आजको आवश्यकता : बृहत् राष्ट्रिय एकता

२०७८ फाल्गुन १५ गते, आईतवार

विष्णु पन्त

१. कम्युनिष्ट विरोधी अमेरिकी मूल प्रवृत्ति – अमेरिका कम्युनिष्टप्रति असहिष्णु छ भन्ने तथ्य आजको धु्रव सत्य हो । यो तथ्यलाई बुझ्दाबुझ्दै पनि नेपालका संसदवादी कम्युनिष्टहरु उसको दलाली गर्न तछाडमछाड र प्रतिस्पर्धाले स्पष्ट गरेको छ । कम्युनिष्ट मात्रै होइन भूपूकम्युनिष्टप्रति समेत ऊ कठोर र फासीवादी छ । अमेरिका आज रुससँग किन लड्दैछ ? के त्यो विचारधारात्मक प्रश्न हो त ? अमेरिकालाई रुसलाई पूर्वसमाजवादी देश भएको नाताले सिध्याउन चाहन्छ । कम्युनिष्ट शासनको अन्त्य पछि सोभियत संघ किन रहेन ? किनकि सोभियत संघको विनाश अमेरिकी बुद्धि हो । हामीले नेपालको बारेमा बहस गर्नुपर्ने छ । हामीलाई थाहा छ, अमेरिका चीनविरुद्धको सम्भावित युद्धमा छ । चीनको विनाश अमेरिकाको मूल उद्देश्य हो । चीनविरुद्ध अमेरिकाले भारतलाई समाहित गरिसकेको छ । अब चीनविरुद्ध नेपालको भूमि उसले कब्जा गर्नैपर्ने छ । अहिले एमसीसीको नाममा ऊ पसीसकेको छ । यसलाई नेपालको संसद्बाट अनुमोदन गराएर वैधानिक हस्तक्षेप गर्ने उसको मनसाय प्रष्ट छ ।

हामीलाई कुनै भ्रम छैन कि नेपालमा ऊ कम्युनिष्टहरुलाई समाप्त गर्न चाहन्छ । हामीले देख्यौं कम्युनिष्टका विरुद्ध कम्युनिष्ट लडाएर सजिलो विधि प्रयोग गर्दैछ । दलाल बनाई–बनाई बिरालाले मुसा खेलाए जस्तै कम्युनिष्टलाई सिध्याउँदैछ । केपी ओली दलाल बनी–बनी सत्ताच्यूत भए र गराइए तर त्यसमा माधव नेपाल र पुष्पकमल दाहाल प्रयोग भए । अहिले चर्चा माधव नेपाल र पुष्पकमल दाहालको चल्दैछ । यदि एमसीसी सम्झौतामा समर्थन नगरे उनीहरुलाई सहजै सत्ताबाट गलहत्याइने छ र सरकारमा ओली अर्थात् एमालेलाई लगिने छ । उसको मिसन स्पष्ट छ, कम्युनिष्टहरुलाई सिध्याउने । एमसीसी सम्झौता सदनबाट पारित भयो भने कम्युनिष्ट पार्टीहरुले चुनाव जित्ने वा सरकार चलाउने सपना नदेखे हुन्छ । पूर्वकम्युनिष्टहरुले पनि धेरै ¥याल नकाड्दा हुन्छ । हामी स्पष्ट हुनुपर्छ कि चीनविरुद्ध अमेरिकाले युद्ध शुरु गरिसकेको छ । चीनविरुद्धको युद्ध भनेकै कम्युनिष्टविरुद्ध युद्ध पनि हो । नेपालमा पनि कम्युनिष्ट सिध्याउने गेम प्लान भइसकेको छ र त्यो करिब–करिब पूरा भइसकेको छ । दुई तिहाई ल्याएका कम्युनिष्टहरु आफ्नै बृद्धि र चेतनाका कारण सडकमा छन् । भ्रमवश कोही सरकारमा भए पनि क्षणभरमा ती फ्याँकिने छन् । हाम्रो आग्रह र चाहना थियो, प्रचण्ड र माधव नेपाल आफ्नै खुट्टामा उभिउन् । उनीहरु त चुनावसम्मै कांग्रेससँग गठबन्धन गर्ने सपना बुन्दै छन् । यो पश्चगामी र दलालीकरणको चेतका कारण कम्युनिष्ट र माओवादी आन्दोलन धराशयी बन्यो । शान्ति सम्झौतापछि युद्ध समाप्त भयो वा मुख्य दुश्मन समाप्त भयो भन्ने प्रचण्डको मनोवैज्ञानिक संश्लेषणको परिणाम आज देखिँदै छ ।

