नेकपा राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्नेमा विश्वस्त

२०७९ मंसिर २७ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले नेपाल सरकारले पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरुमाथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता कार्यकर्ताहरूको रिहाइका लागि मसिर २५ गतेको मन्त्रीपरिषद्को बैठकबाट अध्यादेशवारे निर्णय गरि प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको स्वागतयोग्य भएको बताएको छ । पार्टीका महासचिव विप्लवले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
महासचिव विप्लवले तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन्‌ गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त रहेको बताउदै कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई सहमतिलाई लागू गर्न वातावरण निर्माण गर्न सम्माननीय राष्ट्रपतिलाई पार्टी विशेष आग्रहसमेत गरेका छन ।
यसैगरी, महासचिव विप्लवले सरकारले अध्यादेश पेश गरे पश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरुका साथै नेकपा (एमाले) का कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको उल्लेख गर्दै कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथासिघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत वाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय भएको बताएका छन । उनले सहमति भएको दुई वर्ष बित्न थाल्दा पनि लागु नहुनुमा कतै यस्तै गलत सोच र बुझाईले काम गरेको त छैन भन्ने आशका पैदा गरेको उल्लेख गर्दै सबै पार्टी, नेता, कानुनविद र मानवअधिकारवादीहरु लगायत सवैलाई यसतर्फ सचेत बन्न साथै सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक ग्रहण गरेर सहयोग पुर्याउन विशेष आग्रह समेत गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]