करोडौँको जडीबुटी अलपत्र
काठमाडौँ । भूकम्पका कारण ग्राहक नआएपछि म्याग्दीका जङ्गलमा पाइने र स्थानीयले सङ्कलन गरी बिक्री वितरणका लागि तयारी अवस्थामा राखेको करोडौँ मूल्य बराबरको जडीबुटी अलपत्र परेको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा यस वर्ष रु २० करोड मूल्य बराबरको जडीबुटी तयारी अवस्थामा रहेको छ । नेपालमा पाइने २१८ प्रजातिका जडीबुटीमध्ये म्याग्दीका जङ्गलमा १५७ प्रजातिका जडीबुटी पाइन्छ । वैशाख १२, १३ र २९ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण जडीबुटीका ग्राहक नआएपछि करोडौँ मूल्यका जडीबुटी निकासी हुन नसकेको जिल्ला वन कार्यालयले जनाएको छ ।
यार्सागुम्बा, पाँचऔले, सतुवा, निरमसी, सुगन्धवाल, चिराइतो, पदमचाल, अतिसजरा, वनलसुन, कुरिलो विभिन्न प्रजातिका बहुउपयोगी र बहुमूल्य जडीबुटी पाइने भए पनि यसबाट न्यून मात्रामा राज्य तथा सर्वसाधारणले लाभ लिन सकेका छन् । जिल्ला विकास समितिको कार्यालयले केही वर्षअघि गरेको अध्ययनअनुसार जडीबुटी निकासी गरेर म्याग्दीमा वार्षिक रु २० करोड नगद भित्र्याउन सकिन्छ । वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाबाट १८ प्रजातिका जडीबुटी निकासी भएको थियो यसबाट रु दुई लाख ६ हजार ४०५ राजस्व प्राप्त भएको थियो । स्थानीयवासीले केही जडीबुटी घरेलु ओखतीका रूपमा प्रयोग गर्दै आए पनि ठूला लगानीकर्ताको अभावमा अधिकांश जडीबुटी त्यसै कुहिएर खेर गइरहेको मुदी बगरका चित्र तिलिजा बताउँछन् । जडीबुटीको असन्तुलित बजार, व्यावसायिक सुरक्षा, पूर्वाधार, जडीबुटीको परिणामसम्बन्धी तथ्याङ्क र स्थानीयवासीमा चेतनाको अभावजस्ता कारणले सम्भावना भएर पनि लगानीकर्ता म्याग्दीमा उत्पादन हुने जडीबुटीको व्यापारतर्फ आकर्षित हुन नसकेका व्यापारी आशमान गुरुङले बताए । जडीबुटीलाई आयस्रोतको रूपमा विकास गर्न केन्द्रीयस्तरबाट स्पष्ट नीति बनेर सम्भाव्यता अध्ययन गर्नसकेमा लगानीकर्ता आकर्षित हुने र राज्य तथा स्थानीयवासीलाई फाइदा पुग्ने जिल्ला वन कार्यालयका रेन्जर चन्द्रमणि सापकोटाको भनाइ छ ।