‘काठमाडौँ भ्युटावर’को निर्माण सुरु
काठमाडौँ, १८ असार । जलेश्वर स्वच्छन्द बिकोइ कम्पनीले ‘काठमाडौँ भ्युटावर’को निर्माण सुरु गरेको छ । भूकम्प, नाकाबन्दी र पछिल्लो समयमा अत्याधुनिक निर्माण उपकरण अभावको कारण देखाउँदै रोकिएको उक्त कार्य भारतबाट निर्माण उपकरण ल्याएसँगै सुरु भएको हो । टावर निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ कम्पनीले निर्माणका लागि जग खन्ने कार्य प्रारम्भ गरेको छ । गत कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहबीच टावरको शिलान्यास गरेका थिए ।
टावर निर्माणका लागि दुई महिनाअघि नै पुरानो बसपार्कमा पार्किङ गर्ने सार्वजानिक सवारी खुलामञ्चमा सारिएको थियो तर भारतबाट समयमै उपकरण नआएपछि काम अघि बढ्न सकेको थिएन ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बुधबार भारतबाट आवश्यक निर्माण उपकरणहरू आएको र उपकरणको परीक्षण गरेर बिहीबार नै टावर निर्माणका लागि काम सुरु भयो । काठमाडौँ टावरको निर्माण कार्य २०७२ साल वैशाखबाटै सुरु गर्ने भनिए पनि भूकम्प तथा त्यसपछि आइरहेका पराकम्प र भूकम्पपश्चात् भवन निर्माणको मापदण्डमा फेरबदल गर्न लागिएकाले पनि निर्माण कार्य ढिला भएको प्रवक्ता कार्कीले बताए ।
निर्माणका लागि रु. सात अर्ब लाग्ने अनुमान गरिएको उक्त टावर निर्माणपछि महानगरको भौतिक समृद्धि वृद्धि हुने र पर्यटनलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको उनको भनाइ छ ।
झण्डै २४ रोपनी क्षेत्रफलमा निर्माण हुने टावर २९ तलाको बनाउने लक्ष्य राखिएको भए पनि हाललाई १२ तलासम्म निर्माण गरिने भनिएको छ । भूकम्पपछि लागू भएको मापदण्डले सहरी क्षेत्रमा निर्माण हुने टावर १२ तलामाभन्दा माथिको बनाउन रोक लगाइएको छ तर भूकम्पप्रतिरोधी सहरी टावर निर्माण गर्दा २९ तलासम्म निर्माण गर्न सकिने गरी मापदण्ड संशोधन गर्न स्थानीय विकास मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार अहिलेसम्म टावरको १२ तला मात्रै नक्सा पास भएको र बाँकी १७ तलाको नक्सा पासका लागि सहरी बस्ती विकास मापदण्ड परिमार्जनको तयारी भएको छ ।
नाफामूलकभन्दा सेवामूलक कार्यका लागि निर्माण गरिने बहुउद्देश्यीय टावरमा मनोरञ्जन हल, बैङ्क तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवाप्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुने जानकारी गराइएको छ ।
महानगरपालिकाका अनुसार सार्वजनिक निजी साझेदारीका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधिमार्फत ३० वर्ष टावर निर्माण पक्षले सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ । यस अवधिमा जग्गाको भाडाबापत निर्माण पक्षले महानगरलाई वार्षिक ७० लाख रुपियाँ र टावर सञ्चालनबापत वार्षिक १ करोड ७५ लाख रुपियाँ राजस्व तिर्नेछ । जग्गाको भाडा सञ्चालन अवधिभर एउटै रहनेछ भने टावरको राजस्व प्रत्येक वर्ष साढे तीन प्रतिशतका दरले वृद्धि हुनेछ ।
टावरबाट उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्नुका साथै उपत्यकाको सौन्दर्यसमेत बढाउने दाबी महानगरपालिकाको छ ।