माओबादीले आन्दोलन चर्काउने

काठमाडौं। नेकपा माओवादीले ४० बुँदे माग राख्दै आन्दोलन गर्ने भएको छ । तत्कालीन नेकपा माओवादीले ०५२ सालमा जनविद्रोह थाल्नुअघि शेरबहादुर देउवा सरकारलाई बुझाएको ४० बुँदेको झल्को दिने गरी ‘४० बुँदे नीति कार्यक्रम’ अघि सार्दै माओवादीले सचिव देव गुरुङको नेतृत्वमा संयुक्त जनसमिति गठन गरेको छ ।पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष किरणले सुरुमा प्रचारात्मक आन्दोलन गर्ने बताए । ‘आन्दोलनको स्वरुप सरकारी कसरी प्रस्तुत हुन्छ भन्नेमा भर पर्छ’ किरणले भने-’सुरुमा प्रचारात्मक र शान्तिपूर्ण आन्दोलन गर्छौं । बाँकी कार्यक्रम संयुक्त जनसमितिले बनाउँछ ।’राष्ट्रिय स्वाधीनतासहित नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न संयुक्त मोर्चा निर्माण गरी आन्दालेन गर्न संयुक्त मोर्चा बनाउनु परेको माओवादीको ठहर छ । उसले संघीय जनगणतन्त्र, राष्ट्रिय स्वाधीनता, जनजीविकाका मुद्दामा सहमत हुने राजनीतिक दल, समूह र मोर्चाहरुलाई समेट्ने बताएको छ ।माओवादीले अघि सारेको ४० बुँदेमा सन् १९५० को नेपाल भारत सन्धीसहितका असमान सन्धी सम्झौता खारेज गर्नु पर्ने, राष्ट्रहित विपरीत गरिने लगानी रोक्नुपर्ने, सीमा अतिक्रमण रोकी अतिक्रमित भूमि नेपाललाई फिर्ता गर्नुपर्ने लगायतका छन् ।
यसैबीच नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संविधानसभाको औचित्य नभएको ले एकीकृत नेकपा माओवादी पनि संविधानसभामा बसिरहनुको कुनै औचित्य नरहेको बताएका छन् । बुद्धनगरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा किरणले सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्ष किरणले भने ’हामीले संविधानसभा बहिस्कार गरेको हुनाले त्यहाँ छैनौं, त्यहाँ जाने स्थिति पनि पैदा भएन, संविधानसभाको निर्वाचन गरेर संविधान बनाउने भनेर जुन पक्ष गएको छ ,त्यसको पनि कुनै मूल्य र औचित्य छैन ।’एमाओवादीलाई आफूहरुले संविधानसभामा बस्नु भनेको संसदवादीहरुसँग आत्मसमर्पण गर्नु मात्र हो भनिसकेको भन्दै किरणले भने-’किनभने दुई तिहाइ अर्कैको भइसकेको छ र सरकारमा गएका पार्टीहरु प्रक्रियातिर लाग्नुपर्छ के भनिरहेका छन् । यसको अर्थ के हो भने उनीहरु दुई तिहाइ पुर्याीएर संविधान बनाउँछन् र एमाओवादी संविधानसभामा रहेको अर्थ छैन ।’यसवाट दुबै माओवादीमाथि प्रहार हुने भन्दै उनले वेलैमा एमाओवादी गम्भीर हुनु पर्ने र परिर्वतनकारी शक्ति एक हुनु पर्ने बताए । एमाओवादी अध्यक्ष प्रचण्डसँग मिलेर संयुक्त प्रेस वक्तव्य जारी गरेका वैद्यले यसलाई मुद्दाका आधारमा कार्यगत एकता भएको बताए ।यसलाई पार्टी एकताको सुरुवात मान्दा हुन्छ ? भनने पत्रकारहरुको प्रश्नमा किरणले भने-’दुई पार्टीका बीचमा सहमति भएर हामीले संयुक्त वक्तव्य प्रकाशित गरेका छौं । यसलाई सकारात्मक रुपमै लिनुपर्छ । तर, यही नै पार्टी एकता हो भन्ने अर्थमा हामीले बुझ्ने कुरा आएन ।’पार्टी एकताका लागि कार्यदिशा मिल्नुपर्ने भन्दै उनले यसका लागि समय लाग्ने बताए । उनले भने-’हामीले जनवादी क्रान्तिको कार्यदिशा अवलम्बन गरेका छौं । उहाँहरुले समाजवादी क्रान्तिको कार्यदिशा ल्याउनु भएको छ । यो टाढाको विषय भयो । अर्को कार्यनीतिक प्रश्नमा के हो भने उहाँहरु संविधानसभामा गइरहनु भएको छ । हामी संविधानसभामार्फत जनताको संविधान बन्दैन भनेकाले हाम्रो बीचमा मेल छैन ।’यद्यपि पछिल्लो समय एमाओवादीले आफ्ना कमीकमजोरीलाई स्वीकार गरेको भन्दै माओवादी अध्यक्ष किरणले कार्यदिशामा सहमति भए पार्टी एकता हुन सक्ने बताए ।