दलाल बनाई बनाई हेगमा लगेर प्रचण्डको अन्त्यष्टि गर्ने अमेरिकी षड्यन्त्रलाई बुझ्न नसक्नु कमजोरी बन्यो । आत्मसमर्पण गर्दैमा अमेरिकाले कम्युनिष्टहरुलाई मित्रशक्ति ठान्दैन । अमेरिका युद्ध मनोविज्ञानबाट ग्रसित छ र मौका पर्नासाथ सफाया गर्नु यसको रणनीति हुन्छ । आजसम्मको इतिहासमा कम्युनिष्टप्रति सद्भाव, दयामाया राखेको देखिएको छैन । मेरो विचारमा मिखाइल गोर्भाचोभ यदि सानो देशका भएको भए फासी दिइन्थ्यो । नेपालका नेताहरुमा वस्तुमा आएको परिवर्तनको बारेमा चेत आओस् । केपी ओलीलाई फेरि सरकारमा जाने अनि पुष्पकमल दाहाल र माधव नेपाललाई बेहाल भएको देख्ने अनि हिजोको पैँचो तिर्ने इच्छा छ भने त्यो अर्को धङधङी मात्र हो ।

२. दमन, हस्तक्षेप र दलालीकरण मुख्य हतियार – नेपालका कम्युनिष्टहरुलाई सिध्याउने दुईवटा हतियार छन्, पहिलो हो दलाल बनाउने, प्रलोभन दिने, भ्रष्टीकरण गराउने अनि दोस्रो हो ः दलाल नबन्ने विद्रोही शक्तिलाई दमन गर्ने । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध एउटा पछिल्लो उदाहरण हो । विनाकारण प्रतिबन्धन लगाई दमनको योजना बनाइएको थियो । त्यति मात्र होइन उच्च तहका नेताहरुको गिरफ्तारी र हत्या योजना बनाइएकै थियो । जो आत्मसमर्पण गर्दैनन् वा दलाल बन्न तयार हुन्नन्, तिनीहरुलाई दमनबाट सिध्याउने उसको षड्यन्त्र हुन्छ । नेपालमा सजिलो पनि छ ः कम्युनिष्टका विरुद्ध कम्युनिष्ट लडाउने । बूढानीलकण्ठमा सुतेर बसेका शेरबहादुर देउवालाई बोकेर प्रधानमन्त्री बनाउने माधव नेपाल र पुष्पकमल दाहाललाई सरकारबाट मिल्काई दिन्छु भन्ने धम्की प्रधानमन्त्रीबाट आइसक्यो । त्यति मात्र होइन ओली र देउवाबीच भेटवार्ता भइसक्यो । यसको अर्थ के हो ? यसको सिधा अर्थ हो ः एमसीसी पास गर्ने कि सडकमा जाने ? मित्र र दुश्मन छुट्याउन नसकेपछि हुने यस्तै नै हो । पक्षधरताको चेतना पतन भएपछि हुने परिणाम यही नै हो । अब एमाले र ओलीको पालो आउन सक्छ । बिरालो र मुसाको कथामा अब अर्को मुसा बन्न केपी ओली र एमाले तयार होलान् कि नहोलान् ? उनीहरुको आजसम्मको प्रवृत्तिका हिसाबले फेरि पनि उनीहरु हस्याङ्ग–फस्याङ्ग गर्दै सरकारमा जानेछन् ।

३. फुटाऊ र शासन गर – अमेरिकाका लागि नेपालको भूमि ठूलो रणनीतिक महत्वको क्षेत्र बनेको छ । चीनका विरुद्ध नेपालको भूमि ऊ कुनै पनि हालतमा लिने रणनीतिमा छ । नेपालका संसदवादी नेताहरुको दलाल मनोविज्ञानलाई उसले राम्ररी बुझेको छ । शुरुमा गोप्य र शान्त वा शालीन ढंगले प्रस्तुत भयो । जब जनमत एमसीसी सम्झौताविरुद्ध भड्कियो तब ऊ विस्तारै धम्कीको भाषा बोल्दैछ । शुरुमा शेरबहादुर देउवा र पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक गरेर धम्की दियो । त्यसपछि नेताहरुलाई फोनमार्फत् धम्की दियो । यी घटनाहरुले एमसीसीको उद्देश्य आमजनतामा छताछुल्ल बन्यो । यो कुनै अनुदान वा सहयोग होइन हस्तक्षेप हो भन्ने पुष्टि भयो । आज आमजनतामा विभाजन आएको छ । सबै दल, समूह, क्षेत्र र समाजका विभाजन र पक्ष विपक्ष भएको छ । प्रश्न उठ्छ, राजनीतिक दल र नेताहरु देशका लागि सोच्छन् कि विदेशीहरुका लागि ? देशभित्र द्वन्द्व चर्काएर विदेशीहरुको गुमाल बन्ने छुट हुँदैन ।

