‘नेकपाका नेताविरुद्धको पक्राउ पूर्जी न्यायलयको ढोकाबाट आएको अमेरिकी आक्रमण हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेकपाका नेताविरुद्धको पक्राउ पूर्जी न्यायलयको ढोकाबाट आएको अमेरिकी आक्रमण भएको बताएका छन। सो पार्टीको कपिलबस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा आइतबार सुरु भएको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले भने- एमसीसी र क्रिश्चियन धर्म– राजनीति विरुद्ध हाम्रो पार्टीले चलाएको संघर्षबाट त्रसित अमेरिकाले अदालतमा रहेका आफ्ना दलाल प्रयोग गरेर हमला गरेको छ । सामाजिक स्थिरता,धार्मिक सहिष्णुतामा खलबल पारेको भन्ने आरोप आफैमा अमेरिकी चासोका विषयहरु हुन । यो आरोप समाजवादी मोर्चाका विरुद्धको आक्रमण पनि हो । प्रतिबन्ध,बार्तामा दलाल,मुद्धा,हत्या हुदै अदालतको पक्राउ पूर्जी हाम्रा विरुद्धको पछिल्लो आक्रमण हो ।
वार्ता छलफल कुटनीतिक भेटघाटले होईन,आफ्नो शक्ति सुदृढ गरेर मात्रै प्रतिरोध गर्न सम्भव छ । यसरी मात्र परिस्थितिलाई नियन्त्रण गर्न सकिन्छ । ओली सरकारसंग भएको ३ बुँदे कार्यान्वयन गर्न तयार भएनन् भने प्रतिरोध गर्नुपर्छ । दलाल पुँजीवादले हामीलाई आत्मसमर्पण वा भूमिगत जान बाध्य पारेर क्रान्तिकारी र देशभक्त धार समाप्त गर्न चाहेको छ । तर हामी उसको सबै षड्यन्त्र विरुद्ध लड्न आवश्यक छ ।
एमसीसी र क्रिश्चियनीकरण विरुद्ध देशभक्त शक्तिलाई एकतामा ल्याएको कारण अमेरिका हाम्रा विरुद्ध आएको छ । पार्टीहरु भ्रष्टाचारमा डुबेका कारण बोल्न सक्दैनन् । पक्राउ पूर्जी अमेरिकी निर्देशनमा कानूनी मोर्चाबाट गरेको दलाल पुँजीपतिवर्गको आक्रमण हो । समाजवादी मोर्चा मार्फत हामीलाई संसदवादमा धकेल्न चाहेका थिए । त्यो षड्यन्त्र प्रत्युउत्पादक भएपछि दबाव दिन अदालतलाई प्रयोग गरेका छन ।