अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनतामाथी खतरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनता माथी खतरा भएको ठोकुवा गरेका छन । सो पार्टीको नवौं केन्द्रिय समितिको चौथो पूर्ण बैठकमा केन्द्रिय सदस्यहरुको सुझाव र जिज्ञासामाथि प्रस्ट पार्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन।
महासचिव विप्लव सी ले नेपाल अहिले निकै ठुलो आर्थिक, राजनीति संकटबाट गुज्रीरहेको र अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनता माथी खतरा मडारिएकोले यस्तो अवस्थाबाट देशलाई मुक्त गर्दै जनताको अपेक्षा पुरा गर्न समाजवादी मोर्चा आवश्यक परेको बताए ।
महासचिव विप्लव सीले भने – “नेपाल अहिले निकै ठुलो आर्थिक, राजनीति संकटबाट गुज्रीरहेको छ,अमेरिकी साम्राज्यवादद्वारा नेपालको स्वाधीनता माथी खतरा मडारिएको छ, अमेरिका एमसीसी मार्फत नेपालमा आइसकेको छ, उसको मुख्य उदेश्य चीनलाई घेराबन्दी गर्ने भएपनि नेपालको भुमि प्रयोग गर्ने कुरा हाम्रा लागि त्यो निकै पीडादायी र खतरापूर्ण हुनेछ। देशमा विगत २००७ साल देखिका जनताका सपना, आन्दोलनका अपेक्षा र कम्युनिस्ट पार्टीका आर्थिक- सामाजिक रुपान्तरण सम्बन्धि कार्यक्रमहरु कार्यान्वयन हुन सकेनन् , विद्यमान दलाल पुँजीवादी व्यवस्था अन्तर्गत त्यो संभव पनि छैन।त्यसका लागि नेपालका कम्युनिस्ट , समाजवादी र माओवादीको सहकार्य र एकताद्वारा नेपाली समाजको रुपान्तरण संभव हुनेछ।”
महासचिव विप्लव सी ले कम्युनिस्ट पार्टी आफैमा क्रान्तिको साधन भएकोले यसले आफै भित्र हुर्केर आएका खराबीसङ्ग संघर्ष गर्दै निरन्तर अनुसन्धान ,प्रयोग र संश्लेशण गर्दै संघर्ष गर्नुपर्ने भन्दै नेपालको अर्थतन्त्रको स्थिति र चरित्र परनिर्भर,आयातित र बिदेशी दलालहरुको नियन्त्रणमा गएको र देशको अर्थतन्त्रको ६०प्रतिशत हिस्सा अहिले पनि भारतीय एकाधिकार पुँजीपतिको नियन्त्रण रहेकोले देशलाई यो परिस्थितिबाट समेत मुक्त गर्न जरुरी रहेको बताए ।
नेकपाले पछिल्लो समयमा समाजबादी मोर्चाको कार्यनीति लिएपछिको स्थिति र पार्टीभित्र कार्यनीतिहरुको प्रयोग, बिकास र अभ्यासबारे उत्पन्न जिज्ञासाबारे थप प्रस्ट पार्दै महासचिव विप्लवले कार्यनीतिबारे माओको भनाइलाई उदृध गर्दै भने-“क्रान्तिकारी आन्दोलनका लागि कार्यनीति भनेको रणनीतिको आत्मा हो, यो दैनिक जीवनसङ्ग जोडिएको हुन्छ, कार्यकर्ताहरुबिच अलि बढी बहस हुने बिषय पनि कार्यनीति नै हो।”नेपालका संसदवादीहरु र यथास्थितिवादीहरुले नयाँ नयाँ शब्दहरू ल्याएर समाज र व्यवस्थालाई यथास्थितिमा राख्ने, जनतालाई गोलचक्करमा फसाई राख्ने कार्यनीति लिएका छन भने नेपाल कम्युनिस्ट पार्टीले यथास्थिति, दलाल पुँजीवाद र संसदवादलाई चिरेर नयाँ र अग्रगामी परिवर्तनको दिशामा देशलाई बदल्ने कार्यनीति लिएको छ भन्दै महासचिव विप्लव सी ले समाजवादी मोर्चा पनि देशको आवश्यकता अनुसार बनेको बताए ।