४. राष्ट्रवादी शक्तिमाथि आक्रमण – राष्ट्रवाद साम्राज्यवादको निशानामा पर्छ भन्ने तथ्य अर्को सत्य हो । नेपालमा मदन भण्डारीको हत्या, राजा विरेन्द्रको वंशनाशलाई विदेशी षड्यन्त्रका रुपमा बुझ्नु पर्दछ । राष्ट्रिय स्वाधिनताका नारा लोकप्रिय र सशक्त बन्नासाथ हस्तक्षेपहरु कमजोर हुन्छन् । हाम्रोमा वैदेशिक सहयोगको स्वीकार्यताका लागि एउटा राष्ट्रिय सहमति वा प्रतिबद्धता पत्र बनाउनेतर्फ पनि कुनै संसद्वादी दलहरुले सोच्न सकेनन् । निःशर्त सहयोग वा अनुदानलाई मात्र स्वागत गर्ने हाम्रो राष्ट्रिय बन्न सकेको भए आज एमसीसीको विवाद आउने थिएन । विचार आएमा कुनै विवाद भएन तर एमसीसी राष्ट्रिय युद्धको विषय बन्यो । एमसीसी अनुमोदन भएमा नेपालमा फेरि युद्ध हुने खतरा बढेको छ ।

५. एमसीसीमा चीन र अमेरिकाबीचको शीतयुद्ध– चीनले दबाबमूलक अमेरिकी कुटनीतिका विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयको प्रवक्ता वाङ वन पिनले पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफ दिँदै भनेको छन्, “हामीले यससम्बन्धी प्रकाशित समाचार विवरणहरुलाई नोट गरेको छौं । नेपालमा आर्थिक विकास तथा नेपाली जनताको जीविकोपार्जन सुधारमा अन्तर्राष्ट्रिय समुदायबाट भएका विकास सहयोगप्रति चीन खुसी छ । तर, यस्ता सहयोग नेपाली जनताको इच्छाको पूर्ण सम्मानमा आधारित हुनुपर्छ । यसमा कुनै पनि राजनीतिक तार नजोडिएको हुुनुपर्छ । नेपालको सार्वभौमसत्ता र हितको मूल्यमा अघि सारिएका स्वार्थी एजेण्डाको जबर्जस्ती कुटनीति र कार्यको विरोध गर्दछौं । नेपालको मैत्रीपूर्ण निकट छिमेकी र विकास साझेदारका रुपमा चीन सधैँझैँ नेपाली जनतालाई स्वतन्त्र रुपमा आफ्नो विकासको बाटो रोज्न सहयोग गर्नेछ, राष्ट्रिय हित र जनताको रुचीलाई ध्यानमा सही छनोट गर्न नेपाललाई सहयोग गर्नेछ । हाम्रो क्षमताअनुसार देशको सामाजिक–आर्थिक विकासका लागि चीनले निरन्तर सहायता र समर्थन गर्नेछ । उता अमेरिकी राजदूत ¥याण्डी बेरीले भनेका छन्, “एमसीसीलगायतका विषयमा तथ्यमा आधारित सार्वजनिक बहस तथा स्वतन्त्र अभिव्यक्तिको हामी बलियो समर्थक हौं । आफ्ना विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तरनिहित पक्ष हो र जनतालाई शान्तिपूर्ण रुपमा विचार अभियान्ता गर्न दिनैपर्छ । तर, हिंसा तथा हिंसाका लागि उक्साहट कहिल्यै स्वीकार्य छैन ।”

त्यसकारण अमेरिका र चीनबीचको शितयुद्धमा नेपाल कुनै पनि पक्ष वा विपक्षमा लाग्नु हुँदैन । चीनको भूमिका मित्रवत् र सम्मानजनक छ भने अमेरिकाको भूमिका हस्तक्षेपकारी छ । हाम्रो सफल कुटनीति हामी असंलग्न परराष्ट्र नीतिमा दृढ रहनु पर्छ । सहयोग वा अनुदानमा पनि हामी स्पष्ट हुनुपर्छ । आजका विश्वमा सहयोग, अनुदान वा लगानीको माध्यमबाट हस्तक्षेप हुने गर्छ । सहयोगहरु निःशर्त हुनुपर्छ भन्ने राष्ट्रिय नीति बनाउन सकेको भए हामी यो विवादमा फस्नै पर्नै थिएन । एमसीसीमा शर्तैशर्तहरु मात्र छन् र ती शर्तहरु हस्तक्षेपकारी छन् । हामी चीनविरोधी परियोजना भित्र्याउने मुर्खता गर्नु हुँदैन । शर्तहरु र हस्तक्षेपको उद्देश्यकै कारण एमसीसी सर्वत्र विवादित र अलोकप्रिय बनेकै छ । दक्षिण एशीयाली देशहरुबाटै एमसीसीलाई अस्वीकार गर्न शुरु गरिसकेका छन् । यति तथ्यहरुलाई त संसदवादी नेताहरु बुझ्दै होलान् ।

