‘संसदिय प्रणाली जनताको व्यवस्था नभएकाले चुनाव खारेजको कार्यनीति लियाैँ ‘

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले संसदिय प्रणाली जनताको व्यवस्था कहिल्यै नभएको र हुन पनि नसक्ने भएकोले आफुहरुले चुनाव खारेजको कार्यनीति लिएको बताएका छन् । आज तीन कम्युनिस्ट क्रान्तिकारी पार्टीद्वारा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने -“नेपालको कम्युनिस्ट आन्दोलनमा साझा कार्यक्रम र सहकार्यको हिसाबले संयुक्त रणनीतिक मोर्चा नयाँ प्रयोग हो । हामीले यसलाई प्रयोग गर्दैछौँ।”
यस्तै आसन्न संसदिय निर्वाचन किन खारेज गरियो भन्ने कुरातर्फ संकेत गर्दै प्रवक्ता प्रकाण्डले भने, “चुनावबाट आउने नयाँ व्यक्तिहरु अझ बढी साम्राज्यवादका एजेण्ट भएर आउनेछन् र जनताको अवस्था नाजुक छ, दयनीय छ, देशमा आर्थिक राजनीतिक संकट यथावत छ यसलाई हल गर्ने भन्दा पनि यो संकटबाट फाइदा उठाउन दलालहरु चुनावको नाटक गर्दैछन् यसको कुनै औचित्य छैन । त्यसैले हामीले चुनाव खारेजीको नीति लिएका हौँ।”
प्रवक्ता प्रकाण्डले, दलाल संसदीय ब्यबस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने उल्लेख गर्दै अहिलेको चुनाब जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएका कारण जनताको प्रतिनिधिभन्दा दलालहरु चुनिएर आउने भएको करण जनहितको कामभन्दा दलालहरुले आफ्नो स्वार्थ पूरा गर्ने ध्याउन्नमा लागेको कारण दलाल संसदीय ब्यबस्थाको चुनाबलाई खारेज गर्ने बताए । उनले, संसदीय ब्यबस्था र चुनाबले श्रमजीविको अधिकार स्थापित गरेको इतिहास नभएको बताए । ‘संसदीय ब्यबस्था र चुनाबले श्रमजीविको अधिकार स्थापित गरेको इतिहासमा छैन, त्यस कारण यो चुनाबलाई नाङ्गो बनाएर खारेज र बहिस्कार गर्छौं ।’
उक्त पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले कुनै पनि हालतमा जनवादबिरुद्धको संसदीय चुनावलाई बैधानिकता नदिने बताए । उनले, अहिले संसदीय ब्यबस्था नै कम्युनिस्टहरूको ब्यबस्था जस्तो भएर आएको बताए । चुनावले कुनै पनि मुल्यमा जनताको अधिकार र राष्ट्रियता रक्षा गर्न नसक्ने भएको कारण चुनाब खारेज गर्नुपर्ने बताए ।
यसैगरी, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव बिश्वभक्त दुलाल ‘आहुती’ले ४ मंसीरको निर्वाचन नाटक मात्र भएको बताए । पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै चुनाबी नाटकलाई खारेज गरेरै छोड्ने बताए । राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गर्ने गरेको बताए ।
उक्त पत्रकार सम्मेलनमार्फत ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले चुनाब खारेजीको कर्यक्रमसमेत सार्बजानिक गरेका छन् ।
