सञ्चार नागरिकको आधारभुत आबश्यकता (भिडियोसहित)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सञ्चार नागरिकको आधारभुत आबश्यकता भएको बताएका छन। जनप्रचार तथा प्रकाशन प्रा लिद्वारा बुधबार आयोजित ‘राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक’ अन्तरक्रिया तथा जनापत्रिका मासिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन्।

उक्त कार्यक्रमलाई सोबोधन गर्दै महासचिव विप्लव सी ले नेपालमा राजतन्त्र विरुद्ध गणतन्त्रको आन्दोलन चलिरहेको बेला नेपाल पत्रकार महासंघले राजनीतिक दलहरू भन्दा अगाडि रहेर गणतन्त्रको निर्णय संस्थागत ढङ्गले गर्नु साहसिक निर्णय भएको बताए । उनले सूचना सञ्चार र पत्रकारिताको सुरुवात नै प्रारम्भमा जनताको सेवाका लागि भएको तर समाज वर्गमा बिभाजित भएपछि नै पत्रकारिता पनि बिभाजित हुन पुगेको हो उल्लेख गर्दै आज आएर सञ्चार नागरिकको आधारभुत आबश्यकतामा परिणत भएको बताए।
महासचिव विप्लव सी ले पञ्चायतकाल देखि नै नेपालको पत्रकारिता वा सञ्चार माध्यमहरु कुनै न कुनै रूपमा लडिरहेको उल्लेख गर्दै जनयुद्धको समयमा पनि नेपालको पत्रकारिताले बिना पुर्वाग्रह सत्यतथ्य बाहिर ल्याउने काम गरेको बताए ।
उक्त अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष गोविन्द आचार्य र बिष्णु निष्ठुरी , नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मन्तब्य राखेका थिए ।
जनप्रचार तथा प्रकाशन प्रा लिका निर्देशक अनिल शर्माको अध्यक्षता र प्रबन्धक धनराज सीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन जनापत्रिका मासिकका प्रधान सम्पादक प्रकाश डुम्रेले गरेका थिए।