६. बृहत राष्ट्रिय एकता आजको मूल आवश्यकता – देश नरहे हामी रहँदैनौं । देशको अस्तित्वलाई जोगाउने दायित्व पनि हाम्रो पुस्ताको हो । हामीले गर्ने गल्ती, अपराध र आत्मसमर्पणले देशको भविष्यलाई धरापमा पार्न सक्छ । आजको आवश्यकता हो, सबै मिलेर एमसीसीलाई अस्वीकार गर्नु । सत्तामा र संसदमा रहने दलहरुले सबैभन्दा बढी सोच्नु पर्छ । युद्ध कसैको पनि प्रिय होइन तर, जानाजान हामीलाई युद्धतर्फ धकेल्न खोजिँदै छ । सम्भावित चीन र अमेरिकाबीचको युद्धको शिकार हामी बन्नु हुँदैन । सरकारमा पुग्नका लागि वा टिक्नका लागि देशलाई धमिल बनाउने दुस्साहस गर्नु हुँदैन । त्यसकारण आजको आवश्यकता हो, सबै मिलेर एमसीसी खारेज वा अस्वीकार गर्ने । सबै मिलेर अमेरिकालाई भन्नु पर्छ, सहयोग हो भने शर्तहरु हटाउ र निःशर्त सहयोग गर । हामी चीन, अमेरिका वा कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन चाहँदैनौं । हामी अमरिकाविरुद्ध पनि प्रयोग हुँदैनौं । हामी स्वतन्त्र र असंलग्न राष्ट्र बन्न चाहन्छौं । कुनै पनि दल, संसद वा सरकारले हामीलाई युद्धमा धकेल्ने षड्यन्त्र रच्छ भने त्यसको प्रतिरोध गर्नुपर्छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिवले भनेको प्रस्ताव ः बृहत कम्युनिष्ट एकता हुँदै बृहत राष्ट्रिय एकता आजको मुख्य आवश्यकता बनेको छ ।

७. फेरि सत्ता समीकरणको प्रश्न – पछिल्लो राजनीतिक विकासक्रम अनौठो छ । जसले बोकी बोकी अनि खोजी खोजी प्रधानमन्त्री बनाए उनै सहयात्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट गलहत्याउँदै छन् । राजनीति कति निर्मम, असहिष्णु र असभ्य छ भन्ने प्रष्ट छ । एमाले र ओली निर्णायक बन्दै छन् । फेरि पनि बाम सरकार बनाउने वा कांग्रेसलाई समर्थन गर्ने भन्ने द्विविधामा एमाले छ । यदि ओलीले पुरानै कुण्ठा बोके भने अनि एमसीसीको कठ्पुतली बने भने उनले देउवा सरकारलाई समर्थन गर्नेछन् । बाम सरकार नै बने पनि एमसीसीको विषयमा उसको निर्णय महत्वपूर्ण हुनेछ ।

८. एमसीसी विरोधी बृहत् मोर्चा बने सत्ता उलटपुलट हुन्छ – तस्बिर यस्तो बनेको छ कि एमसीसी विरोधी बृहत् राष्ट्रवादी मोर्चा बन्न सकेमा यो व्यवस्था ढल्ने छ । संसदवादले राष्ट्रियताको रक्षा गर्न सक्दैन भन्ने प्रष्ट भएको छ । संसदवादी दलहरु अमेरिकी उपनिवेशको शिकार बनेका छन् । अमेरिकी धम्कीले परिस्थितिको जटिलता र संवेदनशीलतालाई स्पष्ट गर्दछ । एमसीसीको विषयमा सत्ता वा सरकार छोड्न तयार भएमा माओवादी केन्द्र र एमसीसी विरोधी बृहत् मोर्चा बन्न सके एमसीसी समर्थक दलहरु गाउँ गाउँबाट खेदिने छन् । जनताले छानी–छानी पक्षमा भोट हाल्ने सांसदलाई देशबाटै निकाल्ने छन् । अनि सत्ता नै नयाँ बन्ने सम्भावना छ ।

प्रतिक्रियाहरु

[anycomment]