भाइलाई दाजु र दाजुलाई भाइ भन्नुपर्ने अवस्था !

२०७३ मंसिर १ गते, बुधबार

काठमाडौं, १ मंसिर । पहिला जन्मिएको शिशु जेठो र पछि जन्मिएकोलाई कान्छो मानिन्छ । जुम्ल्याहाको हकमा पनि सोही अनुसार उनीहरुबीच नाता निर्धारण हुन्छ । तर अमेरिकामा एउटा अचम्मको घटना प्रकाशमा आएको छ । जुम्ल्याहा दाजुभाइमध्ये पछि जन्मिएको शिशुलाई दाजु मान्नुपर्ने अवस्था सिर्जना भएको छ । प्राविधिक रुपमा यस्तो समस्या देखिएको हो ।
मेसाचुसेट्सको एक अस्पतालमा ६ नोभेम्बरका दिन जुम्ल्याहाको जन्म भएको थियो । तर पछि जन्मिएको शिशुलाई दाजु र पहिला जन्मिएको शिशु भाइका रुपमा चिनिने भएका छन् । यसको एउटै कारण हो– ‘डे लाइट सेभिङ टाइम ।’
आधा घण्टाको फरकमा जन्मिएका ती शिशुका परिवारलाई राम्ररी थाहा छ, कुन दाजु र कुन भाइ भन्ने । तर कानुनी रुपमा भने भाइलाई दाजु र दाजुलाई भाइ भन्नुपर्ने अवस्था आएको छ ।
कान्छो शिशुको जन्म हुँदा अमेरिकामा ‘डे लाइट सेभिङ टाइम’ लागू भएको थियो । अर्थात् त्यस दिन राति १ देखि २ बजेबीचको समय दोहोर्‍याइएको थियो । बिहानको तुलनामा बेलुका अबेरसम्म उज्यालो हुने भएका कारण विभिन्न मुलुकमा ‘डे लाइट सेभिङ टाइम’ लागू गरिन्छ ।
यो सिस्टमअनुसार वर्षको एक दिन एक घण्टाको समय दोहोर्‍याइन्छ । ती जुम्ल्याहाको जन्म भइरहँदा यो सिस्टम लागू भएको थियो । जेठो छोराको जन्म १ः३९ मा भएको थियो भने कान्छोको जन्म २ः१० मा भएको थियो । तर डे लाइट सेभिङ सिस्टमका कारण २ बजेपछि घडीलाई एक घण्टा ढिलो बनाइएको थियो । अर्थात् २ बजिसकेको अवस्थामा पुनः घडीको सुई १ बजेको समयमा ल्याइएको थियो । यस प्रकार २ः१० मा जन्मिएको शिशुलाई १ः१० मा जन्मिएको मान्नुपर्ने कानुनी अवस्था निम्तिएको हो ।
यस्तो सिस्टमको उद्देश्य दिनको उज्यालोको धेरै उपभोग गरियोस् भन्ने नै हो । बिहान ढिलो उज्यालो हुने र बेलुका अबेरसम्म उज्यालो हुने अवस्थामा यस्तो सिस्टम लागू गरेर घडीको सुइलाई एक घण्टा ढिलो बनाइन्छ, अर्थात् उज्यालो अनुसार समय निर्धारण गरिन्छ ।
यस्तो सिस्टमको सोच न्यूजिल्याण्डका खगोलशास्त्री जर्ज भेनरेम हड्सनले बनाएका थिए । सन् १८९५ मा उनले यो सिस्टमका लागि अभियान नै चलाएका थिए । सन् १९१६ मा जर्मनी, अस्ट्रिया, हंगेरीले यो सिस्टम लागू गरे । हाल ७८ मुलुकमा यस्तो सिस्टम लागू हुने गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]