाक पैरेका हतिहारदारी जल्लादहरुले एकाएक हिड्दै गर्दा विनासंवाद आकस्मिक गोली हानी घाईते बनाई पुनः गोली हानेसँगै विनोदलालले वीस वर्ष चार महिन एघार दिनको कलिलो उमेरमा विरगती प्राप्त गर्नुभयो भने सँगैको साथीलाई नियन्त्रणमा लिएर वेपत्ता पारे । दुःखको कुरा आज पनि परिवारलाई यसरी नै विनोदालालको सहादत भयो भनेर आधिकारीक कुरा कसैले पनि सुनाएको छैन ।
हुनसक्छ त्यतिवेलाको नेतृत्वहरुले उहाँको सवलाई व्यवस्थापन गरे होलान् । घटनाको अनुसन्धान गरेर कुनै निष्कर्षमा पनि पुगे होलान । उहाँको सहादतको वेला वीर बहादुर कामी (संसारसेन पृथक) ले एउटा लेख लेखेर जनादेशमा प्रकाशित गरेको कुरा मेसिन्जर कुरामा पंक्तिकारलाई सुनाउदै त्यो लेख अहिले भेट्न नसकेको समेत उल्लेख गर्नुहुुथ्यो ।
विनोदलालका थुप्रै लेख रचनाका डायरी भए पनि तत्कालीन राज्य दमनको त्रासले सुरक्षित राख्न नसकेकोमा घर परिवार दुःखी छन् । विनोदलाल आज हाम्रो माझ नभए पनि उहाँले आत्मसाथ गरेको मार्ग र सपना आज पनि उत्तिकै गौरव गर्न योग्य छ । संसारमा वर्गीय असमानता रहे सम्म वर्गीय मुक्तिको लागि प्रणउत्सर्ग गर्ने श्रमजीवी उत्पीडित वर्ग सुदायको आदर्श नायकको रुपमा प्रेरणाको श्रोत वनी असमानताको अन्धकारलाई पन्छाउनको लागि हाम्रो सामु कहिल्यै न निभ्ने दियो बनी प्रज्वलीत भईरहनुहुनेछ ।
(ध्रविन्द्र वि क शहीद विनोदलाल वि.क.का भतिजो हुन र २०७० साल देखि आशिंक र २०७५ साल देखि पुर्णकालिन भई नेकपा माओवादी (क्रन्तिकारी) हुदै नेकपामा कार्यरत छन् ।)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु