विश्व मधुमेह दिवस मनाइँदै
काठमाडौँ । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ ।
मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो। स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नाले टाइप–२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिन्छ।
मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन्। उनीहरूको सल्लाहअनुसार नियमित उपचार र जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छ।
