भूकम्पले सडक मार्ग क्षतविक्षत
काठमाडौं । विनाशकारी भूकम्पले राजधानीसहित विभिन्न जिल्ला जोड्ने सडक मार्ग क्षतविक्षत बनाएको छ । भूकम्पले खासगरी मध्यमाञ्चल र पश्चिमाञ्चलका विभिन्न जिल्लाको सडकमा बढी क्षति पु¥याएको छ । भूकम्पका कारण सडकमा डेढ अर्ब रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ । ‘भूकम्पले सडक क्षतविक्षत भएको छ,’ विभागका महानिर्देशक माधवकुमार कार्कीले भने, ‘सबैभन्दा बढी क्षति मध्यमाञ्चलको सडकमा परेको छ, पश्चिमाञ्चलको सडक पनि धेरै भत्किएको छ ।’ भूकम्पको धक्काले ढुंगे पहिरो जाँदा सडकमा क्षति पुगेको हो । कतिपय ठाउँमा माथिबाट पहिरो गएर सडक अवरुद्ध भएको छ भने कतिपय ठाउँमा जमिन भासिएर तथा भत्किएर सडक अवरुद्ध भएको छ । अवरुद्ध सबै सडक सामान्य मर्मत गरेर सुचारु गरिसकेको विभागले जनाएको छ । पुनर्निर्माणको काम भने वर्षापछि गरिने छ । वर्षामा सडक सुचारु गर्न चीन र जापानसँग प्राविधिक सामग्री सहयोग मागिएको बताइएको छ ।
गोरखा वारपाकको ५० किलोमिटर सडक खुलाउन सबैभन्दा बढी १५ दिन लागेको महानिर्देशक कार्कीले बताए । सडक खुलेसँग वारपाकमा गाडीबाट राहत सामग्री ढुवानी गर्न थालिएको छ । यसअघि सडक अबरुद्ध हुँदा हेलिकोप्टरबाट राहत सामग्री पु¥याइएको थियो । सडक भत्किँदा उद्दार तथा राहतमा समेत समस्या परिरहेको छ । भूकम्पबाट सडक भत्किए पनि पुलहरु भने केही भएका छैनन् । यदि पुलहरु पनि भत्किएका भए सडक सुचारु गर्न धेरै समय लाग्ने थियो । पश्चिमाञ्चलको सडकमा भूकम्पले ११ करोड ६४ लाखको क्षति पु¥याएको विभागका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक उत्तमलाल प्रधानले बताए । सामान्य मर्मत गरेर सबै सडक सुचारु गरिसकेको उनले जानकारी दिए ।
भूकम्पको सबैभन्दा ठूलो प्रभाव काठमाडौंँ–कोदारी जोड्ने अरनिको राजमार्गमा परेको छ । दोलालघाटबाट तातोपानीसम्म सडकमा ठाउँ–ठाउँमा ठूलो पहिरो गएको छ । कतिपय ठाउँमा सडक भासिएको छ भने कतिपय ठाउँमा चिरिएको छ । बाह्रबिसेदेखि कोदारीसम्म धेरै ठूलो पहिरो गएको हुँदा सडक सुचारु गरिराख्न निकै समस्या हुने महानिर्देशक कार्कीले बताए । अहिले पनि यो ठाउँमा पहिरो जाने क्रम रोकिएको छैन । लामोसाँघु–जिरी सडकमा पनि ठाउँ–ठाउँमा भत्किएको छ । रसुवाको धुञ्चेदेखि रसुवागढीसम्म पुग्ने बाटो पनि भत्किएको छ । यो सडकमा पनि ढुंगे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । गोरखा–वारपाक सडक धेरै क्षतिग्रस्त छ भने भक्तपुरको लोकन्थलीमा पनि ३–४ सय मिटर सडक चिरिएको र भासिएको छ ।
त्यसैगरी, पोखरा–बाग्लुङ सडकमा पनि पहिरो गएको छ । विपी र पृथ्वी राजमार्ग पनि भूकम्पका कारण जीर्ण बनेको छ । नारायणगढ–मुग्लिन सडक पनि पहिरो गएर अवरुद्ध भएपछि डोजर लगाएर बाटो खुलाउँदै अएको विभागले जनाएको छ । विपी राजमार्ग फाटेपछि जापान सरकारले मर्मत गरिदिने आश्वासन दिएको छ । अन्य सहायक सडकहरु पनि धेरै ठाउँमा भत्किएको सडक विभागले जनाएको छ । भूकम्पले भत्किएका सडक पिच गर्ने काम वर्षा सकिएपछि मात्र सुरु गर्ने महानिर्देशक कार्कीले बताए । ‘वर्षामा बाटो पिच गर्न सकिँदैन, त्यसैले हाम्रो फोकस वर्षातको समयमा सडक कसरी सुचारु राखिराख्ने भन्नेमा हुन्छ ।’ खासगरी राजधानी जोड्ने राजमार्गहरु भूकम्पले जीर्ण भएका छन् । यी सडक पानी पस्ने वित्तिकै पहिरो जाने, भासिने खतरा रहेकाले सुचारु गरिराख्न ठूलो चुनौती छ । राजधानी जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग अहिले नभत्किए पनि निकै जिर्ण भएको महानिर्देशक कार्की बताउँछन् । यो राजमार्ग आसपासको डाँडामा धेरै धाँजा फाटेको हुँदा वर्षामा पहिरो जाने, भासिने तथा चिरिने डर छ । ‘अन्य समयमा पनि पहिरो गएर हैरान बनाउने पृथ्वी राजमार्गले यस वर्ष निकै दुःख दिने अनुमान गरेका छौं,’ महानिर्देशक कार्कीले भने, ‘केही गरी यो राजमार्ग अवरुद्ध भएमा राजधानी जोड्ने अन्य सहायक मार्गलाई चुस्त बनाउने सोँचमा छौं ।’ राजधानी जोड्ने सडकहरुमा अरनिको राजमार्ग, विपी राजमार्ग, पासाङ ल्हामु, कुलेखानी राजमार्ग छन् । तर, यी सडकहरु ठूला गाडी गुडाउन नसक्ने अवस्थामा रहेका छन् । ठूलो गाडी हिँडाउने अरनिको राजमार्ग यस वर्ष सबैभन्दा बढी अवरुद्ध हुने निश्चित देखिएको छ । ‘हामीले इक्वीपमेन्ट तयारी अवस्थामा राखेर अवरुद्ध भएको सडकलाई तत्काल खोल्नका लागि प्रयासरत हुनेछौं,’ महानिर्देशक कार्कीले भने, ‘यसका लागि विदेशी मुलुकसँग सहयोग समेत मागेका छौं ।’
सडक विभागसँग सडक खुलाउने हेभी इक्विपमेन्ट पर्याप्त छैनन् । त्यसो हुँदा भाडामा इक्विपमेन्ट ल्याएर भए पनि सडक लामो समय अवरुद्ध हुन नदिने तयारीमा विभाग लागेको बताइन्छ । ‘हामीसँग प्रयाप्त इक्विपमेन्ट छैनन्, निजी क्षेत्रसँग भाडामा भए पनि इक्विपमेन्ट ल्याउँछौं,’ कार्कीले भने, ‘जापान र चीन सरकारसँग पनि वर्षाभरि इक्विपमेन्टको व्यवस्था गरिदिन आग्रह गरेका छौं ।’ उपत्यकालगायत विभिन्न जिल्लाहरु जोड्ने सम्पूर्ण सडक सुचारु गर्नमै ध्यान केन्द्रित हुने बताउँदै उनले पुनर्निर्माणको सबै काम पछि हुने बताए ।